कोशी प्रदेशका पहाड तथा तराईका विभिन्न स्थानमा एक सातायता आगलागीका घटना भइरहेका छन् । गर्मी मौसम बढेसँगै वनक्षेत्रमा पनि जताततै डढेलो लाग्न थालेको छ । शनिबार साँझ आगलागीमा परेर भोजपुरको हतुवागढी गाउँपालिका–७ पिप्ले गाउँमा एकै परिवारका तीन बालबालिकाको मृत्यु भयो । सोही दिन मोरङको रङ्गेलीमा भएको आगलागीमा २५ घर जल्दा लाखौंको क्षति भएको छ । भोजपुरको टक्सार, तेह्रथुमको सिम्ले, सुनसरीको बर्जुलगायत विभिन्न स्थानमा भएको आगलागीमा करोडौंको क्षति भएको छ । अहिले पनि विभिन्न जिल्लाका वनमा डढेलो फैलिरहेको छ । तताततै भइरहेको आगलागी नियन्त्रण गर्न चुनौती थपिइरहेको छ ।

जताततै आगलागीका घटना भइरहँदा स्थानीय तहहरुमा आवश्यक मात्रामा दमकल नरहेको देखिन्छ । मोरङको रङ्गेलीमा भएको आगलागी घटनामा समयमै दमकल आइनपुग्दा धेरै क्षति भएको स्थानीयले बताएका थिए । रङ्गेली नगरपालिकासँग एउटा मात्र दमकल रहेको र त्यो पनि आगलागी भएको ठाउँमा समयमा पुग्न नसकेको पाइन्छ । रङ्गेली मात्र होइन, कोशी प्रदेशका धेरै स्थानीय तहसँग दमकल छैनन् । आगलागीका घटना भइरहेको समयमा दमकल अभावले समयमा आगो नियन्त्रण गर्न समस्या हुन्छ । यस विषयमा प्रदेश सरकार र स्थानीय तहहरुले बेलैमा सोचेर योजना बनाउनु जरूरी छ । कोशी प्रदेशका अधिकांशजसो पहाडी जिल्लाहरुमा दमकल छैनन् । दमकल भएका ठाउँमा पनि कुनै बिग्रिएका र कुनै काम नगर्ने अवस्थामा थन्किएका छन् । यसले आगो नियन्त्रणमा चुनौती थपिएको छ ।

प्रदेशभरिमा विराटनगर महानगरपालिकामा १० वटा दमकल रहेकामा ३ वटा बिग्रिएर थन्किएका छन् । इटहरी उपमहानगरमा २ वटा र धरानमा पनि २ वटा दमकल सञ्चालनमा छन् । धनकुटा नगरपालिकामा भएका २ वटा दमकलमध्ये एउटा बिग्रिएर थन्किएको छ भने दुहबीमा पनि दुईमध्ये एउटा मात्र सञ्चालनमा छ । यसरी एकातिर पर्याप्त दमकल छैनन् भने अर्कातिर भएका पनि चुस्त दुरूस्त नहुँदा आगलागीका घटना नियन्त्रण गर्न समस्या उत्पन्न भइरहेको छ । दमकलको यो अवस्था सुधार नगर्ने हो भने अझै हुन सक्ने आगलागीका घटना नियन्त्रणमा समस्या उत्पन्न हुने देखिन्छ । दमकलै नभएका पहाडी क्षेत्रहरुमा आगलागी नियन्त्रण गर्न मान्छेको भर पर्नु पर्छ । दुर्गम पहाडी क्षेत्रमा त घरहरु टाढा हुने भएकाले मान्छे जुटेर आगो निभाउन पनि मुस्किल छ । यस्तो अवस्थामा बेलैमा सावधानी अपनाउनुबाहेक अरु विकल्प केही छैन । हरेक वर्ष आगलागीका घटना भइरहे पनि न्यूनीकरण गर्न न त स्थानीय तहहरुले ठोस नीति बनाएको पाइन्छ, न त प्रदेश सरकारले नै । आगलागीबाट ठूलो क्षति भएपछि मात्र चासो देखाउने र केही गरेजस्तो गर्ने प्रवृत्ति अन्त्य हुन जरूरी छ । आम नागरिकमा सचेतना जगाउन पनि स्थानीय र प्रदेश सरकारको ध्यान आकर्षण हुन जरूरी छ । साथै आगलागीबाट पीडित भएकाहरुलाई उचित बास र खानपिनको व्यवस्था गरियोस् ।