पूर्ण कुम्भ मेला; मितिले १० वर्ष र तिथिले बाह्र वर्षपछि पुनः यही चैत्र २७ गते मंगलबारदेखि एक महिनासम्म लाग्दैछ ।

अव्यवस्थाले जहिल्यै गिजोलिने कुम्भ मेला यसपटक पनि सुव्यवस्थित हुन सकेको छैन । समिति गठन, आर्थिक अव्यवस्था, सौन्दर्यीकरण, बजार व्यवस्थापन, एउटै अखाडामा मात्र राज्यको लगानी, विविध धार्मिक सम्प्रदायको निमन्त्रणालगायतका विषय विवादरहित हुन सकेनन् ।

पूर्ण कुम्भ मेला भोलि लाग्दैछ । आजसम्म स्थानीय चतुषसम्प्रदाय एक हुन सकेनन् । समिति गठनमा समेत यी चार सम्प्रदाय एक ठाउँमा उभिन सकेका छैनन् ।

पूर्ण कुम्भ मेलाको व्यवस्थापनका लागि ठीक एक वर्ष अगावै ०७९ चैत्र २७ गते चतराधामस्थित जगदगुरु बालसन्तद्वारा संचालित राधाकृष्ण भक्ति साधना अध्यात्मिक प्रतिष्ठानको हाताभित्र स्थानीयको पहिलो बैठक बस्यो । बैठकमा जगदगुरुको उपस्थिति रहेन । नगरप्रमुख रमेश कार्कीको उपस्थितिमा भेला भएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको उपस्थितिमा समेत बैठक बस्यो । तर ठोस तयारीबारे कुनै निष्कर्ष निस्किएन ।

पहिलो बैठक बसेको १० महिनासम्म कुनै छलफल चलाइएन । कुम्भ मेला लाग्न २ महिना बाँकी रहँदा सङ्घीय सरकारले सम्पर्कविन्दु तोकेको सार्वजनिक भयो । त्यसपछि पनि ढिला गरी नै जगदगुरु बालसन्तको अध्यक्षता तोकियो । सचिवालय गठनसमेत गुपचुपमा गरियो । कुम्भ व्यवस्थापनका लागि मूल समिति गठनसमेत स्थानीय ठूला दलको भागवण्डामा पर्यो । अध्यक्ष, सहअध्यक्षसहित १५ जना उपाध्यक्ष, २ जना महासचिव, ६ जना सचिव, ७ जना सहसचिव भागवण्डामा राखियो । राप्रपा र रास्वपालगायतका दल पद भागवण्डा हुँदा सहभागी भएनन् ।

चतराधाम परिसरमा प्राचीन स्थल चतरा गद्दी मठ, छिन्नमस्ता भगवती, महाङ्काल भगवती मन्दिर, हनुमान मन्दिर, श्रीराम शान्ति कुन्ज, वराहस्तम्भ, भूवराह रामानुज, सिंहदेवी भगवती, लक्ष्मीनरसिंह मन्दिर, दुर्गा मन्दिर, लक्ष्मी बैङ्कटेश्वर मन्दिरलगायतका धार्मिक मठमन्दिर र समिति छन् । वराहक्षेत्र मन्दिर छ । सूर्यकुण्ड, औलिया गुठी छ । चारै सम्प्रदाय छन् । रामानन्दाचार्य सेवा पीठ छ । शङ्कराचार्य मठ छ । अद्वैत संस्था, गीता आश्रम, ब्रह्मकुमारी राजयोग केन्द्र छन् । समितिमा यी धार्मिक संस्थाका प्रतिनिधिलाई सहभागी गराउन आवश्यक ठानिएन । र आजसम्म कुम्भ मेला समितिले यी सम्प्रदायलाई औपचारिक रुपमा आफ्ना पण्डाल लगाउन अनुरोध गरेको छैन ।

अव्यवस्थित बजार व्यवस्थापन
समिति गठन भएर पनि लामो समय कुम्भ मेला मूल आयोजक समितिले स्थान उपलब्ध नगराउँदा बजार व्यवस्थापन समिति अनिर्णित बनेको थियो । मेला लाग्न दश दिन जति बाँकी रहँदा बजार व्यवस्थापन समितिले निवेदन माग गरेको थियो । मूल आयोजक समितिले सुरक्षा संयन्त्रलगायतसँग औपचारिक छलफल नै नगरी स्थान उपलब्ध गराउँदा समितिले गोलाप्रथाद्वारा व्यवसायीलाई उपलब्ध गराएको स्थान विवादित भयो । सम्भावित भीडभाड र सुरक्षा संवेदनशीलतालाई मध्येनजर गर्दै प्रहरी प्रशासनले व्यवसायीले निर्माण गरेका दर्जन बढी अस्थायी स्टल हटाइदियो ।

