लिम्बुवानको राजधानी विजयपुरका विषयमा इतिहासका साथै विभिन्न किंवदन्तीहरू प्रशस्त मात्रामा पाइन्छ । तिनै इतिहास र किंवदन्ती तथा विभिन्न राजनीतिक घटनाक्रमका आधारमा अहिले पहिचानवादीहरूको आन्दोलन चर्किरहेको छ । यिनै विषयलाई पहिचानवादीहरूले ठोस प्रमाण मानेको पाइन्छ । वास्तविकतालाई केलाएर हेर्दा विजयपुरको इतिहास यस्तो देखिन्छ ।

विजयपुर गोर्खा राज्यको अधीनमा परेको १९ वर्षपछि कर्कपेट्रिक नेपालमा आएर अनुसन्धान गरेका थिए । उनले अनुसन्धान गरेको १८ वर्षपछि प्रकाशित ‘एकाउन्ट अफ द किङ्डम अफ नेपाल’ नामक पुस्तकमा नेपालको पूर्वतिर लिम्बूहरूले केही जिल्लाहरू ढाकेर बसोबास गरेको उल्लेख गरेको पाइन्छ । उनको पुस्तकमा रहेको नेपालको नक्सामा विजयपुर देखिए तापनि विजयपुरको इतिहास स्पष्ट लेखिएको छैन । विदेशी लेखकहरूमध्ये विजयपुरको बारेमा केही प्रष्ट लेख्ने भनेको नै ह्यामिल्टन हुन् । उनले विजयपुर विजयनारायणकै नामबाट स्थापना भएको उल्लेख गरेका छन् । यसबाट विजयपुरको संस्थापकको श्रेय विजयनारायण रायलाई नै जान्छ । उनले अगम सिंह, मन्सुफ, प्रेमनारायण दासको स्रोत उद्धृत गर्दै विजयनारायण राय सातौं राजा भएको र उनका पुर्खाले तल्लो मोरङमा मात्र शासन गरेको उल्लेख गरेको पाइन्छ । त्यो समयमा पहाडदेखि मोरङसम्मै शासन गर्ने खेवाङ राजाका राजकुमारलाई विजयनारायणका पुर्खा सिंह रायले नियुक्त गरेको उल्लेख गरिएको छ । केही समयपछि मौका छोपी पहाडी राजालाई गाईको मासु खाएको र हिन्दु महिलामाथि बलात्कार गरेको अभियोगमा हत्या गरे । यसको बदला लिन राजकुमार बाजु राय तुरुन्त मकवानपुरका राजपुत सेनहरूसँग सहयोग माग्न गए र सम्पूर्ण किरात सेनाहरू आबद्ध हुने सम्झौैता गरे । युद्ध अभियानको क्रममा दुर्भाग्यवश बाजु रायको मृत्यु भयो । सैन्य फौज पूर्वको गिद्दे पहाडबाट मकैबारीमा झर्दाझर्दै विजयनारायण रायको मृत्यु भएको खबर कामदत्त सेनले थाहा पाए ।

त्यसपछि आधा सेना त्यहीँ छाडेर लोहाङसेन विजयपुर आए । उनले विजयपुर आफ्नो अधीनमा लिई बाजु रायका छोरा विद्याचन्द्रलाई चौतारिया बनाए । विद्याचन्द्रले ‘हाङ’ पदवी परित्याग गरेका थिए ।  लोहाङसेनले पूर्वमा महानन्दसेन पश्चिम अदिया भोटदेखि जलालगढ, पूर्णियासम्म आफ्नो सिमाना तोके । त्यसपछि विद्याचन्द्रका छोरा विचित्र राय चौतारिया भएको समयमा विजयपुरका राजा लोहाङ सेनकै सन्तान कामदत्त सेन राजा भए । त्यसपछि राजा चौतारियाबीच मतान्तर (भेदभाव) सुरु भयो ।

चौतारिया विचित्रको मृत्युपछि उनका छोरा बुद्धिकर्ण राय सो पदमा नियुक्त भए । बुद्धिकर्ण राय र कामदत्त सेनबीच पनि सम्बन्ध राम्रो भएन । अन्ततः सिक्किमका दसजना भोटियाहरूको सहयोगमा कामदत्त सेनको हत्या गरी बुद्धिकर्ण रायले शासनको बागडोर हातमा लिए ।

दस लिम्बुवानको शासन सञ्चालन भएको लामो समयपश्चात् करिब १२ औं शताब्दीको अन्त्यतिर लिम्बुवानमा आपुङ्गी राजाको राज चल्यो । गाउँपिच्छे राजाहरूको जन्म भयो । यही क्रममा ई.सन् १३६४ मा लिम्बुवानको तल्लो खण्ड मोरङमा साङ्लाइङ नामका राजा भएका थिए । उनका छोराले हिन्दुमत ग्रहण गरे । ब्राह्मणहरूले उनको नाम अमर राय राखी ‘राय’ पदले सुशोभित गरे । अमर रायपछि, कीर्तिनारायण राय, उनीपछि उनका छोरा अपनारायण राय, उनका छोरा जारेनारायण राय, उनका पनि छोरा इङ्दिङनारायण राय, उनीपछि उनका छोरा विजयनारायण गरी सात पुस्तासम्म राज गरेको भेटिन्छ । उनीहरूको राजधानी वाराताप्पामा थियो । यो समयमा माथिल्लो खण्ड फेदाप राज्यको नामले प्रख्यात थियो ।

