धरान–२० स्थित चिण्डेडाँडामा सुम्निमा पारुहाङको प्रतिमा निर्माण गर्ने चर्चा भइरहेको छ । तर, हालसम्म आवश्यक जग्गा सुनिश्चित छैन ।  प्रतिमाका लागि जग्गा सुनिश्चित नहुँदै आसपासमा जग्गा कारोबार फस्टाएको छ ।

जग्गा कारोबारमा धरानका नगर प्रमुख हर्कराज राईका समर्थक तथा परियोजनाका व्यक्तिसमेत जग्गा कारोबारमा संलग्न छन् ।

करिब डेढ महिनाअघि सुम्निमा पारुहाङ परियोजनाका प्रमुख व्यक्तिमध्येका एक दत्तकुमार लिम्बूको फेसबुकमा एउटा पोष्ट आयो । उनले आफ्नो फेसबुक पेज दत्त लिम्बूमा ‘चिण्डेडाँडामा सुम्निमा पारुहाङ प्रतिमादेखि ५ सय मिटरनजिकै सत्य रियल स्टेट कम्पनी प्रा.लि.को प्लट बिक्रीमा, अन सेल प्लट अन सेल, कन्ट्याक्ट एज सुन एज पोसिबल’ लेखेर आफ्नै सम्पर्क नम्बर राखे ।

अर्को वाट्सएप सम्पर्क पनि नम्बर राखे । त्यो नम्बर भने नगर प्रमुख राईका समर्थक सत्य गुरुङको रहेको पुष्टि भएको छ ।

सुम्निमा पारुहाङ निर्माणस्थलनजिक जग्गा कारोबारमा प्रतिमा निर्माण समितिका प्रमुख व्यक्तिहरूकै संलग्नता देखिएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा एनसी राईले लेखेका छन्, ‘संयोगवश  मोबाइल नम्बर मिल्यो त मामा जसको बहस छ बजारमा । यद्यपि आफ्नो श्रीसम्पत्ति बेचबिखन गर्न जहिले पनि व्यक्ति स्वतन्त्र हुन्छ । एयरपोर्टको हल्ला चलाएर डाँडाघोपा धरान–१७ मा पनि जनता लुटिएको र व्यक्ति मोटाएको नै हो । सोही लुटतन्त्र चिण्डेडाँडा वरिपरि नहोस् । प्रश्नहरू उठ्छन्, स्वभाविक हो तर, स्पष्टीकरण महत्त्वपूर्ण छ । जय धरान ।’

उनले घुमाउरो शैलीमा दत्तकुमार लिम्बूलाई प्रश्न गरेका छन् । एनसी राईले खानेपानी अभियानमा खुलेरै सहयोग गरेका थिए । सुम्निमा पारुहाङका विषयमा भने अहिले प्रश्न उठाएका छन् ।

धरानका पूर्वनगर प्रमुख मनोजकुमार मेन्याङ्बोले चिण्डेडाँडामा सुम्निमा पारुहाङ प्रतिमा निर्माण गर्ने भनेर जग्गाको मूल्य वृद्धि गरेको सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका छन् । मेन्याङ्बोले लेखेका छन्, ‘चतुर खेलाडीको गज्जबको दाउ चिण्डो बोकेर बढायो जग्गाको भाउ । यतातिरको खबर यस्तै छ लौ ।’

एमाले नेता मुरारी सुवेदीले फेसबुकमा ‘धरानमा खोलाको पैसा खोलामा गयो भनेर पोहोर साल झुट बोलेछन् कि क्या हो ? पैसा त चिण्डेडाँडातिर चढेजस्तो छ, भनी चोक–चोकमा चर्चा छ । विदेशमा बसेर पवित्र मनले धरानलाई सहयोग गर्नुहुने महानुभावहरू के भन्नुहुन्छ नि’ भनेर प्रश्न गरेका छन् ।

दत्त लिम्बूले गतवर्ष खानेपानी परियोजनाको आर्थिक पारदर्शिताबारे प्रश्न उठेपछि खोलामा आएको पैसा खोलामै गयो भन्ने गैरजिम्मेवाररूपमा बोलेका थिए ।

उनै दत्त सुम्निमा पारुहाङको प्रतिमा निर्माण परियोजनाका प्रमुखमध्येका एक व्यक्ति हुन् । सुम्निमा पारुहाङ प्रतिमा निर्माण परियोजनाको बैङ्क खाता दत्तकुमार लिम्बू, पञ्चमाया र हर्कराज राईको नाममा सञ्चालन गरिएको छ । उनै दत्तकुमारले सुम्निमा पारुहाङ प्रतिमा निर्माण गर्ने भनिएको स्थलछेउमा जग्गा भएको र उनैले जग्गा प्लटिङ गरेको भनेर सामाजिक सञ्जालमा आलोचना भइरहँदा ब्लाष्टले उनलाई ‘वास्तविकता के हो ?’ भनेर जिज्ञासा राखेको थियो । उनले उक्त जग्गा आफ्नो नरहेको दाबी गरे । उनले भने, ‘मेरो छैन । वास्तविकता त्यस्तो होइन ।’

