धनकुटाको मूर्तिढुङ्गा गाउँमा यस वर्ष पनि पानी परेन । महालक्ष्मी नगरपालिका–९ को  यो गाउँमा पहिले बर्खे झरी राम्रै लाग्थ्यो, हिउँदे वर्षा हुन्थ्यो । पुस–माघमा हिउँ पथ्र्याे ।

केही वर्षयता साउन, भदौमा पनि पानी पर्न छोडेको छ, हिउँ नपरेरै हिउँद जान्छ । वडासदस्य लक्ष्मण काफ्ले भन्छन्, ‘लेकमा पनि तराईजस्तो सुख्खा छ, मध्य माघमा पनि जाडो भएन ।’

सन् २०१९ मा धनकुटाको अधिकतम् तापक्रम २४.८ डिग्री सेल्सियस थियो, २०२३ आइपुग्दा ६ डिग्री सेल्सियसले बढेर ३०.४ पुगेको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानका मौसमविद् रामबाबु मिश्रका अनुसार यसरी तापक्रम बढ्दै जाँदा वर्षा प्रभावित हुन्छ ।   

पहिला आकाशबाट पानी पर्दा गाउँ रसिलो थियो । काफ्ले गाउँको कुवा, भण्डारी धारा, गैरी धारा, धितालको धाराजस्ता स्रोतबाट गाउँलेलाई पानी पुगेको थियो । १०–१२ घरका बीचमा कुवा थिए, कतै धारा थिए । माङ्माया खोलाको पानीले कुलो चल्थ्यो । धान, मकै र तरकारी खेती हुन्थ्यो । सप्रेको खेतीपाती र पशुपालनले गाउँलेको जीवन सजिलै धानेको थियो ।

अचेल आकाशे पानी पर्न छाडेपछि गाउँका धारा, कुवा सबै सुकिसके । माङ्माया खोलाको मुहान सुकेपछि खेतीपाती हुन छाडेको छ, गोठमा गाईवस्तु छैनन् । चार घण्टा टाढाको लक्ष्मी खोलाबाट पाईपमा ल्याइएको पानीले गाउँलेको तिर्खा त मेटाउँछ, तर सिंचाइका लागि पानी छैन ।

यही अप्ठ्यारोले बसाइँसराई तीव्र बनेको छ । महालक्ष्मी नगरपालिका–९ का वडासदस्य लक्ष्मण काफ्लेका अनुसार मूर्तिढुङ्गाका ५० घर बसाइँ हिँडिसकेका छन् । ‘पानी पर्न छाड्यो, खोलानाला सुके । खेती गर्न र वस्तु पाल्न नसकिने भएपछि बसाइँ हिँड्नेको लर्को लागेको छ’–काफ्ले भन्छन् ।

गाउँलेका अनुभवमा लामो समय वर्षा नहुने र पानीका मुहान सुक्ने समस्या एक्कासि आएको होइन । २०४५ सालको भूकम्पपछि धारा र कुवामा पानी केही घटेको महसुस भएको थियो । यो क्रम बढ्दै जाँदा २०६० सालबाट वर्षा निकै कम हुन थाल्यो । धारा, कुवा सुक्न थाले । माङ्माया खोलामा पानी कम हुन थालेको पनि त्यही बेलादेखि हो । २०७२ सालको भूकम्पपछि भने बाँकी रहेका कुवा र कुलो पनि सुके ।

धनकुटाका चौबिसे, सहिदभूमि छिन्ताङ, साँगुरीगढी, लेगुवा, जितपुरलगायतका गाउँमा पनि यस्तै अवस्था छ । सप्तकोशी नदीमा मिसिने अरुण र तमोरको जलाधार क्षेत्र धनकुटा, तेह्रथुम र पाँचथरका गाउँहरूको पनि साझा समस्या हो यो । यी गाउँहरूमा दुई दशकयता वर्षाको प्रवृत्तिमा ठूलै परिवर्तन आएको छ ।

