विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय मातहतका ४६ वटा कार्यालयहरूमध्ये आधाभन्दा बढी स्वास्थ्य कार्यालयहरू निमित्तको भरमा चलिरहेको पाइएको छ । दरबन्दीअनुसारको पदपूर्ति गर्न प्रदेश सरकारको उदासीनताको कारणले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा निमित्तको भरमा स्वास्थ्य कार्यालयहरू सञ्चालन भएको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत ९ सय ४७ दरबन्दी रहेको छ । तीमध्ये ४ सय ८६ जनाको पद रिक्त रहेको छ । ४ सय ६१ जनाको पदपूर्ति भएको स्वास्थ्य मन्त्रालयको अभिलेखमा देखिन्छ ।

११ औं तहको दरबन्दी १३ जना भए पनि २ जनाको मात्र पदपूर्ति भएको छ । ११ औं तहको ११ जना दरबन्दी रिक्त रहेको छ । दुई वटा कार्यालयबाहेक स्वास्थ्य तालिम केन्द्र, प्रदेश निर्देशानलय धनकुटा, मेची अस्पताल निमित्तको भरमा चलेको छ । स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक रोहितकुमार पाण्डे रहेका छन् । स्वास्थ्य निर्देशानलयका निमित्त प्रमुख ज्ञानबहादुर बस्नेत रहेका छन् । उनीहरू १० औं तहका कर्मचारी हुन् । ११ औं तहको कर्मचारी पदपूर्ति हुन नसक्दा उनीहरूले वर्षौंदेखि निमित्त भएर काम कारबाही गर्दै आएका छन् ।

मेची अस्पतालमा ४ जनाको ११ औं तहको दरबन्दी भए पनि अहिलेसम्म एक जनाको पनि पदपूर्ति हुन सकेको छैन । कोशीमा प्रदेश सरकार मातहतको सबैभन्दा ठूलो सरकारी हस्पिटल हो, मेची प्रादेशिक अस्पताल । ठूलो अस्पतालमा जनशक्तिको अभावकै कारण गुणस्तरीय सेवा पाउनबाट पूर्वका हजारौं सर्वसाधारण जनता बञ्चित भएका छन् ।

दरबन्दी छ, चिकित्सक छैनन्
दुई सय शøयाको मेची अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक तथा अन्य कर्मचारीको व्यवस्थापन प्रदेश सरकारले गर्न नसक्दा लाखौँ जनता त्यसको प्रत्यक्ष मारमा परेका छन् । उक्त अस्पतालमा मुटुरोगी, मिर्गौलारोगी तथा मानसिक रोगीहरूको उपचार सम्भव छैन । दरबन्दी भए पनि चिकित्सकको व्यवस्थापन हुन नसकेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामबाबु खड्काले बताए । ‘भौतिक संरचनासहित जनशक्ति भएनन् भने गुणस्तरीय सेवा कहाँ दिन सकिन्छ र ? तर प्रदेश सरकारले जनशक्ति व्यवस्थापनका लागि चासो देखाएको छ । सायद केही समयमा व्यवस्थापन होला ।’

अन्य विशेषज्ञ सेवाहरूका लागि पनि छात्रवृत्तिमा आउने चिकित्सकलाई करार नियुक्ति गरेर अस्पताल सञ्चालन गर्नुपर्ने अवस्था रहेको मेसु खड्काले बताए । विशेषज्ञ चिकित्सहरूको अभाव एकातिर छ भने अर्कोतिर स्टाफ नर्स, हेल्थ असिस्टेन्टजस्ता कर्मचारी नपाएर मेची अस्पतालले हैरानी खेपिरहेको छ । मेडिकल सुपरिन्टेन्डेन्ट डा. खड्काका अनुसार प्रदेश सरकारलाई बारम्बार जनशक्ति अभावको विषय उठाइएको छ । ‘प्रदेशभरि नै कति जनशक्ति अभाव छ भनेर तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ । छिट्टै व्यवस्थापन होला भनेर आशा गरेका छौँ’–उनले भने । मेची प्रादेशिक अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएपछि सेवाग्राहीको चाप अझ बढ्दै गएको छ । अस्पतालमा दैनिक औसत आठ सय जनाले बहिरङ्ग सेवा लिने गरेका छन् ।