समितिले व्यवसायीलाई स्टल ढिलो गरी वितरण गरेपछि आजसम्म पनि उनीहरुले अस्थायी स्टल निर्माण गरिसकेका छैनन् । रातभर स्टल बनाउन व्यवसायी खटेका देखिन्थे । सूचना अवधिमा निवेदन नदिएकाहरुको समितिले 'वैकल्पिक' मा राखेर स्थान उपलब्ध गराउँदै आएको छ भने नयाँ सम्पर्कमा आएका व्यवसायीहरुले स्थान प्राप्त गर्न सकेका छैनन् ।

बाटोघाटो र सौन्दर्यीकरणमा उदासीनता
महाकुम्भ मेला व्यवस्थापनका लागि ५ ठाउँ पार्किङ, ३० लाख तीर्थयात्रीको  व्यवस्थापन गरिने बताइएको छ । तर स्थानीय बजार र बाटोघाटोको सौन्दर्यीकरणमा व्यवस्थापन समिति र तीनै तहका सरकार उदासीन देखिएका छन् ।

कुम्भ क्षेत्र चतराधामको सौन्दर्यीकरणका लागि मेला समितिले स्थानीयलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको छ । तर नगर प्रमुखले बोलेअनुसार काम भएको छैन ।
नगरप्रमुख कार्कीले आफ्नो घर वरपर, आँगन, सडक अनिवार्य सरसफाइ गर्न नगरवासीमा आह्वान गरेका छन् । उनले स्थानीयलाई चतराधाम सौन्दर्यीकरण गर्न आग्रह गरेका छन् ।

नगर प्रमुख कार्कीले कुम्भको सौन्दर्यीकरणका लागि 'एक घर एक गमला' अभियान सुरु गरेको बताउँदै आएका छन् । उनले स्थानीयलाई आफ्नो घरलाई 'होमस्टे' का रुपमा विकास गर्न समेत आह्वान गरेका छन् । स्थानीय सरकारले जगदगुरु आश्रम, राधाकृष्ण भक्तिसाधना अध्यात्मिक प्रतिष्ठान, श्रीराम शान्ति कुन्ज, रामानन्दाचार्य सेवा पीठसम्म पुग्ने बाटो भत्किएको अवस्थामा छ । कुम्भ मेला लक्षित सौन्दर्यीकरण गर्ने योजना समिति र सरकारको देखिएको छैन ।

भीडभाड नियन्त्रण गर्ने योजना शून्य
कुम्भ मेलामा ३० लाख पर्यटक भित्र्याउने मूल आयोजक समितिको लक्ष्य छ । समितिका सहअध्यक्षसमेत रहेका बराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले त पत्रकार सम्मेलनमै एक करोड भक्तजन आउने अभिव्यक्ति दिए । तर ती भक्तजनको भीडभाड नियन्त्रण गर्ने योजना भने समितिसँगै छैन । न उनीहरुलाई बास बसाउने योजना नै छ ।

रामानन्दाचार्य सेवा पीठका सेवक महेन्द्र गुरुङले आश्रममा आउने भक्तजनको सुविधाका लागि इटहरी, धरानलगायतका होटलमा कोठाको व्यवस्थापनका लागि सम्पर्क गरेको बताए ।

कुम्भ मेलाकै अवसरमा आउने भनिएका बागेश्वर धाम सरकारको ५ दिने हनुमद कथा वाचनमा उल्लेखीय भक्तजन आउने अनुमान गरिएको छ । १० लाख भक्तजन आउने अनुमान गरिएकामा त्यत्तिका सङ्ख्यामा भक्तजन आउँदा बाटोघाटोमा व्यवस्थापन गरिएका स्टलहरुले बाधा उत्पन्न गर्ने आयोजकको भनाइ छ । आयोजकले बजार व्यवस्थापन उचित ढंगले नभएको गुनासो गर्दै आएका छन् ।

'फेस रिडर' ले सङ्ख्या गणना गर्ने योजना अनिर्णित
धार्मिक मेलामा आउने भक्तजनको यकिन तथ्यांक राख्न नसकिएका बेला कुम्भ मेलामा डिजिटल गणकले भक्तजनको गणना गर्ने तयारी गरिएको भनिए पनि आजसम्म उक्त योजना अघि बढेको छैन ।

कुम्भमेलामा आउने भक्तजनको सङ्ख्या यकिन गर्न 'फेस रिडर' सिसी टिभी क्यामेरा राख्ने निर्णय भएको नगरप्रमुख कार्कीले जानकारी दिएका थिए ।
उनले सरकारसँग मोबाइलमा कुम्भको रिङटोन बज्ने व्यवस्थाका लागिसमेत छलफल चलेको बताए । तर भोलिदेखि सुरु हुने कुम्भ मेलाको प्रचार उल्लेखीय रुपमा हुन सकिएको छैन । सो अवसरमा भक्तजनलाई स्थानीय धार्मिक तीर्थका बारेमा जानकारी दिन र प्रचारप्रसार गर्न मिडिया सेन्टरसमेत स्थापना गर्ने तयारी भए पनि आधिकारिक रुपमा व्यवस्थापन हुन सकेको छैन ।

