धरानको सामाजिक क्षेत्रमा परिचित नाम हो, शीला बज्राचार्य । अझ महिला सशक्तीकरण र अधिकारका क्षेत्रमा उनको महत्वपूर्ण योगदान छ । 

दुई दशकभन्दा लामो समयदेखि महिला अधिकारको पक्षमा आवाज उठाइरहेकी बज्राचार्य महिलाका विभिन्न समस्या र मुद्दा लिएर वडादेखि प्रदेशसम्मका प्रहरी कार्यालय धाएकी छन् । यसरी पीडित महिलाहरूका समस्या लिएर जाने क्रममा उनले प्रहरी प्रशासनसँग नजिक भएर काम गरिन् । यही क्रममा उनले आम नागरिकको सुरक्षामा खटिएका महिला प्रहरीहरूका दुःखसुख पनि नजिकबाट बुझिन् । उनलाई लाग्यो, महिला प्रहरीहरू आफैँ पनि पीडामा रहेछन् तर उनीहरूलाई प्रोत्साहन कम रहेछ । ‘महिला प्रहरीहरू गर्भवती अवस्थामा पनि ड्युटी खटेको, बच्चा जन्मिएपछि तीन महिनामै बच्चा घरमा राखेर फेरि ड्युटीमै फर्किएको देख्दा मन दुख्यो’ अधिकारकर्मी बज्राचार्य सुनाउँछिन्, ‘सडकमा ड्युटी गर्नेहरूलाई शौचालय नभएका ठाउँमा समस्या हुने रहेछ । महिनावारी भएकाहरूको पनि उस्तै समस्या हुने रहेछ ।’

आफै समस्यामा भएपछि अरूका समस्याको समाधान गर्न पक्कै सहज हुँदैन भन्ने उनलाई लाग्यो । ती महिला प्रहरीलाई प्रोत्साहन गर्नुपर्छ भन्ने लाग्यो तर कसरी गर्ने ? धेरै सोचिन् । उनको दिमागमा आइडिया आयो, कामको मूल्याङ्कन गरेर पुरस्कृत गर्ने । बर्सेनि पुरस्कार दिने पैसाको आफै व्यवस्थापन गरिन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआईजी राजेशनाथ बास्तोलासँग सल्लाह गर्दा उनलाई पनि कुरा सही लाग्यो । त्यसपछि गत पुस १६ मा हरेक वर्ष प्रहरी दिवसका अवसरमा २५ हजार राशिको ‘उत्कृष्ट महिला प्रहरी पुरस्कार’ प्रदान गर्ने सम्झौता भयो, प्रदेश प्रहरी कार्यालय र समाजसेवी बज्राचार्यबीच । 

FB_IMG_1705152538252

सम्झौता अनुसार अब हरेक वर्ष कोशी प्रदेशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने महिला प्रहरी कर्मचारीलाई यो पुरस्कार प्रदान गरिने छ । पुरस्कारका लागि आफूले छुट्टै कोष बनाएको र हरेक वर्ष पुरस्कार प्रदान गर्ने बेलामा नगद २५ हजार प्रदान गर्ने बज्राचार्यको भनाइ छ । उनी भन्छिन्, ‘पुरस्कारका लागि जीवनभर बर्सेनि २५ हजार प्रदान गर्छु, मेरो शेषपछि ठूलो छोरा डा.सन्दीप बज्राचार्य, बुहारी डा.सम्रिष्ठा बज्राचार्य र कान्छा छोरा सुदीप बज्राचार्यले निरन्तरता दिनेछन् ।’

महिला प्रहरीलाई प्रोत्साहन गर्ने यस्तो किसिमको पुरस्कार पहिलो पटक स्थापना भएको डिआईजी राजेशनाथ बास्तोलाको भनाइ छ । उनी भन्छन्, ‘एक वर्षको कामको मूल्याङ्कन गरेर पुरस्कार प्रदान गरिने हुँदा महिला प्रहरीमा काम प्रतिको उत्साह बढेको छ ।’ डिआईजी बास्तोलाले भने जस्तै पुरस्कारले महिला प्रहरीमा प्रोत्साहन मिल्नेमा दाता बज्राचार्य पनि विश्वस्त छिन् । आफूले गरेका सामाजिक काममध्ये यसले फरक खाले आत्मसन्तुष्टि प्रदान गरेको उनको भनाइ छ । उनी भन्छिन्, ‘पुरस्कार मात्र होइन, अहिलेसम्म गर्दै आएका अन्य सामाजिक सेवालाई पनि निरन्तर अघि बढाउने छु ।’

