नेपालमा चार किसिमका रात्रिहरूलाई महत्वपूर्ण रात्रिको रूपमा लिइन्छ । यी चार रात्रिहरूको आ–आफ्नै धार्मिक महत्व पनि रहेको पाइन्छ । ती रात्रिहरू हुन्ः मोहरात्रि, सुखरात्रि, कालरात्रि र शिवरात्रि । आज तिथिअनुसार शिवरात्रि पर्व हो । प्रत्येक वर्षको फागुन कृष्ण चतुदर्शीका दिन शिवरात्रि मनाउने गरिन्छ । हुन त चतुर्दर्शी तिथिका स्वामी शिव हुन् । यसैले ज्योतिष शास्त्रमा यस तिथिलाई परम् शुभ फलदायी तिथिका रूपमा मानिएको छ । यस हिसाबले हरेक महिनाको चतुर्दशीका दिन शिवरात्रि पर्ने गर्दछ तर, फागुन कृष्णपक्षको चतुर्दशी तिथिलाई सबै शिवरात्रीहरूमध्ये विशेष भएकोले यसलाई महाशिवरात्रिका रूपमा लिइन्छ र धुमधामकासाथ शिवरात्रि पर्व मनाइन्छ । ज्योतिषीय गणनाअनुसार सूर्यदेव पनि यस समयसम्म उत्तरायणमा आइसकेका हुन्छन् र ऋतु परिवर्तनको यो समय अत्यन्त शुभ मानिन्छ । शिवको अर्थ कल्याण हो । शिव सबैको कल्याण गर्ने देवता हुन् ।

आजैका दिन शिवजीको उत्पत्ति भएकोले शिवरात्रि मनाउने गरिएको पनि विश्वास गरिन्छ । शिवजी र पार्वतीको विवाह आजैका दिन भएकाले पनि शिवरात्रि पर्व मनाउने गरेको भनाइ पनि पाइन्छ । शिवजीलाई रुद्र, शङ्कर, महादेव, नीलकण्ठ, भोलेबाबा, आशुतोष आदि नामले पनि पुकारिन्छ । आज उनै शिवजीको  श्रद्धापूर्वक ब्रत बस्ने, पूजाआजा गर्ने गरिन्छ । पौराणिक कथनअनुसार संसारको सृष्टिकर्ता ब्रह्मा, पालनहार भगवान् विष्णु तथा संहार तथा कल्याणकर्ता भगवान् महादेव अर्थात् भगवान् शिवलाई मानिन्छ । माघ महिनामा संहारकर्ताको रूपमा रुद्रको प्रभावबाट रुख बिरुवा, झारपात पत्रविहीन भई जीर्णशीर्ण भएको तिनै वनस्पतिलाई उनै महादेव अर्थात् कल्याणकारी शिव तत्वबाट फागुन महिनामा रुख बिरुवा तथा झार पातहरू पलाउने भएकोले यसै महिनामा शिवरात्रि पर्व मनाउने गरिएको जनविश्वास रहेको पाइन्छ ।

शिवरात्रि पर्वलाई महाशिवरात्रि पनि भनिन्छ । आजको दिनमा काठमाडौंस्थित श्री पशुपतिनाथको मन्दिरमा श्रद्धालु भक्तजनहरूको निकै भीड हुन्छ । यहाँ मेला नै लाग्दछ । यहाँ विदेशी भक्तजनहरूको पनि निकै उपस्थिति हुने गर्दछ । साधुसन्तहरू पनि अन्य बेलामा भन्दा आज धेरै सङ्ख्यामा हुन्छन् । आजका दिन अधिराज्यभरका शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको निकै भीड हुने गर्दछ । सबै स्थानका शिवालयहरूलाई आज आकर्षक ढङ्गले सजाइएका हुन्छन् । धरानस्थित पिण्डेश्वर बाबाधाममा पनि भक्तजनहरूको निकै घुइँचो हुने गर्दछ भने झापाको अर्जुनधारा तथा खोटाङको हलेसी महादेव मन्दिरमा पनि श्रद्धालु भक्तजनको अत्यन्त भीड हुने गर्दछ । आजको दिन मन्दिर परिसरमा भएको पूजापाठ, विभिन्न मन्त्रोच्चारण, शङ्ख घण्टको आवाजले वातावरणलाई अत्यन्त मनमोहक बनाएको हुन्छ ।

आजको दिन बिहानै नुहाइधुवाइ गरी शुद्ध भई शिवजीको पूजापाठ गर्ने, भजन गर्ने, दान धर्म गर्ने गरिन्छ । भक्तजनहरूले शिवालयमा अखण्ड दीप, महादीप गरी दीपोत्सवका साथ बेलपत्र शिवजीलाई अर्पण गर्दछन् । शिवजीको ब्रत बस्नेहरूले अघिल्लो दिन अर्थात् फागुन त्रयोदशीका दिन एक छाक मात्र खाई वा विधि विधानअनुसार ब्रत बस्ने तथा चतुर्दशीका दिन कालो तिल आदिले स्नान गरी एक प्रहर वा प्रत्येक प्रहर शिवजीको षोडशोपचारले पूजाआजा गर्दछन् र शिवजीलाई अत्यन्त मन पर्ने धतुरो, बेलपत्र आदि चढाउने गर्दछन् भने कोही धुनी बालेर रातभर जाग्राम बस्ने पनि गर्दछन् । जाग्रामको अवसरमा कोही भजन कीर्तन गर्ने हुन्छन् भने कोही नाचगान गर्ने गर्दछन्् ।

