भारतको अडानी समूहले आफ्नो कूल लगानीको ७० प्रतिशतभन्दा धेरै हरित ऊर्जामा लगानी गर्ने अपेक्षा गरिएको स्रोतहरूले बताएका छन्। यसमा नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन र हरित निकासी प्रसारण लाइन समावेश छ। समूहले गुजरातको खावडामा विश्वको सबैभन्दा ठूलो नवीकरणीय पार्क बनाइरहेको छ। यो पाँच सय ३० वर्गकिलोमिटरभन्दा बढी भागमा फैलिएको छ। 

स्रोतका अनुसार अडानी समूहले मुलुकको पूर्वाधार विकासमा ११ वटा सूचीबद्ध कम्पनीहरूको आफ्नो पोर्टफोलियोमार्फत आर्थिक वर्ष २०२४/२५ मा १४ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ चालु आर्थिक वर्ष २०२३/२४ मा गरेको लगानीको तुलनामा यो अनुमानित पूँजीगत खर्च ४० प्रतिशतले बढी हो। यो १० अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ। 

नवी मुम्बई विमानस्थल, गङ्गा एक्सप्रेसवे, खावडामा विश्वको सबैभन्दा ठूलो नवीकरणीय पार्क र मुन्द्रा बन्दरगाहजस्ता ‘सोकेस’ परियोजनाका साथ भारतको सबैभन्दा ठूलो पूर्वाधार यस समूहले आगामी सातदेखि १० वर्षमा एक खर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

उक्त लगानीले भारतको ऊर्जा र यातायात परिदृश्यलाई परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। स्रोतका अनुसार कूल लगानीको एउटा ठूलो हिस्सा आफ्नो तीव्ररूपमा बढिरहेको विमानस्थल र बन्दरगाहहरूको व्यवसायको विस्तार र विकासका लागि छुट्ट्याइएको छ। 

आगामी नवी मुम्बई विमानस्थल र १४ वटा घरेलु बन्दरगाहसहित आठवटा विमानस्थलको पोर्टफोलियोसँगै अडानी समूहले यी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउन चाहेको छ।डिसेम्बरको त्रैमासिकमा समूहले वार्षिकरूपमा ६३ दशमलव छ प्रतिशतको रेकर्ड त्रैमासिक इबिआईटिडिए (ब्याज, कर, मूल्यह्रास र ऋणमुक्तअघिको आम्दानी) वृद्धि हासिल गरेको छ। यसबाट क्यालेन्डर वर्ष २०२३ को १२ महिनाको इबिआईटिडिए नौ अर्ब ५० करोड अमेरिकी डलरको सर्वकालीन उच्चस्तरमा पुगेको छ।