सङ्खुवासभाको चैनपुरमा जन्मिएकी बज्राचार्यले विवाहपछि तेह्रथुममा ९ वर्ष सरकारी विद्यालयमा पढाइन् । त्यसपछि सरकारी जागिर चटक्कै छाडेर धरान झरेकी उनी यहाँ पनि चुपचाप बस्न सकिनन् । आफ्नो टोल धरान–८ मा सिद्धकाली आमा समूह स्थापना गरेर त्यसैमा सक्रिय बनिन् ।

त्यसबेला देश जनप्रतिनिधि विहिन थियो । त्यस्तो अवस्थामा आम नागरिकले न्याय पाउन पनि सजिलो थिएन । सानो टोलको आमा समूहबाट महिलामा मुद्दा लिएर प्रहरी प्रशासनमा धाउँदा हत्तपत्त सुनुवाइ नभएपछि धरान–८ र १५ का समूहसँग सल्लाह गरी चारवटा समूहको सञ्जाल स्थापना भयो । समूहहरू एक भएपछि दबाव समूहको रूपमा काम गर्न सहज भयो । उनी भन्छिन्, ‘सानो समूहका एक–दुईजना महिला जाँदा प्रहरीले पनि कुरा नसुन्ने रहेछन् । पछि त्यस्तै केस लिएर जाँदा सुनुवाइ हुन थाल्यो, त्यसपछि समूहको आवश्यकता महसुस भयो ।’

त्यति बेलासम्म धरानका टोलटोलमा धेरै वटा महिला समूह, आमा समूह स्थापना भएका थिए । विभिन्न कार्यक्रमका लागि नगरपालिका धाउँदा तत्कालीन सामाजिक विकास अधिकृत सुनिल नेपालले धेरै वटा समूहलाई बजेट दिन गाह्रो हुने भएकाले एउटै समूह बनेर आउन सल्लाह दिए । त्यसपछि २०६६ सालमा १८ वटा समूह मिलेर महिला सञ्जाल स्थापना भएको बज्राचार्य सम्झिन्छिन् । सञ्जालमा मीना पुलामी अध्यक्ष र बज्राचार्य कोषाध्यक्ष थिए । पाँच वर्ष कोषाध्यक्ष भएपछि उनी अर्को कार्यकाल अध्यक्ष बनिन् । त्यो समयमा धरानका २० वटै वडाका महिलाका समस्या बुझ्न पाइन् । उनको कार्यकालमा सञ्जालमा ३८ वटा संस्था समेटिए । प्रत्येक समूहका करिब ४० हाराहारी सदस्य हिसाब गर्दा यो सञ्जाल निक्कै ठूलो भयो । सञ्जालको सक्रियता र कामको धरानमा धेरै चर्चा परिचर्चा पनि भयो । 

महिला, बालबालिकाका क्षेत्रमा काम गर्दागर्दै बज्राचार्य धरानमा बढ्दो लागूऔषधको समस्यालाई नियन्त्रण गर्न प्रहरी श्रीमती सङ्घले स्थापना गर्ने आसरा सुधार केन्द्रमा जोडिइन् । नागरिक र प्रहरीको साझेदारीमा निर्माण भएको आसराको कोषाध्यक्ष बनेर आर्थिक सहयोग जुटाइन् । धरानको पानमारामा दुई करोड ५० लाख लागतमा निर्माण भएको आसरामा सयजना लागूऔषध प्रयोगकर्तालाई राख्न सकिने व्यवस्था छ । हाल सञ्चालन भइरहेको असराको उनी वरिष्ठ उपाध्यक्ष छिन् । उनी अहिले नेपाली काङ्ग्रेसको धरान नगर सहसचिवका रूपमा पनि कार्यरत छिन् । ‘सामाजिक काम गर्दा नीति निर्माण गर्न राजनीति गर्नुपर्ने रहेछ भन्ने महसुस भयो, त्यसपछि राजनीतिमा पनि संलग्न भएँ’ उनी भन्छिन्, ‘म जहाँ भए पनि जीवनभर समाजकै लागि काम गर्छु । महिला, बालबालिकाको हक, अधिकारका लागि काम गरिरहन्छु ।’