शिवरात्रिको दिनमा केटाकेटीहरू ‘महादेवलाई जाडो भयो दाउरा देऊ देऊ, दाउरा छैन भने पैसा देऊ देऊ’ भन्दै घरघरमा माग्दै हिँड्छन् । शिवरात्रिको दिन घरअगाडि धुनी बाली आगो ताप्ने प्रचलन छ । यसबाट चिसोले दुखेका जिउ ठीक हुने र यस दिनपछि गर्मी सुरु हुने विश्वास गरिन्छ । बालेको आगोमा हलुवा पकाउने, आलु पोल्ने, मकै भटमास भुट्ने पनि गरिन्छ । यी खाद्यान्नलाई प्रसादको रूपमा बाँडीचुँडी खाने प्रचलन पनि रहेको पाइन्छ । शिवरात्रि पर्वको महŒवबारे ‘लिङ्ग पुराणे महादेव वचन’ भनी यस्तो कुरा उल्लेखित छः  ‘फागुन कृष्णत्रयोदशीका दिन स्नानादि कार्य गरी ब्रतोपवास बसेर त्यस दिन राति जाग्राम बस्ने र त्रयोदशी सिद्धिई चतुर्दशी लाग्नासाथ श्री महादेव र शिवलिङ्ग परिक्रमा गरी अर्घ दिने अनि शिवरात्रिको दिन पनि जाग्राम बसी होम गर्नाले सर्वसिद्धि लाभ हुन्छ ।’ हिन्दुहरूको बाक्लो उपस्थिति भएको विभिन्न देशमा शिवरात्रि मनाइने गरिन्छ । अझ शैव धर्मप्रति आस्था राख्ने श्रद्धालु भक्तजनका लागि त यो ठूलो पर्व हो । भारतको विभिन्न ठाउँलगायत वाराणसी र सोमनाथ मन्दिरमा भक्तजनको ठूलो भीड लाग्छ । तमिलनाडुमा त आजको दिन ठूलै मेला लाग्ने गर्दछ । पाकिस्तानमा पनि हिन्दुहरूको उपस्थिति रहेको छ । त्यहाँका भक्तजनहरू पाकिस्तानस्थित उमरकोट शिव मन्दिर पुग्ने गर्दछन्, शिवजीको पूजाआजा गर्दछन् ।

नुहाउनु स्वस्थताको परिचय दिनु हो । यस दिन नुहाइधुवाइ गर्नाले शारीरिक स्वच्छता तथा निरोगिता पाउन सकिन्छ भने यस दिनको ब्रत उपासनाले शरीरको पाचन तन्त्रलाई फाइदा पु¥याउन सकिन्छ । त्यस्तै स्वदेशी विदेशी भक्तजनको धार्मिक यात्राले धार्मिक पर्यटनको विकास गर्न सकिन्छ । नेपालको नाम विदेशमा फैलाउन पनि सकिन्छ । त्यस्तै एक दिनको पर्व उत्सवबाट तरोताजा हुने अवसर पनि प्राप्त हुन सक्दछ । यसरी पर्वबाट हामीले फाइदा पनि लिन नसक्ने होइन । अपवादस्वरूप कतिपय असामाजिक तत्वहरूले यस्तै भीडभाडको फाइदा उठाई पैसा, मोबाइल चोरी गर्ने, सुनको सिक्री लुट्ने आदि जस्ता निषेधित क्रियाकलाप गर्ने गरेको पनि पाइन्छ । कोही भने शिवजीको प्रसाद भनेर गाँजा, भाङ, धतुरो आदिको सेवन गर्ने गर्दछन्, जुन राम्रो भने अवश्य होइन । त्यसैले श्रद्धालु भक्तजनहरू मन्दिर जाँदा वा भीडभाडमा रहँदा अत्यन्त होसियार हुनु अति आवश्यक पर्दछ । 

आज नेपाली सेना दिवस पनि हो । नेपालको इतिहास केलाउने हो भने पौराणिककालमा यहाँ गोपालवंश, महिषपालवंश, किरात वंश तथा लिच्छवी वंशले शासन गरेको पाइन्छ । एक ठाउँदेखि अर्को ठाउँमा आक्रमण गर्ने, राज्य कब्जा गर्ने, आफ्नो राज्यको विस्तार गर्ने जस्ता महत्वपूर्ण कामहरू पनि भइरहन्थे । यसबाट पनि नेपाली सैनिकहरू त्यतिबेलादेखि नै निकै पराक्रमी थिए भन्ने बुझिन्छ । विश्वयुद्धदेखि गृहयुद्धसम्म देशलाई अप्ठेरो परेको बेलामा सेनाको सक्रियता देखिएको छ । भूकम्प होस्, कुनै दुर्घटना वा प्राकृतिक प्रकोप वा बाटोघाटो निर्माणको काममा समेत सेना अघि बढेको पाइन्छ । त्यति मात्र नभएर वैदेशिक शान्ति सैनिकका रूपमा नेपाली सेना सर्वत्र चर्चामा छ । हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाइन्छ । यसको सुरुवात सन् १९३५ देखि भएको बताइन्छ । आजका दिन नेपाली सेनाले  काठमाडौंस्थित टुँडिखेलमा विशेष कार्यक्रम र परेड प्रदर्शन गर्दछ । यस प्रदर्शनमा राष्ट्रपतिदेखि प्रधानमन्त्री तथा उच्च ओहदाका व्यक्तित्वहरूको पनि उपस्थिति रहने गर्दछ भने सामान्य दर्शकहरूको पनि बाक्लो उपस्थिति हुने गर्दछ । महाशिवरात्रिको अवसरमा सबैमा शुभकामना !