१९५ अस्थायी शौचालय बनाउने तयारी, धारा जडान पनि बिस्तारै
कुम्भमेलाको सरसफाइ र व्यवस्थापनका लागि समितिले सार्वजनिक शौचालय र खानेपानीको व्यवस्थापन गरिरहेको छ ।
कुम्भ परिसरमा १९५ अस्थायी शौचालय निर्माण गर्ने आयोजक समितिको तयारी छ । यस्तै २ वटा मोबाइल भ्यान शौचालय कुम्भ क्षेत्रमा परिचालित हुने भनिएको छैन । तर आजसम्म पूर्ण तयारी छैन ।

नि:शुल्क स्वयमसेवकको आह्वान अर्थहीन
स्वयमसेवक व्यवस्थापन गर्नका लागि मूल समितिले दिनेश खम्बूको नेतृत्वमा ७ सदस्यीय परिचालन समिति निर्माण गरेको थियो । यसअघिको अर्धकुम्भ मेलामा प्रतिव्यक्ति प्रतिदिन ३ सय रुपैयाँ दिने निर्णय गरेको थियो । तर उक्त रकम तत्कालीन समितिले भुक्तानी गरेन । यस पटक पनि स्वयमसेवक परिचालन गरिएको थियो । समितिले ३५० रुपैयाँ प्रतिव्यक्ति रकम दिनुपर्ने प्रस्ताव गर्‍यो । तर मूल समितिले रकम दिन नसक्ने भएपछि नि:शुल्क स्वयमसेवा गर्न दरखास्त आह्वान गर्‍यो । तर कोही व्यक्ति पनि नि:शुल्क स्वयमसेवा गर्न आवेदन दिन आएनन् । समितिका संयोजक खम्बूले राजीनामा दिने मनशाय बनाए ।

बजार व्यवस्थापनको आइडिया नहुँदा बयरवन चतरा बजार शून्य

कुम्भ क्षेत्र र चतराधाम परिसरमा बजार व्यवस्थापन गरिंदा बयरवन र चतरा बजार शून्य हुँदै गएको छ । सवारी साधनको धाममा सिधा प्रवेशले भक्तजनले बयरवन र चतराको मुख्य बजार देख्न पाउँदैनन् ।

व्यवस्थापन समितिले खारखोला झण्डाचोक अगाडि नै बजार व्यवस्थापन गरेर भक्तजनलाई कुम्भ परिसरमा पैदल आउने वयवस्था गर्नु पर्दछ । पैदल यात्रा गर्न नसक्ने यात्रीलाई चतरा बजारसम्म सिटीसफारी र अटोरिक्साको व्यवस्था गर्नु पर्दछ । दक्षिणतर्फ तेह्र आरडीमा र उत्तरतर्फ भण्डारीटारमै सवारी साधन रोकिनु पर्छ ।
कुम्भस्थलमा फलफूल, प्रसाद र खानेपानीको मात्रै व्यवस्थापन गरिनु पर्छ । कुम्भ मेलाको भण्डाराको मुख्य पण्डाल राखिएको क्षेत्रमा मालाप्रसाद र पानीको अस्थायी स्टलको व्यवस्था गरेर  वरिपरि बजार व्यवस्थापन गरिनु पर्छ । एक किलोमिटर अगाडि नै बसपार्कको व्यवस्थापन गरिंदा उक्त क्षेत्रमासमेत स्थानीयको रोजगारीको अवस्था सिर्जना हुन सक्दछ ।

कुम्भ मेला व्यवस्थापन समितिले स्नानका लागि आजसम्म उपयुक्त स्नानघाट निर्माण गर्न सकेको छैन । कोसी नदीको पूर्वी भङ्गालो दुर्वासाघाटदेखि दक्षिण शृङ्गीघाटसम्म व्यवस्थित गरिनु पर्दछ । शाही स्नानका लागि तोकिएको वराहक्षेत्रमासमेत भक्तजनको चाप हेरेर व्यवस्थापन गरिनुपर्दछ । भीडभाडलाई मध्येनजर गरेर सुरक्षा चुनौती रहेको सुरक्षाकर्मीले बताइरहँदा मूल समितिले आवश्यक संवाद र सहजीकरण गर्न आवश्यक देखिन्छ । बराहक्षेत्रमा लाग्ने कात्तिके मेलामा आउने भक्तजनको चापले व्यवसायीले आफ्नो व्यापार- व्यवसाय गर्न पाउँदैनन् । कुम्भ मेलामा व्यापार गरेर केही आर्जन गर्ने आशामा आएका व्यवसायीले अत्यधिक व्हापका कारण व्यवसाय गर्न नसक्ने अवस्था आए यसको जिम्मा कुम्भ मेला मूल व्यवस्थापन समितिले लिन सक्दैन । भक्तजनको चापको अनुमान गरेर बजार व्यवस्थापनको आवश्य रणनीति अपनाउनु वान्छ्नीय देखिन्छ । तर मूल समिति चुकेको प्रष्ट देखिन्छ । बजार व्यवस्थापन र अनधिकृत दानपेटिका राख्ने र आर्थिक चलखेल गर्नेहरु विरुद्ध अनुगमन गर्ने र नियमन गर्ने निकाय चनाखो हुनुपर्ने देखिन्छ ।