विजयपुर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक कर्मचारीको पदोन्नतिका विषयमा अदालतले अङ्कुश लगाएको छ ।

पदोन्नतिका विषयमा प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक बसिरहेको अवस्थामा उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि बढुवाको कुनै पनि प्रक्रिया अघि नबढाउन आदेश दिएको छ । उच्च अदालत विराटनगरका सूचना अधिकारी युवराज पौडेलका अनुसार २०८० माघ १७ गतेसम्म बढुवाको कुनै पनि प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । उनले भने, ‘दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।’ प्रतिष्ठानविरुद्ध सञ्जयकुमार मेहताले रिट निवेदन दिएका थिए । उच्च अदालत विराटनगरका न्यायाधीश गणेशप्रसाद रिजालको इजलासले उत्प्रेषणयुक्त आदेश जारी गरेको हो ।

प्रतिष्ठानका रजिष्ट्रार सूर्य सङ्ग्रौलाले अदालतको फैसलालाई सम्मान गर्दै कार्यकारिणी समितिको बैठकमा समेत छलफल नहुने बताए । उनले भने, ‘बैठक निष्कर्षमा नपुगेको अवस्थामा अदालतको आदेश आएको छ । अदालतको आदेशको सम्मान गर्दै १७ गतेसम्म बढुवाको कुनै पनि प्रक्रिया अघि बढ्दैन ।’ प्रतिष्ठानमा मङ्गलबारबाट बसेको कार्यकारिणी समितिको बैठकले कुनै निष्कर्ष निकाल्न सकेको थिएन । सिनेट बैठक र पदोन्नतिको विषय एजेण्डा रहेका थिए । सिनेट बैठकको मिति तय भए पनि पदोन्नतिको विषयमा सहमति नहुँदा निर्णय हुन नसकेको शिक्षक कल्याण समाजकी अध्यक्ष कविता ढकालले जानकारी दिइन् ।

प्रतिष्ठानका रजिष्ट्रार सङ्ग्रौलाले भने, ‘सिनेट बस्ने मिति तय भएको छ तर, माइन्युट भएको छैन । कार्यकारिणी समितिको बैठकमा अब ती एजेन्डा नरहन सक्छन् ।’ अदालतको आदेशसँगै प्रतिष्ठान पूर्णरूपमा  सञ्चालन गर्न अपिल गरेको छ । रजिष्ट्रार सङ्ग्रौलाले भने, ‘आन्दोलनरत पक्षसहित सम्पूर्ण पक्षलाई प्रतिष्ठान पूर्णरूपमा  सञ्चालनका लागि अपिल गरेका छौँ ।’ प्रतिष्ठानका का.मु. उपकुलपति प्रा.डा. प्रह्लाद कार्की बैठक कक्षबाट विना निष्कर्ष बाहिरिएपश्चात् पुनः बैठक बस्न सकेको छैन । उपकुलपति नफर्किएपछि सह–उपकुलपति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई जानकारी गराएको बताइएको छ ।

प्रा.डा. सङ्गीताले च्यातिन् आफ्नै स्पष्टीकरण
प्रतिष्ठानमा कार्यरत प्रा.डा. सङ्गीता भण्डारीले आफैले सोधेको स्पष्टीकरण च्यातेकी छन् । आन्दोलनमा गएको भन्दै प्रतिष्ठानकी एक स्टाफ नर्सलाई स्पष्टीकरण सोधेकी थिइन् । प्रतिष्ठानको नियमावलीअनुसार प्रा.डा. भण्डारीले स्पष्टीकरण सोध्न नपाउने उल्लेख छ । स्पष्टीकरण सोधेको विषयमा आन्दोलनरत शिक्षक कल्याण समाज, कर्मचारी कल्याण समाजमा आबद्ध चिकित्सक शिक्षक र कर्मचारीहरूले प्रा.डा. भण्डारीको कार्यकक्ष घेराउ गरी नाराबाजी गरेका थिए । प्रा.डा. भण्डारीले प्रतिष्ठानकी एक नर्सिङ स्टाफलाई आन्दोलनमा सहभागी भएको विषयमा ‘तिमीलाई कारबाही किन नगर्ने ?’ भनेर स्पष्टीकरण सोधेकी थिइन् । आफ्नो अधिकारक्षेत्रभन्दा बाहिर गएर उनले नर्सिङ स्टाफलाई थर्काउँदै कारबाही गर्ने तयारी गरेको भन्दै आन्दोलनरत पक्षले भण्डारीले कि प्रतिष्ठान छाड्नुपर्ने कि कारबाहीको पत्र च्यातेर सार्वजनिक माफी माग्नुपर्ने माग राखेर कार्यकक्ष घेराउ गरेका थिए ।

प्रा.डा. भण्डारीको  कार्यकक्षबाहिर नाराबाजी भएपछि प्रा.डा. भण्डारीले अस्पताल निर्देशक डा. जगतनारायण प्रसादलाई प्रतिष्ठानको ‘कर्मचारी नियमावली’ लिएर बोलाएकी थिइन् । डा. प्रसाद पनि असहज परिस्थितिलाई समाधान गर्न नियमावलीको फाइल बोकेर प्रवेश गरेपछि शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खान, कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकाल, मेट्रोन हरिमाया राई, सहायक अस्पताल निर्देशक डा. इन्द्र लिम्बूसँग वार्ता भएको थियो । शिक्षक कल्याण समाजकी अध्यक्ष कविता ढकालले भनिन्, ‘आन्तरिक कुरा भएकाले मिलिसक्यो । रियलाइज गर्नुभयो ।’ नियमावलीमा स्टाफ नर्सलाई मेट्रोन वा अस्पताल प्रशासनमार्फत् मात्रै स्पष्टीकरण सोध्न पाउने उल्लेख रहेको आन्दोलनरत पक्षले स्मरण गराएका थिए । प्रा.डा. भण्डारीले आफ्नो अधिकार क्षेत्रबाहिर गएर कारबाहीको पत्र काट्नु गलत भएकाले नर्सिङ स्टाफलाई लेखेको पत्र सबैका सामुन्ने च्यातेकी थिइन् । भण्डारी प्रतिष्ठानका का.मु. उपकुलपति प्रा.डा. कार्कीको पत्नी हुन ।