पाँचथर । १२ वर्षदेखि पाँचथर र तेह्रथुम जिल्लालाई जोड्ने लुम्बुघाटको पुल अलपत्र छाडिएपछि जनप्रतिनिधिका लागि टाउको दुखाइको विषय बनेको छ ।

सामाजिक सञ्जालमा जिल्लाबासीले जनप्रतिनिधिलाई ‘गालीगलौज’ गर्न थालेपछि जनप्रतिनिधिलाई पुलको विषयमा चासो बढेको छ । पुल १२ वर्षदेखि निर्माणाधीन अवस्थामा छ । ठेकेदार कम्पनीले बारम्बार म्याद थप गर्दै गइरहेको छ तर, पुल सम्पन्न हुन सकेको छैन । सामाजिक सञ्जालमा पुलको तस्बिर पोष्ट गर्दै जनप्रतिनिधिमाथि स्थानीयवासी खनिएका छन् । जसले गर्दा दुई जिल्लाको जनप्रतिनिधिको चासो बढेको हो ।

पाँचथरबासी निराश
१२ वर्षदेखि पुल त्यसै अलपत्र बनेपछि पाँचथरबासी निराश छन् । स्थानीयबासीले ठेकेदारसामु सरकार निरीह भएको टिप्पणी गर्र्दै आएका छन् । ‘पुल निर्माणको विषय दुई जिल्लाको साझा समस्या हो । अब हाम्रो अन्तिम विकल्प भनेको पुल निर्माणमा दबाव सिर्जना गर्नु हो’ –पाँचथर कुम्मायक गाउँपालिका–१ का जकेन्द्र लावतीले भने । दुई जिल्लाको लाइफलाइनको रूपमा रहेको पुल ठेकेदारले अलपत्र पारेको विषयमा गम्भीर समीक्षा गर्ने पाँचथरको कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्रबहादुर खड्काले बताए ।

ठेकेदार र सरकारलाई खबरदारी गर्ने
दुवै जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूले अलपत्र पुलको काम २०८१ असारभित्रै पूरा गराउन पहल गर्ने निर्णय गरेका छन् । पुल निर्माणको लागि आवश्यक वातावरण बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा डेलिगेसन जाने भएको छ । ठेकेदार कम्पनीलाई कानूनी कारबाहीको लागि नेपाल सरकारसँग माग गर्ने तेह्रथुमको म्याङ्लुङ नगरपालिका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताए ।

‘दुवै जिल्लाका जनप्रतिनिधि र सरोकारवालाहरूले यो विषयलाई गम्भीररूपमा लिएका छौँ’ कुम्मायक गाउँपालिकाका उपाध्यक्ष खड्काले भने, ‘ठेकेदार र सरकारलाई निरन्तर खबरदारी गर्छौं । सँगसँगै पुल बनाउन ढिला गरे ठेक्का रद्द गरी ठेकेदार कम्पनीलाई कारबाहीको मागसमेत गर्छौं ।’ सडक डिभिजन कार्यालय धनकुटाले २०६८/०६९ सालमा स्वच्छन्द निर्माण सेवा काठमाडौँलाई १३ करोडको लागतमा पुल निर्माणको ठेक्का दिएको थियो । पुल निर्माणको सुरुवाती समयदेखि विभिन्न बहानाबाजी गर्दै आएको ठेकेदारले बाह्र वर्षमा पनि पुल बनाएको छैन ।

चारपटक म्याद थप
बाह्र वर्षको अवधिमा ठेकेदार कम्पनीले चार पटक म्याद थप गरेको छ । अन्तिम पटक थपेको म्याद २०८१ असारमा सकिँदैछ । थपिएको समय अवधिमा पुलको काम पूरा हुने कार्यालयका प्रमुख रामकुमार देवको दाबी छ । बाह्र वर्षको अवधिमा ठेकेदार कम्पनीले ५० प्रतिशत भौतिक प्रगति गरेको छ । ठेकेदार कम्पनीले बाढीपहिरो, कोरोना र विभिन्न प्राविधिक समस्याले गर्दा पुलको काम ढिलाइ भएको जनाएको छ । हाल पुलको पाँचौं पिलर निर्माण गर्ने क्रममा प्राविधिक समस्या देखापरेपछि केही समयको लागि काम स्थगित गरेको निर्माण कम्पनीका प्रमुख जयराम लामिछानेले बताए । पुलको १ सय ४९ मिटर लम्बाइमध्ये ९२ मिटर ढलान गर्नुपर्नेछ भने बाँकी ५७ मिटर स्टिलको ट्रस राख्नुपर्ने हुन्छ । नदीको बीच भागमा चारवटा पिलर निर्माण गरी ढलान गरेको भए पनि पुल वारिपारि जोडिएको छैन । ठेकेदार कम्पनीको लापरबाहीका कारण दुवै जिल्लाका नागरिक प्रत्यक्ष मारमा परेका छन् ।

जनप्रतिनिधि नै आन्दोलित बन्ने
सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि पाँचथर र तेह्रथुमका जनप्रतिनिधिका साथै स्थानीयवासीले ठेकेदारविरूद्ध आन्दोलनमा जाने निर्णय गरेका छन् । तेह्रथुमको म्याङ्लुङ नगरपालिका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे र पाँचथरको कुम्मायक गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्का नेतृत्वमा पुलको निरीक्षण गरेका छन् । ‘हामीले धेरै पटक ठेकेदार, मन्त्रालयमा र सम्बन्धित कार्यालयलाई ध्यानाकर्षण गरायौँ । जिल्लामा दबावमूलक सङ्घर्ष समिति गठन भएको छ’ म्याङ्लुङ नपाका प्रमुख तुम्बाहाम्फेले भने, ‘यो विषयमा न राज्य गम्भीर छ, न त ठेकेदार नै, त्यसैले अब आन्दोलनका कार्यक्रम अघि बढाउनु पर्ने बाध्यतामा आइपुगेका छौँ ।’ लामो समयदेखि निरन्तर खबरदारी गर्दासमेत ठेकेदार अटेरी बनेकाले अब आन्दोलनको विकल्प नभएको तुम्बाहाम्फेको भनाइ छ । तेह्रथुम जिल्लाबासीले अर्जुन ढुङ्गानाको नेतृत्वमा दबावमूलक समिति गठन गरी एक वर्षदेखि सङ्घर्ष गर्दै आएका छन् । राज्यका सबै निकाय र राजनीतिक दलका नेताहरुलाई भेटेरै दबाव सिर्जना गर्दा पनि कुनै प्रगति नभएको ढुङ्गानाले सुनाए ।

pul2