आम नागरिकमा राजनीतिक दल र सरकारप्रति निराशा चुलिँदो अवस्थामा छ । एकपछि अर्को भ्रष्टाचार काण्ड सार्वजनिक हुँदा अधिकांश ठूला दलका नेताहरु संलग्न भएका प्रमाण बाहिर आए तर, धेरैजसो नेताहरु कारबाहीबाट जोगिएका छन् । यसले पनि नागरिकमा झनै निराशा बढाएको छ । हालै नयाँ सत्ता गठबन्धनपछि गठित सरकारले आम नागरिकको निराशा चिर्ने कोशिस गरेको छ । केहीदिनअघि सत्ता गठनबन्धनले ‘न्यूनतम् नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ जारी गरेर निक्कै महŒवाकाङ्क्षी लक्ष्य लिएको छ । जुनसुकै कालखण्डका भ्रष्टाचारको छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनेजस्ता सङ्कल्प अत्यन्तै आवश्यक हुन् तर, यसको कार्यान्वयन कसरी हुन्छ, त्यो महŒवपूर्ण कुरा हो ।

नयाँ सरकार गठन भएलगत्तै सत्तारुढ दल माओवादीकै उपाध्यक्ष तथा पूर्वसभामुख र पूर्वगृहमन्त्रीसमेत रहेका कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनको कारबाही प्रक्रिया कसरी अघि बढ्छ, त्यो भने हेर्न बाँकी नै छ । त्यस्तै बिहीबार बाँसबारी जग्गा प्रकरणमा काङ्ग्रेसका सांसद्समेत रहेका व्यापारी विनोद चौधरीसँग बयान लिएको छ । बिहीबार मात्र गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई नागरिकको समस्यामा केन्द्रित रहेर काम गर्न निर्देशन दिएको छ । भ्रष्टाचारविरूद्ध निर्ममरुपमा प्रस्तुत हुने सङ्केत देखाएको सरकारका पछिल्ला गतिविधि हेर्दा अब देशमा अति भयो, केही सुधार गर्नैपर्छ भन्ने महसुस भएको हो कि भन्ने देखिन्छ । विगतमा पनि सरकारले बेला–बेलामा यस्तै आशा जगाउने काम सुरू गर्ने तर, बीचमै छाड्ने प्रवृत्ति नदेखिएको होइन । नक्कली भुटानी शरणार्थी प्रकरण, क्विन्टलका क्विन्टल सुन तस्करी प्रकरण, ललिता निवास जग्गा प्रकरणजस्ता ठूला भ्रष्टाचार काण्ड सार्वजनिक भए पनि यस्ता काण्डमा संलग्न अभियुक्तहरु बीचैमा छुट्ने, कतिपय पहुँचवालामाथि अनुसन्धान नै नहुने, भ्रष्टाचारमा मुछिएकाहरुलाई पनि चोख्याउने प्रवृत्ति पनि नदेखिएको होइन ।

देशमा सुशासन ल्याउने नाराकै बलमा सत्तामा पुगेका गृहमन्त्री रवि लामीछाने र देशमा परिवर्तन ल्याउने उद्घोषसहित लामो समय भूमिगत सशस्त्र युद्ध गरेर सत्तामा पुगेका हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि आफूले आम नागरिकमा गरेका वाचा, देखाएका आशा अनुरुप काम गर्ने अभिभारा छ । पछिल्लो समय उनीहरुले गरेका निर्णय र केही कामले आफ्ना वाचाअनुसार अघि बढेको हो कि भन्ने देखिए पनि काम गर्न त्यति सहज छैन । उनीहरुको सुशासनको नारा स्टन्टबाजीमा मात्र सीमित हुने हो कि भन्ने आशङ्का सर्वत्र छ । आम नागरिकमा आशा जगाउन हल्लाखल्लाले मात्र सम्भव छैन । त्यसका लागि इमान्दार बनेर काम गर्नुको विकल्प छैन ।