इटहरी । सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालयले कार्यालय परिसरमा बिचौलियालाई प्रतिबन्ध लगाएको छ । लाइसेन्स नवीकरणदेखि साना–साना फारम भर्न पनि बिचौलियाले दुःख दिने गरेको सेवाग्राहीहरूले गुनासो गरेपछि कार्यालय परिसरमा बिचौलिया प्रतिबन्ध गरिएको हो ।

कार्यालय इटहरी–विराटनगर रोडस्थित नयाँ भवनमा सरेलगत्तै कर्मचारीहरूसँग छलफल गरी बिचौलिया प्रवेश निषेध गरिएको यातायात व्यवस्था कार्यालय चालक अनुमति–पत्रका प्रमुख टङ्क प्रसाईंले बताए । यातायातको चालक अनुमति–पत्रसँगै सवारी दर्ता कार्यालयमा पनि बिचौलिया निषेध गरिएको हो । दुवै कार्यालयमा बिचौलिया निषेध गरेपछि अहिले यातायातको सेवा पनि चुस्त दुरुस्त बनाइएको चालक अनुमति–पत्रका प्रमुख प्रसाईं बताउँछन् । विगतमा एउटा काम सक्न सेवाग्राहीलाई ४५ मिनेटदेखि एक घण्टा लाग्थ्यो भने अहिले १५ देखि २० मिनेटमै सबै काम सकेर फर्किने गरेको प्रमुख प्रसाईं बताउँछन् । सुनसरी दुहबीबाट लाइसेन्स नवीकरणका लागि आएका रहमान मन्सुरीले कार्यालयको भवन घुम्दाघुम्दै काम सकिएको बताए ।

‘पहिला त ढोकामै २ सयदेखि १ हजार रुपैयाँसम्म बार्गेनिङ हुन्थ्यो अहिले सुनसान जस्तो देखियो’–उनले भने । त्यस्तै इटहरीका रोशन अधिकारी लाइसेन्सको राजस्व दाखिला गर्न कार्यालय पुग्दा अनौठो महसुस गरेको बताए । नयाँ भवनमा सरेपछि कार्यालयको सेवा प्रभावकारी रहेको सुनाए । ‘बिचौलिया प्रतिबन्ध लगाइएछ; राम्रै भयो’–उनले भने । अहिले यातायात कार्यालयको मूल गेटमै २ जना सुरक्षा गार्ड तैनाथ गरिएको छ । उनीहरूले सबै डकुमेन्ट चेकजाँचपछि मात्रै भित्र प्रवेश गर्न दिने गरेका छन् ।

कसैले साथी भनेर लिएर भित्र लगे पनि उनीहरूको चालचलनबाट बिचौलिया हो या हैन भन्ने थाहा भइहाल्ने कार्यालय प्रमुख प्रसाईं बताउँछन् । यसैबीच यातायात व्यवस्था कार्यालय चालक अनुमति–पत्रमा चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म लाइसेन्स लिनेहरूको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्षको ७ महिनामा सो कार्यालयबाट १६ हजार ९५ नयाँ लाइसेन्स जारी गरी वितरण गरिएको बताएको छ । कार्यालयले साउनमा मात्रै ३ हजार ३ सय २६ नयाँ लाइसेन्स जारी गरी वितरण गरेको छ भने भदौमा दुई हजार ६ सय ६७, असोजमा दुई हजार ७ सय ६३, कात्तिकमा एक हजार २ सय ६, मङ्सिरमा दुई हजार २ सय ३२, पुसमा दुई हजार ४ सय ६८ र माघमा २ हजार २ सय ४२ लाइसेन्स वितरण गरेको जनाएको छ । सवारी चालक अनुमति–पत्रमा उल्लेखनीय सहभागिता जनाएको कार्यालयको राजस्व सङ्कलनमा भने गिरावट देखिएको छ । सो कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा १० करोड ३७ लाख ८२ हजार ५ सय राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयको वार्षिक राजस्व सङ्कलन २२ करोडमाथि उल्लेख गरिएको छ । गतवर्ष यही सात महिनाको अवधिमा कार्यालयले १३ करोड ७० लाख राजस्व सङ्कलन गरेको थियो ।

यता यातायात व्यवस्था कार्यालय सवारी दर्तामा भने उल्लेखनीय राजस्व सङ्कलन भएको सो कार्यालयले जारी गरेको प्रगति विवरणले जनाएको छ । सवारी दर्ता कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा ६४ करोड ८५ लाख ४८ हजार ८ सय ४१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो राजस्व सङ्कलनलाई कार्यालयले उल्लेखनीय प्रगतिको रूपमा हेरेको छ । यातायात व्यवस्था कार्यालय सवारी दर्ताका प्रमुख राजकुमार गुप्ताका अनुसार सङ्कलित राजस्व अनुमानितभन्दा बढी रहेको बताए । अघिल्लो आर्थिक वर्षको यही सात महिनामा ६३ करोड ८९ लाख राजस्व सङ्कलन गरेकोमा यो वर्ष ६४ करोड रुपैयाँ सङ्कलन हुनु कार्यालयको सेवामा प्रगति देखिएको प्रमुख गुप्ताले बताए ।

त्यस्तै सो कार्यालयले सात महिनाको अवधिमा साना तथा ठूला गरी ९ हजार ५ सय २६ सवारी साधन दर्ता गरेको जनाएको छ । सवारी दर्ताबाटै सो परिमाणको राजस्व सङ्कलन गरेको प्रगति विवरणमा उल्लेख गरिएको छ । विवरणअनुसार चालु आर्थिक वर्षको ७ महिनामा यात्रुवाहक बस ६०, मिनीबस २, माइक्रो ५, जिप ४, पिकअप २, ई–रिक्सा १ हजार २ सय ३२, मोटरसाइकल ३ हजार ९ सय ६५, स्कुटर ३ हजार ६ सय ६२, ई–स्कुटर २ सय ६६, टिपर १५, ट्रक २७ लगायत अन्य गरी चालु आ.व.को सात महिनामा नौ हजार ५ सय २६ सवारी साधन दर्ता गरिएको कार्यालयले जनाएको छ ।