सामाजिक सञ्जालमा नाम आइरहेको र उनी आफैले फेसबुकमा पोष्ट गरेको विषयमा सोध्दा लिम्बूले भने, ‘जान्दिनँ पनि, छैन पनि ।’ उनले सत्य गुरुङको समूहले जग्गा कारोबार गरेको बताउँदै भने, ‘दुईजना भान्जा छन् । हाम्रो जग्गा छ । तपाईंबाट मान्छे आए भने जग्गा देखाइदिनू है मात्र भनेको हो, मलाई ।’

लिम्बूको फेसबुक पोष्ट र सामाजिक सञ्जालमा भइरहेको चर्चाको विषयमा ब्लाष्टले सत्य गुरुङलाई पनि फोन सम्पर्क गरेर सोधेको थियो । उनले पनि अहिले भइरहेको चर्चा गलत भएको दाबी गरे ।

ब्लाष्टसँग गुरुङले भने, ‘राजनीतिक रूपमा बदनाम गर्न खोजिएको हो । त्यसमा मेरो संलग्नता छैन । राजनीतिक प्रतिशोधले आएको कुरा हो ।’

उनले उक्त जग्गा आफ्नो नभएको दाबी गर्दै कानूनी उपचारमा लागेको बताए ।

सुम्निमा पारुहाङको प्रतिमा निर्माण गरिने भनिएको स्थान वरपरका बासिन्दासँग पनि ब्लाष्टले सोधखोज गरेको थियो । स्थानीय तथा सम्बन्धित व्यक्तिहरूले जग्गा प्लटिङमा नगर प्रमुख राईकै समर्थक राम राई र बालेन्द्र राई संलग्न रहेको बताएका थिए । ब्लाष्टले राम र बालेन्द्रसँग फोन सम्पर्क गरेर बुझ्दा उनीहरूले आफूले प्लटिङ गरेको बताए । राम राईले भने, ‘हाम्रो जग्गा हो । अरू क–कसको भन्छन् । मालपोतमा गएर बुझ्दा हुन्छ ।’

अर्का बालेन्द्र राईले पनि प्लटिङ आफूले गरेको बताए । उनले ७ करोडमा जग्गा खरिद गरी मालपोत कार्यालय धरानबाट इजाजत लिएर कित्ताकाटसमेत गरेको बताए । तर, प्लटिङ भइरहेको जग्गा मालपोतमा भने राम, बालेन्द्र, दत्त र सत्य कसैको पनि नाममा छैन । प्लटिङ भइरहेको जग्गा भने धरान–१७ का दुई व्यक्तिको नाममा रहेको कागजात ब्लाष्टले प्राप्त गरेको छ ।

जग्गा नै सुनिश्चित छैन
सुम्निमा पारुहाङको प्रतिमा निर्माण गर्ने भनिएको स्थलमा हालसम्म जग्गा नै सुनिश्चित भइसकेको छैन । ब्लाष्टकर्मी स्थलगतरूपमा बुझ्दा त्यहाँका स्थानीयले आफ्ना मागहरू सम्बोधन भए मात्र जग्गा छाड्ने बताएका छन् ।

स्थानीय लक्ष्मी तामाङले माग पूरा भए मात्र जग्गा छाड्ने बताइन् । ‘प्रचलित मूल्यअनुसार पैसा पाउनु पर्छ, भविष्यसम्म व्यवसाय गर्न पाउनु पर्छ, प्रतिमा बनेमा त्यसको कम्पाउण्डभित्र व्यवसाय गर्न पाउनु पर्छ । बाहिरका व्यवसायी भित्रिनु हुँदैन’ उनले भनिन्, ‘पहिलो हाम्रा माग पूरा भएनन् भने जग्गा दिँदैनौं । दोस्रो, सरकारी दरमा मान्दैनौं । किनकि हामीले पनि गरिखानुपर्छ ।’

पार्वती राईसहितका अन्य स्थानीयले जग्गाको प्रचलित मूल्यसहित घरटहराको मूल्य चित्त बुझ्दो दिएमा मात्र जग्गा दिने बताएका छन् ।

‘भिडियोमा आएजस्तो वास्तविकता होइन’
चिण्डेडाँडाका स्थानीयले युट्युबलगायत सामाजिक सञ्जालमा आएको भिडियोमा सत्यता नभएको बताएका छन् । स्थानीय लक्ष्मी तामाङले भनिन्, ‘युट्युबरहरूले स्थानीय सबै हर्षले गद्गद् भएको भनी नकारात्मक हल्ला फिँजाएका हुन्, त्यसमा सत्यता छैन ।’