त्यो समयमा ‘फेदाप’ भन्नाले समग्र लिम्बुवानलाई जनाउँथ्यो भन्ने माथि नै उल्लेख भइसकेको छ । यसमा सबैभन्दा प्रभावशाली राजा मुरेहाङ खेवाङ थिए । विजयनारायण रायले मुरेहाङ खेवाङलाई पहाड–मधेस दुवैका राजा र आफू मधेस मोरङको मात्र राजा हुने सर्त बाँधी पहिलो वंशदेखि सधैँका लागि चौतारिया पदवी दिए । यिनै मुरेहाङ खेवाङसँग सल्लाह गरी साँगुरीगढी र वाराताप्पागढीको मध्यमस्थलमा एउटा नयाँ सहर बसाए र त्यो सहर विजयनारायणको नामले सुशोभित गरी ‘विजयपुर’ राखे । विजयपुरमा अवस्थित विजयनारायणको दरबार निर्माणसमेत उनै विजयनारायणकै कार्यकालमा भएको थियो । विजयनारायण रायको राज्य सेनहरूबाट अपदस्थ गरिएको थियो ।
सेन वंशीहरूको  राज्यलाई अन्तिममा बुद्धिकर्ण रायहरूले हत्याएपछि सेन वंशको पतन भई लिम्बुवान र मोरङ  विजयपुरको शासनको बागडोर खेवाङ वंशका लिम्बू बुद्धिकर्णले लिएका थिए । राजा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गर्नुभन्दा अगाडि सङ्खुवा खोला, अरुण सप्तकोशी पूर्वका सम्पूर्ण पहाड मधेस, बुद्धिकर्ण रायले राज्य गरेका थिए । त्यस समयमा विजयपुरको दरबारलाई लिम्बुवानको केन्द्रीय राजधानी भनिन्थ्यो । हाल विजयपुर सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. १४ मा अवस्थित छ ।

यो समुद्र सतहबाट करिब ५ सय ५० मिटरको उचाइमा लिम्बू जातिसँग सम्बन्धित ऐतिहासिक विजयपुर दरबारको अवशेष पाइएको छ । यो दरबार युद्ध र सामरिक हिसाबले अति नै महत्वपूर्ण स्थानमा रहेको छ । दरबारमा प्रयोग गरिएका इँटा र खोपेका ढुङ्गाहरू अझैसम्म पनि पाइन्छन् । त्यहाँ लगाइएका पर्खाल साङ्केतिकरूपमा देख्न सकिन्छ । विजयपुर दरबार स्थापनासँगै, विजयनारायण रायका वंशजहरू, साङ्लाइङ र पुङ्लाइङ थरका लिम्बूहरूमा भेटिन्छ । यसका नजिकका दाबेदार साक्वादेन र सातरेनुहाङ लिम्बू जातिभित्र पर्दछ । यस दरबारमा अन्तिम राजा बुद्धिकर्ण राय खेवाङ लिम्बूले नै राज्य (शासन) गरेको इतिहासले पुष्टि गरेको छ । यो खेवाङ लेखिएका जातिहरू लिम्बू समुदायमा नै पाइन्छ । मुरेहाङ खेवाङदेखि बुद्धिकर्ण रायसम्मका सबै वंशजहरू खेवा लिम्बूको वंशावलीमा पाइएको छ । यिनै बुद्धिकर्ण राय (खेवाङ)कै शासन कालमा सन् १७७४ मा गोरखाली राजा पृथ्वीनारायण शाहले लिम्बूहरूसँग १७ पटक युद्ध गर्दा पनि लिम्बुवान नहारेपछि लिम्बुवानसँग सन्धि गरिएको थियो । त्यसो भएको हुनाले अहिलेसम्म पनि लिम्बुवानको किपट जिउँदो रहेको ठानिन्छ । त्यही किपट प्राप्त गर्नका निम्ति अहिले विभिन्न आन्दोलन हुने गरेका छन् ।

यसमा अर्को प्रमाण भनेको लिम्बू भाषाबाट राखिएका  विजयपुरमा रहेका प्राकृतिक संरचनाहरू पनि पाइन्छन् ।धरानको पश्चिमतर्फ रहेको खोलालाई लिम्बू भाषामा ‘सरक खोला’ भनिन्छ । ‘सरक’ भनेको ‘एक ठाउँदेखि अर्को ठाउँ सर्ने अर्थात् पहिरो गइर्रहने’ हुन्छ । यसलाई पछि ‘सर्दु खोला’ बनाइयो । पूर्वतर्फको खोलालाई ‘सेरा खोला’ भनिन्थ्यो । ‘सेरा’ भनेको लिम्बू भाषामा ‘छरिएर रहेको’ भन्ने हुन्छ । पछि यसैलाई ‘सेउती खोला’ बनाइयो । यस्ता तथ्य प्रमाणहरूबाट पनि यो क्षेत्र विगतमा लिम्बुवानको भूमि रहेको प्रष्ट हुन्छ । यी र यस्तै अन्य धेरै प्रमाणहरूका आधारमा यो प्रदेशलाई लिम्बुवान प्रदेश बनाउनु पर्छ भन्ने दाबी गरिएको हो ।
(लेखकः सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चका महासचिव हुन् ।)