जल तथा मौसम विज्ञान कार्यालयको तथ्याङ्कबाट थाहा हुन्छ, पाँच वर्षयता धनकुटामा वर्षा कहिले ह्वात्तै बढ्छ त कुनै वर्ष सुख्खा लाग्छ । औसत ९३६.७ मिलिमिटर वर्षा हुने गरेको धनकुटामा सन् २०१९ मा १०७२, २०२० मा १४५४.२, २०२१ मा १२१२.५, २०२२ मा ९१५.१ र २०२३ मा ८२५.८ मिलिमिटर वर्षा भएको थियो ।

त्यस्तै जनवरी महिनामा ११.७ र फेब्रुअरीमा १५.४ मिलिमिटर वर्षा हुनुपर्नेमा सन् २०२४ को जनवरी र फेब्रुअरीमा पुरै सुख्खा लाग्यो । जल तथा मौसम विज्ञान कार्यालय धरानका मौसमविद् रामबाबु मिश्र औसतभन्दा निक्कै बढी वा निक्कै कम पानी पर्नुको कारण जलवायु परिवर्तनको असर भन्छन् । उनी भन्छन्, ‘अतिवृष्टि र अनावृष्टिले पानीको रिचार्ज सिष्टममा प्रभाव पार्छ, त्यसले मूल सुक्ने समस्या देखिएको हुनसक्छ ।’

यस्तै समस्या भोगिरहेका गाउँमध्येमा पर्छ तेह्रथुमको छथर गाउँपालिका क्षेत्र । छथरका वडा नं. ३ मा पर्ने पञ्चकन्या, ४ मा पर्ने फाक्चामारा र ५ मा पर्ने ओख्रेमा पानीको ठूलो समस्या छ । छथर गाउँपालिकामा काम गरेका सव–इन्जिनियर तोया बास्तोला फाक्चामारा, हाक्पारा, बतासे, पञ्चकन्याजस्ता गाउँमा कहिलेकाहीँ लगातार तीन वर्षसम्म पानी नपरेको बताउँछन् । पानी नपरेपछि गाउँका मूल सुकेका छन् ।

सधैँ सुख्खा हुँदा आगलागीका घटना बढिरहेको छ । गएको वैशाखमा पनि तेह्रथुमको पञ्चकन्या सल्लेरी वनमा एक्कासि आगो लाग्दा बारीमा काम गरिरहेका ६० वर्षीया दिलकुमारी भुजेल र उनका छोरा १४ वर्षीय भूपेन्द्र भुजेलको ज्यान गएको थियो । त्यस घटनामा अन्य चार जना घाइते भएका थिए । त्यही घटनामा पूर्व वडाध्यक्ष तुलसीजङ थापाको घर र गोठ जलेको थियो । गाउँमा पानी नहुँदा आगलागीका घटना नियन्त्रण गर्न पनि समस्या छ ।

अहिले प्रदेश सरकारको सहयोगमा छथर गाउँपालिकाले १४ किलोमिटर टाढाबाट पानी ल्याएर खानेपानीको गर्जो त जसोतसो टारेको छ तर, सिंचाइ र गाईवस्तुका लागि पुग्दैन ।

स्थानीय बासिन्दाका अनुसार यस्तो सुख्खा लाग्ने क्रम सुरु भएको दशक नाघिसक्यो । ‘वरपर राम्रै वन छ, जथाभावी निर्माण पनि छैन’ छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू भन्छन्, ‘त्यै पनि सधैँ खडेरी लाग्नुको कारण जलवायुमा आएको परिवर्तन नै हो कि ?’

