विजयपुर । धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार भएको छ । विगत केही महिनायता खानेपानी समस्या चर्किंदै गएको छ । यसले नगर प्रमुख हर्कराज राईले सञ्चालन गरेका योजना प्रभावहीन भएको देखाउँछ ।

धरान–१५ का राजेश लामाको घरमा पानी नआएको निकै दिन भयो । उनी भन्छन्, ‘विगतका वर्षमा यति समस्या थिएन । अहिले धेरै समस्या भइरहेको छ । पानी थोरै समय आउने गरेको छ ।’ धरान–७ मा पनि पानी आएको छैन ।

धरान–१२ मा पनि पानी नआएको धेरै भयो । पानी आउन छाडेपछि आइतबार पानी नआएको गुनासो लिएर वडावासी धरान उपमहानगरपालिका पुगे । टोल विकास संस्थाका अध्यक्ष नरेश शाक्यसहितको टोली खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका नगर प्रमुख राईलाई भेट्न पुग्यो । नगर प्रमुख राईले पाइप लाइनको समस्याका कारण पानी नआएको बताउँदै वडावासीलाई पानी आउने आश्वासन दिए । तर, हालसम्म पानी आएको छैन । धरान–१२ का प्रनोद दत्त घरमा पानी आउन छाडेपछि प्लास्टिकको प्लेटमा खाना खान थालेको बताउँछन् । उनी भन्छन्, ‘ट्वाइलेट जाने त के खाना खाएर हात चुठ्न पनि पानी छैन ।’

धरानमा बर्सेनि बसोबास बढेकाले खानेपानी समस्या चुलिँदै गएको छ । खानेपानीकै मुद्दा लिएर चुनाव जितेका नगर प्रमुख राईले दुई वर्ष पुग्न लाग्दा पनि वितरण प्रणालीमा सुधार गर्न सकेका छैन । हुन त नगर प्रमुख राईले खानेपानी समस्या समाधानका लागि प्रयास नगरेका होइनन् । तर, उनका प्रयास प्रभावहीन देखिएका छन् । धरान खानेपानी बोर्डका निर्देशक राजु पोखरेलले केही समयअघि भएको कुराकानीमा कोकाहा खोलाको पानीले केही राहत भएको बताए । उनका अनुसार विष्णुचोकको ट्याङ्कीको एक पम्प चलाउन नपरेको बताएका थिए । सुख्खा याममा पानी अभाव हुनु स्वभाविक भएको उनको भनाइ छ । उनले खानेपानीको धारा दैनिक ८–१० वटा जडानका लागि आउने गरेको बताएका छन् ।

धरानमा पानीको अभाव चर्किएका बेला खानेपानी बोर्डको गाडी भने वृक्षरोपण गरिएको क्षेत्रमा पानी हाल्न गएपछि सामाजिक सञ्जालमा विरोध पनि भइरहेको छ ।

सभासद्कै घरमा छैन पानी
कोशी प्रदेशसभाका सदस्य विजयकुमार राई धरान–११ स्थित सिर्जना मार्गमा बस्छन् । उनको घरमा मात्र होइन, त्यो टोलमा नै पानी नआएको दुई हप्ताभन्दा धेरै भयो । उनी भन्छन्, ‘म त पानी किनेर खाउँला । तर, गरिब नागरिकले कसरी पानी किनेर खालान् भन्ने चिन्ता छ ।’

उनी धरानमा पानीको समस्या समाधान भएजस्तो गरी प्रचार भएको बताउँदै भन्छन्, ‘बाहिर धरानमा अब पानीको समस्या नै सकियो भन्ने बुझाइ छ तर, खानेपानीको समस्या समाधान भएन । मुख धुन मिनिरल वाटर किन्नुपर्ने अवस्था छ ।’

कोकाहाबाट पानी आएपश्चात् प्रवासी नेपालीहरुलाई धरानमा पानी छताछुल्ल भए जस्तो लागेको बताउँदै उनले भने, ‘धरानमा पानी चाहिनेभन्दा आधा मात्र आपूर्ति भइरहेको छ ।’ उपलब्ध भएको खानेपानीमा वितरण प्रणाली सुधार नभएका कारणले थप समस्या भएको उनको बुझाइ छ । उनी भन्छन्, ‘धरानमा पर्याप्त खानेपानी आएको जुन किसिमको हल्ला छ, त्यो गलत हो ।’

प्रदेश सभासद् राईले धरानको खानेपानी समस्याको तत्काल समाधानका लागि ४ वटा डिप बोरिङको योजना अघि बढाएको बताए । विज्ञलाई उद्धृत गर्दै उनले भने, ‘एउटा डिप बोरिङबाट दैनिक १९ लाख लिटर पानी आउँछ नभए पनि १५ लाख त आउला । चारवटाको ६० लाख लिटर हुन्छ । त्उति भए तत्कालीन रुपमा धरानले काकाकुल हुनु पर्दैन ।’

तर, डिप बोरिङले धरानमा खानेपानीको दीर्घकालीन समस्या समाधान नहुने उनको बुझाइ छ । त्यसको दीघर्कालीन समाधान चाहिँ के होला ? भन्ने जिज्ञासामा उनले भने, ‘कोशी वा तमोरबाट नै पानी ल्याउनुपर्छ, त्यसका लागि स्थानीय सरकारले मात्र सक्दैन । तीनै तहका सरकारले लगानी गर्नुपर्छ । स्थानीय सरकारले समन्वय गर्नुपर्छ ।’ उनका अनुसार कोशीको परियोजनाका लागि वातावरणीय प्रभाव अध्ययन गर्न बाँकी छ ।