६२ जना रिक्त

स्वास्थ्य मन्त्रालय मातहतका ९ र १० औं तहको दरबन्दी ७६ जनाको रहेको छ । ९ र १० औं तहमा विशेषज्ञ चिकित्सक पर्दछन् । अहिले १४ जना मात्र रहेका छन् । अझै  ६२ जना रिक्त रहेको छ । पदपूर्ति भएका पनि सङ्घअन्तर्गतका रहेका छन् । ८ औं तहको ५८ जनाको दरबन्दीमा ४१ जना कार्यरत रहेका छन् । ८ औं तहमा अझै १७ जना पदपूर्ति हुन बाँकी रहेको छ ।

प्रदेशका पहाडी ८ वटा जिल्ला अस्पतालहरूमा ९ र १० औं कार्यालय प्रमुखको दरबन्दी हो । तर सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ र ओखलढुङ्गामा ८ औं तहको मेडिकल अफिसरले निमित्त भएर काम चलाइरहेका छन् । प्रदेशको १४ वटा अस्पतालहरू, १४ वटा स्वास्थ्य कार्यालयहरू, १४ वटा आयुर्वेद औषधालय÷स्वास्थ्य केन्द्रमध्ये पनि अधिकांश स्वास्थ्य कार्यालयहरू निमित्तको भरमा चलेका छन् ।

दोहोरो जिम्मेवारी

स्वास्थ्य मन्त्रालय मातहतका कार्यालयमा दरबन्दीअनुसारको पदपूर्ति हुन नसकेपछि १० औं तहका कर्मचारीलाई दोहोरो जिम्मेवारी दिइएको छ ।

स्वास्थ्य मन्त्रालयले डा. सुरेश मेहता र सागर भट्टराईलाई दोहोरो जिम्मेवारी दिएको हो । मेहता स्वास्थ्य कार्यालय मोरङका प्रमुख हुन् भने भट्टराई स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख हुन् । उनीहरूलाई मन्त्रालयले थप जिम्मेवारी दिएको छ । मेहतालाई मन्त्रालयको नीति, योजना तथा जनस्वास्थ्य महाशाखा हेर्ने जिम्मेवारी दिएको छ भने भट्टराईलाई अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा हेर्ने जिम्मेवारी दिएको छ । केही समयअगाडि अस्पताल विकासको जिम्मेवारी  डा. मेहतालाई दिइएको थियो । दुई हप्ताअगाडि उनीहरूको जिम्मेवारी मन्त्रालयले हेरफेर गरिदिएको हो ।

स्वास्थ्य निर्देशानलय धनकुटका निमित्त प्रमुख ज्ञानबहादुर बस्नेतले दरबन्दीअनुसार जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए । ‘निर्देशानलयमा अहिले ३२ जनाको दरबन्दी हो । अहिले १६ जना कर्मचारी रहेका छन् । अझै १६ जना पदपूर्ति हुन बाँकी रहेको छ ।’

लोकसेवा नखुल्दा पनि कर्मचारी पदपूर्तिमा समस्या भएको उनले बताए । ‘कोशीबाहेकका ६ प्रदेशमा लोकसेवा आयोगले धमाधम लोकसेवा खुलाएर रिक्त रहेको दरबन्दीमा पदपूर्ति गर्दै आएको छ । यहाँ अहिलेसम्म हुन सकेको छैन’ उनले भने, ‘त्यसैले पनि स्वास्थ्य कार्यालयहरूमा सेवा प्रवाहमा समस्या भएको हो ।’