कुम्मायकको रानीगाउँमा रहेको कुवा गाउँलेहरूका लागि खानेपानीको एकमात्र स्रोत थियो । पानी सुक्न थालेपछि गाउँलेहरूले कुवाको पानीलाई चोरीबाट जोगाउन ढोका बनाई ताला लगाउन थाले । तर, दुई वर्ष अघिदेखि यो कुवालगायत गाउँका कुनै धारामा पानी छैन । पाँचथरका तुम्बेवा र कुम्मायक गाउँपालिका क्षेत्रमा वर्षा नभएको सात महिना भयो ।

मूल सुकेर पानीको हाहाकार भएपछि पाँचथरका सुख्खाग्रस्त क्षेत्रमा सङ्घीय सरकारले ४५ करोड लगानीमा आङ्ना–मौवा बृहत् तमोर लिफ्टिङ खानेपानी आयोजना र ५२ करोड लगानीमा यासोक सुख्खाक्षेत्र तमोर पम्पिङ खानेपानी योजना सञ्चालन गरेको छ भने कोशी प्रदेश सरकारले प्रतिआयोजना ३० देखि ३५ करोड खर्चेर तीन ठाउँमा लिफ्टिङ गरेको छ ।

तर, तमोरबाट बिजुलीले तानिएको महँगो पानी खेतीपाती र गाईवस्तुलाई पु¥याउन सम्भव हुँदैन । यसरी ल्याइएको खानेपानी उपभोक्ताले प्रतियुनिट एक सय रुपैयाँका दरले शुल्क तिर्नुपर्छ । ठूला लिफ्टिङ आयोजनाका लागि विद्युत् महसुल नै मासिक ७ देखि ८ लाखसम्म पर्छ ।

अहिले तमोर नदीले धार परिवर्तन गरेर पानीको सतह घटेपछि लिफ्टिङबाट पनि पर्याप्त पानी आउँदैन । लिफ्टिङ आयोजनाका पम्पले पानीको सट्टा बालुवा तानिदिँदा यासोक आयोजनाका २ वटा पम्प जलेका छन् । आयोजनाबाट पानी खाइरहेका २२ सय घरपरिवारलाई यसले ठूलो समस्यामा पारेको छ ।

लामो समय वर्षा नहुने यो क्षेत्रमा कुनै वर्ष भने अतिवृष्टि हुन्छ र बाढी, पहिरो आउँछ । २०७७ साउनमा तमोरमा आएको बाढीले ठूलो क्षति पु¥याएको थियो । गत असारमा तमोरमा मिसिने हेँवा खोलामा बाढी आउँदा पनि धनजनको क्षति ग¥यो ।

सन् २०२१ मा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जल तथा मौसम विज्ञान विभागले गरेको अध्ययनले सन् २०१२ र सन् २०१८ मा देशका अन्य भागभन्दा पूर्व क्षेत्रमा अत्यधिक खडेरी परेको उल्लेख गरेको छ । विभागका सह–प्राध्यापक विनोद पोखरेल देशभर नै तीन वर्षदेखि कम वर्षा भएको बताउँछन् । ‘तापक्रम वृद्धिका कारण पश्चिमी वायुको प्रभाव कमजोर हुँदै आएकाले वर्षा हुने क्रम कम भएको छ । यसलाई जलवायु परिवर्तनको असरका रूपमा बुझ्न सकिन्छ ।’

किन भयो यस्तो ?
सन् २०१३ मा तमोर आसपासको क्षेत्रमा अध्ययन गरेका जलाधारविद् मधुकर उपाध्याय सुनसरीबाट माथि जाने बादलले भेडेटारसम्म पानी पार्ने तर, गहिरोमा पर्ने तमोर आसपासको क्षेत्रमा पानी नपारी माथि हिलेतिर पुग्ने गरेको बताउँछन् ।
‘तमोर क्षेत्र गहिरोमा पर्ने भएकाले त्यहाँको हावाको तापक्रम फरक हुन्छ । तलबाट गएको बादलले त्यहाँ पानी पार्न सक्दैन’ उनी भन्छन्, ‘भेडेटार र हिलेको बीच भाग प्राकृतिक प्रणालीका कारण पानी कम पर्ने ठाउँ हो, त्यसमाथि अहिले तापक्रम वृद्धिले त्यो समस्या झनै बढाइदिएको छ ।’

