इटहरी । व्यापारको ‘हब’ मानिएको सुनसरीको इटहरीमा अवैध मेनपावर कम्पनीको रजगज चलेको छ । नियमनकारी निकाय सुस्ताउँदा त्यसको फाइदा दर्ता नभई सञ्चालनमा आएका मेनपावर कम्पनीहरूले लिइरहेका छन् । 

आर्थिक वर्ष २०७७/०७८ मा इटहरीभित्र ७३ वटा मेनपावरका शाखाहरू सञ्चालनमा थिए भने सो सङ्ख्या २०८०/०८१ मा आइपुग्दा दुईगुणा बढेको छ । वैदेशिक रोजगार सङ्घ सुनसरीका अनुसार हाल इटहरीमा दुई सय १५ वटाभन्दा बढी मेनपावरहरू सञ्चालित छन् । तर, सबै शाखाहरू नियमसम्मत भने नभएको सङ्घ नै बताउँछ । २०७९ को वैशाखको दोस्रो साता वैदेशिक रोजगार विभाग, श्रम कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरीलगायतले गरेको संयुक्त अनुगमनको क्रममा इटहरीमा अधिकांश मेनपावर अवैध ठहरिएका थिए । नौवटा अनुगमन गर्दा पाँचवटा अवैध भेटिएसँगै तीनवटा सिल गरिएको थियो ।

वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालको नेतृत्वमा इटहरीको धरान रोड, विराटनगर लाइन, टेङ्ग्रा खोलापारि, गोरखा गल्लीलगायतका स्थानमा सञ्चालित मेनपावरका शाखाहरूमा अनुगमन गरिएको थियो । अनुगमनकै क्रममा महेश थापाद्वारा सञ्चालित एड्भान्स मेनपावर, विदुर गुरुङको वल्र्ड एन्ड वल्र्ड मेनपावर, टीकाराम घिमिरेको डिलक्स परी मेनपावर, त्यसैगरी मोभिरा एचआर ओभरसिज र ब्रिज स्काई इन्टरनेशनलमा ताला लगाइएको थियो । जसमा मोभिरा एचआर र ब्रिज स्काई इन्टरनेसनलमा सिल गरिएको थियो ।

मोभिरालाई २०७८ साल असारमा पनि अनुगमन गर्दा ताला लगाएर विभागमा बोलाएको थियो । मोभिरा बन्द भए पनि सोही नामका पछाडि एचआर थपेर फेरि सञ्चालन भइरहेको छ । एक वर्षअघि सिल भएका मेनपावरहरू हाल निर्वाधरूपमा सञ्चालित छन् । ‘अनुगमन आउँदा ताला लगाएर जान्छन्; त्यसको भोलिपल्टै ताला फुटाएर पहिलेजस्तै सञ्चालन गर्छन्’–आफ्नो नाम नछाप्ने सर्तमा एक मेनपावर व्यवसायीले भने ।

वैदेशिक रोजगार विभागका अनुगमन अधिकृत चक्रबहादुर श्रेष्ठले फोनसम्पर्कमार्फत् कोशी प्रदेशमा आर्थिक वर्ष २०७९/०८० मा दुई सय ६३ भन्दा बढी मेनपावर कम्पनीका शाखाहरूलाई कारबाही गरिसकेको बताए । अधिकृत श्रेष्ठले इटहरीको हकमा सिल गरिसकेका मेनपावरका शाखा सञ्चालन भएको पाइए कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने दाबी गरे ।

अवैध मेनपावरले समस्या
वैदेशिक रोजगार सङ्घ सुनसरीका अध्यक्ष दुर्गा थापाका अनुसार इटहरीमा अवैध मेनपावरका कारण आफूहरूलाई पनि काम गर्न अफ्ठेरो भयरहेको छ । यसअघि सङ्घमा भक्त लामा अध्यक्ष थिए । लामा इटहरी–४ का वडाध्यक्षमा निर्वाचित भएपछि थापालाई सङ्घको जिम्मेवारी दिइएको हो । अध्यक्ष थापाले अनुगमन गर्दा पनि नसुध्रिने व्यवसायीहरूलाई समातेर कानून सम्मत सजाय दिलाइनुपर्ने बताए । उनले अवैधानिक म्यानपावरका कारण वैधानिक म्यानपावरका शाखाहरू बदनाम हुने गरेको बताए ।

वैदेशिक रोजगार विभागका अनुगमन अधिकृत श्रेष्ठले इटहरी मात्र नभई कोशी प्रदेशका विभिन्न स्थानबाट यस्तो गुनासो आइरहेको बताए । उनले अनुगमन गर्ने विषयमा आफूहरू सतर्क साथसाथै नियमित गर्ने बताए ।

सर्वसाधारण ठगिँदै
इटहरीमा बाहिर एउटा बोर्ड झुण्ड्याउने गरे पनि भित्र अर्कै नाममा म्यानपावरका शाखाहरू सञ्चालन हुने गरेको छ । यस्ता म्यानपावरहरूका कारण बर्सेनि २६ हजार युवायुवतीहरू ठगिएको श्रम कार्यालय विराटनगरको तथ्याङ्कमा उल्लेख गरिएको छ । इटहरी चारैतिरको सङ्गम स्थल भएकै कारण विशेषगरी पहाडी भेगबाट आएका युवायुवतीहरू ठगिने गरेको तथ्याङ्कमा उल्लेख छ ।

अनुगमनकै क्रममा अधिकांश शाखाहरूले हुँदै नभएको अरू विदेशी कम्पनीको डिमान्ड चोरी गरी सूचना निकाल्दै सर्वसाधारणलाइ ठग्ने गरेको भेटिएको थियो । वैदेशिक रोजगार सङ्घ सुनसरीका पूर्व अध्यक्ष तथा इटहरी ४ का वडाध्यक्ष भक्त लामाका अनुसार राज्यबाटै वैदेशिक रोजगार व्यवसायहरूका लागि ठोस कानून निर्धारित नहुँदा यो समस्या देखिएको बताए । ‘अवैध म्यानपावर इटहरीमा छैन भन्दिन तर तिनिहरूलाई पटक पटक अनुगमन गर्दै छाड्ने काम बिभागबाटै हुने गरेको छ’–उनले भने ।

कार्यान्वयनमा छैन फ्रि भिषा फ्रि टिकट
इटहरीमा सञ्चालित मेनपावर शाखाहरूले सरकारले विभिन्न सात मुलुकहरूमा ‘फ्रि भिसा र टिकट’मा नेपाली कामदार पठाउने निर्णय गरे पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । निर्णय कार्यान्वयन नगर्दा चर्को मूल्य तिर्नु परिरहेको सर्वसाधारणले गुनासो गरेका छन् ।

सरकारले खाडी मुलुकहरू साउदी, कतार, मलेसिया, लगायतमा श्रम मन्त्रालयले २०७२ साल असारदेखि लागू हुने गरी ‘फ्रि भिसा, फ्रि टिकट’को घोषणा गरेको थियो । २०७५ साल पुसमा सर्वोच्च अदालतले पनि निःशुल्क भिसा र टिकटको निर्णय प्रभावकारी रूपमा लागु गर्न निर्देशन दिएको थियो । तर, म्यानपावर व्यवसायीहरूले उक्त निर्देशनको विरोध गर्दै आइरहेका छन् ।