विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार मधुमेह भएका मानिसको सङ्ख्या सन् १९८० मा १०.०८ करोड थियो । सन् २०१४ मा त्यो बढेर ४२.२० करोड पुगेको छ ।

सन् १९८० मा विश्वभरि १८ वर्षमाथिका वयस्कमध्ये ५ प्रतिशतभन्दा कमलाई मधुमेहको समस्या थियो । तर सन् २०१४ त्यो दर ८.५ प्रतिशत पुग्यो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बालरोग विभागले अन्तर्राष्ट्रिय डायबिटिज र एन्डोक्रिनोलोजी सम्मेलनको आयोजना गर्ने भएको छ । बालबालिकाहरूमा हुने मधुमेह रोगबारे जनचेतना तथा यसका नयाँ प्रवृत्तिबारे जानकारी गराउन भोलि (सोमबार) मार्च १८ तारिख सम्मेलनको आयोजना गर्न लागेको हो ।

मधुमेह के हो ?
मधुमेहलाई अङ्ग्रेजीमा  डायबिटिज मिलाइटस भनिन्छ ! नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ । मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने गर्छ ।

मधुमेह लक्षणहरू के के हुन् ?
रगतमा चिनीको मात्रा बढी भएपछि तारन्तार पिसाब लाग्ने, धेरै तिर्खा लाग्ने  र भोक लाग्नेजस्ता लक्षणहरू देखिन्छन् ।

मधुमेहमा किन  समस्या  हुन्छ ?
मधुमेह पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने समस्या हो ।

केही मधुमेहका किसिमहरु:
टाइप वान डायबिटिज

मानिसको पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या हो । यसलाई पहिला ‘इन्सुलिनमा आधारित डायबिटिज मिलाइटस’ वा ‘अपरिपक्व मधुमेह’ भनेर चिनिन्थ्यो । के कारणले गर्दा पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने तथ्य हालसम्म पत्ता लागेको छैन ।

टाइप टू डायबिटिज
इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो । यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन् । रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ । यसलाई पहिला ‘इन्सुलिनमा आधारित नहुने डायबिटिज मिलाइटस’ वा ‘परिपक्व हुन लागेको मधुमेह’ भनेर चिनिन्थ्यो । अत्यधिक तौल तथा अपर्याप्त शारीरिक व्यायाम टाइप टू डायबिटिजका प्रमुख कारकहरू हुन् ।

गर्भावस्थामा हुने मधुमेह
गर्भावस्थामा हुने मधुमेह मधुमेह हो । यस्तो मधुमेह गर्भवती महिलामा पहिला कहिल्यै नभएको भए पनि रगतमा चिनीको मात्रा बढेर अचानक देखा पर्ने गर्दछ ।

मोनोजेनिक मधुमेह
जिन को कमीको कारण हुने मोनोजेनिक मधुमेह हो । यो २% मा देखिन्छ ।

मिटोकोण्ड्रियल मधुमेह
वंशाणुको कारण हुने मधुमेह मिटोकोण्ड्रियल डिएनको गडबडीको कारणले हुन्छ  ।

डाइबिटिक केटोएसिडोसिस के हो ?
मधुमेहका केही रोगीहरू (विशेषगरी पहिलो प्रकारको मधुमेहमा) पटक–पटक डाइबिटिक केटोएसिडोसिस देखापर्न सक्छ । डाइबिटिक केटोएसिडोसिस भन्नाले शरीरमा हुने रासायनिक प्रतिक्रियाहरूमा गडबडी आएर वाक्वाक लाग्ने, वान्ता हुने, पेट दुख्ने, सास फेर्दा एसिटोनको गन्ध आउने, गहिरो सास फेर्ने (कस्मल ब्रिदिङ) तथा गम्भीर अवस्थाहरूमा रोगीहरू अर्धचेत हुने गर्दछन् ।

मधुमेहबाट कसरी बच्ने ?
–मधुमेहबाट बच्न तथा यसको उपचारको लागि स्वास्थ्यकर भोजन खाने,
–शारीरिक व्यायाम गर्ने,
–रक्तचाप नियन्त्रणमा राख्ने,
–खुट्टाहरूको हेरविचार गर्ने,
–खानामा विशेष ध्यान पुर्याउने,
–बढी कार्बोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने,
–धुम्रपान र मद्यपान त्याग्ने,
–शरीरको तौल सामान्य राख्ने,
–सुर्तीजन्य पदार्थहरू नखाने,
–बढी चिल्लोयुक्त पदार्थ सेवन नगर्ने,
–सन्तुलित र नियमित भोजन लिने,
–नियमित व्यायाम गर्ने,
सर्जरी पनि कहिलेकाहीँ लाभदायक हुने गरेको छ ।
इन्सुलिन या औषधिबारे चिकित्सकको सल्लाह लिई उपचार गर्नुपर्छ ।
(डा. सिंह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उप–प्राध्यापक तथा बालरोग विशेषज्ञ हुन् ।)