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सन् २००९ मा प्रकाशन गरेको कोशी बेसिनका पहाडमा पानीको समस्या बारेको प्रतिवेदनमा कोशी बेसिनका बासिन्दाले लामो समयदेखि अनियमित मनसुन, बाढी र लामो समय वर्षा नहुने जस्ता जोखिम भोग्दै आएको उल्लेख छ । कोशी बेसिनमा तराईका चारसहित जम्मा १८ जिल्ला समेटिएका छन् ।

जलवायु विश्लेषक ङमिन्द्र दाहाल तमोरमा जस्तै लामो समय वर्षा नहुने र पानीका मूल सुक्ने समस्या सिन्धुली र रामेछापमा पनि देखिएको बताउँछन् । राष्ट्रिय योजना आयोगले सन् २०१६ मा गरेको राष्ट्रिय जलवायु परिवर्तन प्रभाव सर्वेक्षण प्रतिवेदनमा ७४.२९ प्रतिशत घरपरिवारले पानीका स्रोतहरूमा परिवर्तन भएको देखेको र ८४.४७ प्रतिशतले स्रोतमा पानीको मात्रा घटेको महसुस गरेको उल्लेख छ ।

अमेरिकी सहयोग नियोग ‘यूएसआईडी’ को सहयोगमा ‘वातावरणका लागि युवा सञ्जाल’ ले कर्णाली र आसपासका जलाधार क्षेत्रका ४ हजार २ सय २२ वटा पानीका मूलमा गरेको अध्ययनपछि वि.सं.२०७५ सालमा सार्वजनिक प्रतिवेदनअनुसार ७० प्रतिशतभन्दा बढी मुहानहरूमा पानी घटेको पाइएको थियो ।
त्यस्तै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र नेपाल पानी सदुपयोग फाउन्डेसन (एनडब्लूसीएफ)ले पहाडी क्षेत्रमा पर्ने तीन सय स्थानीय तहमा गरेको दुई वर्षअघि सार्वजनिक अध्ययन प्रतिवेदनमा ७४ प्रतिशत स्थानीय तहमा पानीका मूल सुक्ने र ५८ प्रतिशत मूल सर्ने समस्या देखिएको उल्लेख छ ।

त्यसमध्ये सबैभन्दा बढी चुरे क्षेत्रमा ७९ प्रतिशत, हिमाली क्षेत्रमा ६४ प्रतिशत र पहाडीक्षेत्रमा ४६ प्रतिशत पाइएको प्रतिवेदनमा उल्लेख छ । अध्ययनले जलवायु परिवर्तनलाई पनि मूल सुक्ने एक कारकका रूपमा औंल्याएको छ । त्यसबाहेक जथाभावी सडक निर्माण, भूकम्प र वन फँडानीलाई पनि कारण देखाइएको छ । तीव्र गतिमा पानीका मुहानहरू सुक्दै जाँदा हिमाली समुदायका धेरै मानिसहरूको जनजीविकामा समेत असर परेको पनि उक्त अध्ययनमा उल्लेख छ ।

यो अध्ययनमा समेत संलग्न जलवायु विश्लेषक दाहाल वर्षाको शैली परिवर्तन हुँदा मूल सुक्ने र त्यसले समग्र जीवनशैलीलाई प्रभाव पार्ने बताउँछन् । उनी भन्छन्, ‘सुख्खा भएपछि मान्छेले खेती गर्न छाड्छन् । पहाडमा खनजोत हुन छाडेपछि पानी जमिनभित्र जान पाउँदैन, बाहिर बाहिर कुद्छ । यसरी रिचार्ज हुन नपाएपछि पानीका स्रोतहरू थप सुक्छन् ।’
(यो रिपोर्ट ‘कम्युनिकेटिङ क्लाइमेट’ कार्यक्रमको सहयोगमा तयार पारिएको हो ।)