धरान । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विविधता नै पहिचान भएको बताएका छन् ।

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगअन्तर्गत आमसञ्चार समितिद्वारा सोमबार धरानमा आयोजित ‘स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा पत्रकारको भूमिका’ विषयक एक दिने कार्यशालामा बोल्दै राष्ट्रिय आयोगको कार्यकारिणी समितिका अध्यक्षसमेत रहेका मन्त्री राईले दुनियाँलाई गतिशील बनाउनका लागि सबै विचारहरू र सबै सम्पदाहरूलाई संरक्षण गरेर जानुपर्नेमा जोड दिए । उनले भने ‘जसलाई हामी विविधता भन्छौं त्यही हो पहिचान । मलाई त नेपाली राजनीतिमा पहिचानवाला भन्छन् ।’

मन्त्री राईले दुनियाँलाई गतिशील बनाउनका लागि सबै विचारहरू र सबै सम्पदाहरूलाई संरक्षण गरेर जानुपर्ने बताए । उनले भने, ‘त्यसैकारण हामीलाई प्रजातन्त्र, गणतन्त्र, सङ्घीयता चाहिएको हो । सङ्घीय गणतन्त्रको भावभूमि, सैद्धान्तिक पृष्ठभूमि आवश्यकता त्यसै कारणले हो ।’ संसारभरिका मूल्यवान सांस्कृतिक निधिहरु सभ्यताका स्तम्भहरू सबैको सूचीकरण गर्नेमात्र होइन, तिनको बारेमा अनुसन्धान गर्ने काम युनेस्कोले गर्ने मन्त्री राईले बताए । आमसञ्चारलाई जिम्मेवार, अनुशासित, कर्तव्यनिष्ठ, सेवामूलक बनाउने सन्दर्भमा युनेस्कोको ठूलै भूमिका रहेको राईले बताए ।

मन्त्री राईले सम्पदा जोगाउनेमात्रै नभएर विकास गर्नुपर्ने बताए । ‘आज हामी ग्लोबलाइजेसनको जमानामा छौँ, आधुनिकतालाई नअपनाएर पनि भएको छैन । आधुनिकता अपनाउँदा विविधता मासिएला कि भन्ने चिन्ता हुन्छ ।विविधतासहितको आधुनिकतातर्फ हामी उन्मुख हुनुपर्नेछ’–मन्त्री राईले भने । सम्पदा जोगाउने विषय राज्यको टाउको माथिमात्र राखिदिएर नहुने उनले बताए । ‘यो जिम्मेवारी प्रत्येक असल र सचेत नागरिकको हो’–मन्त्री राईले भने ।

‘स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा पत्रकारको भूमिका’ विषयक कार्यशालामा पत्रकार र सरोकारवालाले सांस्कृतिक सम्पदामाथि प्रस्तुत तीन प्रस्तुतीकरणमाथि छलफल गरेका छन् । चोमोलुङ्मा युनेस्को केन्द्रका अध्यक्ष हरिवंश किरातले सम्पदा र युनेस्को विषयक प्रस्तुतीकरण गरेका थिए । यस्तै युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगअन्तर्गत आम सञ्चार समितिकी संयोजक नम्रता शर्माले स्थानीय संस्कृति र सम्पदाको संरक्षणमा आमसञ्चारको भूमिका विषयक प्रस्तुतीकरण गरेकी थिइन् । राष्ट्रिय आयोगका उपमहासचिव रामेश्वरप्रसाद यादवले युनेस्को र आयोगको इतिहास, युनेस्कोका आदर्श, उद्देश्यहरू, आमसञ्चारको भूमिका, स्थानीय सम्पदाको विविधता, सांस्कृतिक, संरक्षणका उपायहरूको खोजी, आमसञ्चारले संस्कृति संरक्षणमा गर्न सक्ने कार्यहरू र सम्पदा के हो ? भन्ने विषयमा प्रकाश पारेका थिए ।

प्रस्तुतीकरणमाथि पत्रकार गोपाल देवानले टिप्पणी गरेका थिए । उनले विकास निर्माणको मोडल सम्पदा मास्ने किसिमको रहेको बताए । सम्पदा मास्ने विकास निर्माणको मोडलले देखिने, नदेखिने राष्ट्रिय गौरव, पहिचान, सभ्यता र अस्तित्व खत्तम हुने बताए ।

हाल मुलुकमा सम्पदा विलोपीकरणको अवस्थामा पुगेको बताए । उनले स्थानीय सम्पदा जोगाउन जोखिम रहेको बताउँदै ठोस नीति र ऐनकानूनको अभाव, खुल्ला अतिक्रमण, अतिक्रमणमा सरकार नै लागेको, विकासका नाममा सांस्कृतिक भूमिबाट आदिवासी विस्थापित हुँदा सम्पदा नै विस्थापित हुने अवस्था आएको बताए । वरिष्ठ पत्रकार हर्ष सुब्बाले पछिल्लो समय सञ्चारकर्मीले खोज अनुसन्धान गरेर सांस्कृतिक सम्पदाको समाचार सङ्कलनमा ध्यान नदिएको बताए । उनले सञ्चारकर्मीले सम्पदा संरक्षणका विषयमा कलम चलाउनु पर्ने बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुशीला श्रेष्ठले पनि स्थानीय संस्कार, संस्कृति र सम्पदा संरक्षणका लागि सबै क्षेत्र मिलेर अघि बढनु पर्ने बताइन् ।