विजयपुर । वराह बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूबीच नै विवाद उत्पन्न भएको छ ।

बिहीबार आफ्नो निक्षेप रकम र जग्गाका विषयमा छलफल गर्न जम्मा भएका पीडितहरूबीच नै विवाद उत्पन्न भएको हो । वराहले बचत रकम फिर्ता र जग्गा खरिदका लागि अनिवार्य पासबुकसहित उपस्थित हुन सूचना जारी गरेपछि बिहीबार धरान–८ स्थित वराहको कार्यालयमा तीन सय हाराहारीमा बचतकर्ता जम्मा भएका थिए । निक्षेपकर्ताले जग्गा लिँदा ५० प्रतिशत थप रकम तिर्नुपर्ने वराहको शर्त रहेको छ । वराहको यो शर्तका कारण पनि विवाद उत्पन्न भएको छ ।

सहकारी संस्थाका बचतकर्ता भूपू लाहुरे र पीडित सम्मिलित वराह व्यवस्थापन समन्वय तथा अनुगमन समिति र वराह पीडित बचतकर्ता समूहबीच जग्गा लेनदेन तथा सहकारीको जग्गा सम्पत्ति रोक्काका विषयमा मतान्तर हुँदा चर्काचर्की भएको थियो । उनीहरूले एक–अर्कामा दोषारोपण गरेका थिए । भूपू समिति सम्बद्ध व्यक्तिहरूले वराह सहकारी सञ्चालन गरे मात्र निक्षेप रकम फिर्ता हुन सक्ने बताउँदै वराहको सम्पत्ति फुकुवा गर्न अर्को पक्षलाई अनुरोध गरेका थिए ।

विवादपछि छलफल कार्यक्रम अस्त–व्यस्त बनेको थियो । त्यसपछि धरान–२ का वडाध्यक्ष रमेश राईले आफै माइक्रोफोन तानेर वराह सहकारी सञ्चालनका लागि विभिन्न निकाय पुगेको बताए । उनले वराहसँग आबद्ध नभएका व्यक्तिहरूले सञ्चालनमा बाधा पु¥याइरहेको बताएका थिए । वराह सञ्चालन भएमात्र निक्षेप रकम फिर्ता हुने र त्यसका लागि सबैले सकारात्मक भूमिका खेल्नुपर्ने उनले बताए ।

उनले सहकारी पीडित सङ्घर्ष समितिका कुशलभ केसीलाई वराहको सम्पूर्ण सम्पत्ति जिम्मा लिन चुनौती दिए । आफ्ना कुरा राखेर वडाध्यक्ष राई हिँडेपछि छलफल झनै अव्यवस्थित बन्यो । एक सहकारी पीडितले आफ्नो पनि कुरा सुन्नुपर्ने बताउँदै भने, ‘मेरो एक करोड रुपैयाँ फसेको छ । त्यतिको जग्गा दिनुस्, पास खर्च कति लाग्छ दिन तयार छौँ । तर, पीडित भन्नेहरू नै पीडितकै विरुद्धमा बोल्दैछन् ।’

वराह व्यवस्थापन समन्वय तथा अनुगमन समितिलाई समर्थन गरेका पीडितहरूले भने आफ्नो लगानी फिर्ता गर्न समितिको शर्तअनुसार नै जग्गा लिने बताएका थिए । पीडितबीच नै मत बाझिएपछि केहीबेर माहोल तनावग्रस्त बन्यो । छलफलमा उपस्थित प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । वराह सहकारीले धरान–८ र धरान–१२ को कार्यालयमा काउण्टर नै स्थापना गरी जग्गा कारोबारीहरूले जग्गा दिँदै आएका छन् ।

जेसिका कन्स्ट्रक्सन एण्ड रियल स्टेट प्रा.लि.ले चलन चल्तीभन्दा महँगो दाममा पीडितलाई जग्गा बेचिरहेको छ । समन्वय समितिले पीडितले लिएको जग्गा पाँच वर्षभित्रमा बिक्री नभएमा जेसिका नामक रियल स्टेट कम्पनीले खरिद गर्ने गरी समझदारी भएको बताएको छ । सहकारी पीडित अर्का पक्षका पुकार शाक्यले कार्यक्रममा सहकारीले निक्षेप रकम बराबरको जग्गा दिनुपर्ने बताए । उनले भने, ‘अहिले सञ्चालकले बोल्ने कुरा भूपू समितिका मान्छेले बोलिरहेका छन् ।’

उनले आफूहरूले मात्र वराहको सम्पत्ति रोक्का नगरी काठमाडौंका पीडित तथा नगरपालिकाले नै रोक्का गरेको बताए । उनले वराह इण्डष्ट्रिज प्रा.लि. का अध्यक्ष शिवकुमार लामिछानेकी श्रीमती रिना राईले अंश चलन मुद्दामा धेरै ठाउँमा जग्गा रोक्का गरेको बताए । रिना राईले जग्गा रोक्का गरेको प्रमाणसमेत ब्लाष्टले प्राप्त गरेको छ । उनले चार वर्षअघि नै रिनाले जग्गा रोक्का गरेको समेत बताए ।

सहकारीका सञ्चालक मानबहादुर विश्वकर्माले पीडितले रकम नै लिन चाहे सात वर्षभित्रमा रकम तिरिसक्ने बताए । उनले वराहले स्थानीय सरकार र मन्त्रालयमा समेत वराह सञ्चालन गर्ने र तिर्नुपर्ने दायित्व सात वर्षभित्रमा पूरा गर्ने कार्ययोजना पेश गरेको बताए । उनले पीडितहरूलाई धैर्य गरिदिनसमेत आग्रह गरे । सञ्चालक विश्वकर्माले रियल स्टेट व्यवसायीको सहयोगमा दायित्व फिर्ता गर्ने काम अघि बढाएकाले इच्छुकलाई सो प्रक्रियामा सहभागी हुन पनि अनुरोध गरे । प्रचलित मूल्यभन्दा बढी मूल्य भएमा जग्गा नलिनसमेत अनुरोध गरे । उनले स्थानीय सरकारलाई ५ अर्ब रुपैयाँको सम्पत्ति विवरण बुझाएको बताए । वराहले १ सय ६५ करोड मात्र ऋण लिएको पनि बताए ।

barah1