उनले विभिन्न भिडियोमा स्थानीय खुसी छन् भनेर आएको देखेको बताउँदै थप भनिन्, ‘त्यो वास्तविकता होइन ।’

‘सरकारको होइन, जनताको हो’
सुम्निमा पारुहाङ प्रतिमा निर्माणका मुख्य व्यक्ति दत्तकुमार लिम्बूले स्थानीय सरकारको नभई जनताको परियोजना भएको बताएका छन् ।

ब्लाष्टसँगको फोन सम्पर्कमा लिम्बूले भने, ‘सुम्निमा पारुहाङ जनताको परियोजना हो । नगरपालिकाको होइन ।’

नगरको लगानी विना नै बनाउने उनको भनाइ छ । तर, केही समयअघिको कार्यपालिका बैठकमा जग्गा खोजी गर्ने निर्णय गरिएको थियो । नगरको नाममा बैङ्क खाता खोल्नुपर्नेमा व्यक्तिगत नाममा खाता खोलिएको छ । यसले पनि स्वार्थ बाझिएको आशङ्का गरिएको छ ।

तामाङ समुदाय असन्तुष्ट
तामाङ समुदायको बाहुल्यता रहेको विष्णुपादुका चिण्डेडाँडामा सुम्निमा पारुहाङको प्रतिमा निर्माण गरिन लाग्दा तामाङ समुदायको असन्तुष्टि देखिएको छ ।

पूर्व जनप्रतिनिधिसमेत रहेका स्थानीय कर्ण तामाङले प्रतिमा बनाइने भनेको ठाउँ वरपरको क्षेत्र तामाङ समुदायको प्राचीन थलो रहेको बताए । उनले स्थानीय बासिन्दासँग सुम्निमा पारुहाङको प्रतिमा राख्ने बारेमा कुनै छलफल नगरेको बताए ।

उनले भने, ‘तामाङ समुदायसँग समन्वय र सामाजिक सद्भाव नराखिँदा यहाँ असन्तुष्टि छ ।’ तामाङले चिन्डेडाँडा वरपर ९० प्रतिशत तामाङ समाजको बाहुल्यता रहेको बताए । उनले तामाङ समुदायको मर्म र भावना समेट्न बौद्ध स्तूपा पनि निर्माण गर्न नगर प्रमुख हर्कराज राईसँग अनुरोध गरेको बताए ।

‘समन्वय गर्छौं’
किरात राई यायोक्खा सुनसरीका अध्यक्ष तथा प्रतिमा निर्माण समितिका उपाध्यक्ष राजेन्द्र राईले जग्गाका विषयमा समन्वय गरिरहेको बताए । उनले केहीले जग्गा दान दिने र केहीको खरिद गर्नुपर्ने अवस्था रहेको बताए ।

उनका अनुसार प्रतिमास्थलमा ३२ कठ्ठा साढे ३ धुर जग्गा नम्बरी रहेको छ । उनले चरणबद्धरूपमा कुरा भइरहेको बताएका छन् । स्थानीयसँग समन्वय गरेर जग्गा लिने उनको भनाइ छ । तर, स्थानीयले प्रचलित मूल्यभन्दा घटीमा जग्गा नदिने बताएका छन् । राईले झण्डै आठ कठ्ठा जग्गा खरिद गरिसकेको बताएका छन् । कठ्ठाको के कति दरले किनिएको भन्ने खुलाउन चाहेनन् ।

यायोक्खाकै केही व्यक्तिले चिन्डेडाँडाभन्दा माथिल्लो स्थान बाघखोपमा सरकारी जग्गा रहेकाले त्यहाँ बनाउन प्रस्ताव गरेको तर, नगर प्रमुख राई नमानेको बताएका छन् ।

यायोक्खा सुनसरी अध्यक्ष राई भने त्यस्तो प्रस्ताव नगरिएको बताउँछन् । उनी भन्छन्, ‘चिन्डेडाँडाबाट धरानलाई ३ सय ६० डिग्रीबाट अवलोकन गर्न सकिन्छ । अन्य ठाउँबाट गर्न सकिँदैन ।’

स्थानीय तामाङ समुदायको असन्तुष्टिका विषयमा कुरा गर्दा उनले दुबईमा गणेशको मूर्ति, थाइल्याण्डमा बुद्धको मूर्ति बनेको उदाहरण दिँदै भने, ‘यस्तो विषय कुन जातको भन्ने हुँदैन ।’

उनले परियोजनाका लागि करिब ५० करोड लागत अनुमान रहेको बताए । स्थानीयका अनुसार उक्त स्थानको जग्गा प्रतिकठ्ठा ६० लाख* रुपैयाँभन्दा माथिले खरिद बिक्री हुने गरेको छ । त्यस्तो हुँदा जग्गालाई नै धेरै मूल्य पर्ने देखिन्छ ।

*सच्याइएको ।