विजयपुर। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुशासन आयोगले पार्टी पंक्तिलाई अनावश्यक टीकाटिप्पणी नगर्न निर्देशन दिएको छ।

शनिबार पार्टीको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले एक अपिल पत्र जारी गर्दै नेता कार्यकर्तालाई सामाजिक सञ्जाललगायतमा कुनै पनि अवाञ्छित टीकाटिप्पणी नगर्न निर्देश गरेका हुन्। पार्टीका विभिन्न पंक्तिहरूबाट सामाजिक सञ्जाललगायतबाट अनावश्यक टीकाटिप्पणी गर्ने जस्ता गतिविधिहरू बढेको महसुस भएको पत्रमा उल्लेख छ।

कुनै अवाञ्छित कार्यहरू नगर्न/नगराउन सम्पूर्ण पार्टीपंक्तिहरूमा आयोगले ध्यानाकर्षणसहित निर्देश गर्दछ भनी पत्रमा भनिएको छ। त्यस्ता गतिविधिहरू भए गरेको कहींकतै भेटिएमा कारबाही हुनेतर्फ आयोगले सचेत गराएको छ। पत्रमा ‘लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण गर्दै सभ्य र अनुकरणीय राजनीति गर्नु हामी सबैको कर्तव्य हुन आउने’ उल्लेख गरिएको छ।

अपिल पत्रमा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपालाई प्राप्त अभिमतलाई विजय उन्मादको रूपमा नलिई जिम्मेवारीप्रति पूर्ण बफादार रहँदै जवाफदेहीपूर्ण कार्य सम्पादन गर्नु कर्तव्य हुने उल्लेख गरिएको छ।