गतवर्ष फागुन १५ गते गठबन्धनबाट बाहिरिएको नेकपा (एमाले) फेरि गठबन्धनमा जोडिन आइपुगेको छ । छिनका छिनमै राजनीतिक परिवर्तन हुनु र एकपछि अर्को गठबन्धनमा जोडिँदै जानुले नेपालको राजनीति सत्ता स्वार्थसँग मात्रै सीमित छ भन्ने पुष्टि गर्छ । यसको सबैभन्दा केन्द्रमा छन्, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । उनको वरिपरि अन्य दलहरु समाहित हुँदै गइरहेका छन् । ३२ सिट ल्याएको माओवादी ‘रानो मौरी’ जस्तो भएको छ । अरु उसैका पछाडि लागिपरेका छन् । राजनीतिक लडाइँ, दाउपेच, मतभिन्नता, कटाक्षले नेपाली राजनीति स्खलित हुँदै गएको छ । अझ संसारमै नभएको चुनावअघि नै गठबन्धन गर्ने प्रवृत्तिले त जग नै हँसाएको छ । भारतीय राजनीतिको पटाक्षेप यहाँ देखिने गरेको छ । यो प्रवृत्तिले अन्ततः नेपाल र नेपालीका लागि भन्दा पनि स्वार्थका निम्ति लामो लडाइँमा छन् भन्ने प्रष्टिन्छ । सबैले आ–आफ्नो स्वार्थसिद्धि गर्नका लागि तत्पर छन् । नेकपा (एमाले) को आफ्नै स्वार्थ छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको आफ्नै स्वार्थ । अर्कोतिर जनता समाजवादी पार्टीको पनि आफ्नै स्वार्थ । सबैको केही न केही स्वार्थले गर्दा नेपाली राजनीतिको फोहोरी खेलबाट जनता आजित हुँदै गएका छन् । यसतर्फ भने अहिलेका राजनीतिक दलहरुले सोच्न सकेको देखिँदैन । जनताभन्दा माथि आफ्नो स्वार्थलाई राखेका छन् । जबकि लोकतन्त्रमा जनता नै सर्वोपरि हुन्छन् । जनता जनार्दन हुन् । तर, यतातिर कसैको ध्यान जान सकेको देखिँदैन ।

स्वार्थको लडाइँले नेपाली राजनीति विकृत भइसकेको छ । त्यसैकारण पनि अहिले पश्चगामी शक्तिहरुले टाउको उठाउने मौका प्राप्त गरिरहेका छन् । राजनीतिको फोहोरी खेलकै कारण जनता पुनः राजा नै ठीक भन्ने पक्षमा पुग्दै गइरहेका छन् । दुर्गा प्रसाईंजस्ता व्यक्तिहरुको पक्षमा ‘मास’ उर्लिरहेको छ । एवम् रीतले अगाडि बढेमा राजाको पक्षमा, दुर्गा प्रसाईंजस्ता व्यक्तिको पक्षमा मानिसहरु लाग्नेछन् । यसको सम्पूर्ण दोष राजनीतिक दलहरुले नै बोक्नुपर्ने छ । दलीय भागबण्डाले देशलाई खोक्रो बनाइसकेको अवस्था छ । एकपछि अर्को गठबन्धनको समीकरण गर्दै भागबण्डा गर्ने काम मात्रै गरिरहेका छन् । मन्त्री फेर्ने माध्यम मात्रै बनिरहेको छ । यसले जनतालाई हित गरिरहेको छ कि छैन भन्ने विषयमा कत्ति पनि सोचिएको देखिँदैन । नेपाली राजनीति नै विडम्बना हो भन्ने सोच जनतामा पलाइसकेको छ । यो हुनु लोकतन्त्रका लागि न्यायोचित होइन । राजनीतिक दलहरुले नै लोकतन्त्रको धज्जी उडाइरहेका छन् । गठबन्धनको उलटफेरले कसलाई फाइदा गरिरहेको छ । २००७ सालदेखि आजसम्म आइपुग्दा नेपालीहरुले अनेकन तन्त्रहरु देखे, भोगे । राजतन्त्रदेखि एकदलीय व्यवस्थासम्म । अहिले लोकतन्त्रको अभ्यास चलिरहेको छ तर, जनता यसप्रति सन्तुष्ट देखिएका छैनन् । यसले पनि नेपाली राजनीति विकृत भइरहेको आभाष पाउन गाह्रो पर्दैन । अहिले जनता राजाको पक्षमा छन् । यो हुनु नौलो होइन । धेरैवटा राजा पाल्नुभन्दा एउटा राजा ठीक भन्ने सोच विकास हुँदै गइरहेको छ । यो सबै हुनुको पछाडि राजनीतिक दलहरुले देखाएको प्रवृत्ति पनि हो ।

नेपाली राजनीतिमा भएका सबै गठबन्धनहरु सत्ता स्वार्थका निम्ति भनिरहनु परेन । अहिलेको गठबन्धन होस् वा पहिलेको गठबन्धन । यो देश र जनताको हितको निम्ति छ भन्ने ठान्नु मूर्खता सिवाय केही होइन । मन्त्रिपरिषद् गठन गर्नुपूर्व नै मालदार मन्त्रालयको लागि गरिएको बार्गेनिङले नै देशको जनताको लागि काम गरिएको हो भन्ने देखिँदैन । नयाँ गठबन्धन पनि सत्ता लिप्साका लागि गरिएको हो । नेपाली राजनीतिकका लागि विडम्बना नै भन्नुपर्छ । २०६३ पछिको राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने नेपाली राजनीतिकका लागि राम्रो सङ्केत छैन । देश ऋणमा चुर्लुम्म डुबेको छ । विप्रेषणले देश चलेको छ । विश्व बैङ्क, एसियाली विकास बैङ्कलगायतबाट ऋण लिएको लिएकै अवस्था छ । पुँजीगत खर्चभन्दा बढी चालु खर्च छ । करिब १८ खर्बको बजेटमा चालु खर्चको अवस्था धेरै हुनुले के सङ्केत गरिरहेको छ ? पक्कै पनि यो राम्रो सङ्केत हुँदै होइन । अर्कोतिर, पुँजीगत खर्च करिब २६ प्रतिशतभन्दा बढी भएको अवस्था छैन । चालु आर्थिक वर्षको एकतिहाइ समय अवधि पूरा हुँदा पुँजीगत खर्चको अवस्थाको विद्रुप रुपले हामीलाई कहाँ पु¥याउँदैछ । यो सबै स्थायी राजनीति नहुँदाको परिणाम हो । यसका लागि जनता सचेत हुन आवश्यक छ ।