धरान । धरान उपमहानगरपालिकाले आयोजना गरेको धरान उत्सवको व्यवस्थापन अस्तव्यस्त देखिएको छ । उत्सवका आर्थिक गतिविधिहरू पनि शङ्कास्पद देखिएका छन् ।

उत्सवको स्टल व्यवस्थापन समितिमार्फत ९० वटा स्टल बिक्री गरिएको थियो । ती स्टलहरूमध्ये महिला उद्यमी र जातीय सङ्घसंस्थाका स्टलसँग पाँच दिनको लागि तीन हजारदेखि पाँच हजार र व्यापारिक स्टलको पाँच दिनका लागि सात हजार पाँच सयका दरले पैसा लिने निर्णय भएको थियो । तर शनिबार उत्सव स्थलमा तीबाहेक आधा दर्जनभन्दा बढी व्यापारीहरूले पसल राखेका थिए । उनीहरूसँग पाँच दिनका लागि दुई हजार पाँच सयदेखि दश हजारसम्म शुल्क लिइएको ती व्यापारीहरूले बताएका छन् । उनीहरूसँग नगर प्रहरीले पैसा उठाएका थिए ।

त्यसरी पैसा उठाइएको बिलमा न उपमहानगरपालिकाको छाप छ, न त बुझिलिनेको हस्ताक्षर नै । स्टल व्यवस्थापन समितिका संयोजक तथा कार्यपालिका सदस्य विकास भाटी पहिलाको निर्णयानुसार ९० वटा स्टलमात्र आफूलाई थाहा भएको अन्य कसको निर्णयबाट कसले बिक्री गरेको आफूलाई जानकारी नभएको बताउँछन् । स्टल व्यवस्थापन समितिको जानकारी बिना, नगर प्रहरीले छापविनाको रसिद काट्दै व्यापारीलाई चौरमा जथाभावी राख्न थालेपछि सञ्चारकर्मीहरूले नगर प्रहरीका प्रमुख विष्णु कोइराला र उपमहानगरपालिकाका वरिष्ठ राजस्व अधिकृत खगेन्द्रप्रसाद खतिवडालाई प्रश्न गरेका थिए ।

त्यसपछि प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौला, राजस्व अधिकृत खतिवडा, प्रशासन महाशाखाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटासहितको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा नगर प्रहरीले व्यापारीहरूलाई चौरबाट हटाएको थियो । उनीहरूलाई बेलुनजस्ता हल्का समान हातमा बोकेर डुलाउनका लागि दुई हजार पाँच सय लिएर अनुमति दिएको भए पनि चौरमा पसल राख्ने अनुमति नदिइएको राजस्व अधिकृत खतिवडाले बताए । नगर प्रहरीले दश हजारसम्म लिएको विषयमा आफूलाई थाहा नभएको उनको भनाइ छ । स्टल व्यवस्थापन समिति संयोजक भाटी भने आफूलाई पछि स्टल थप्ने विषयमा समेत थाहा नभएको बताउँछन् ।

त्यसो त उत्सव अघिबाटै व्यापारिक स्टल र खेलजन्य गतिविधिका विषयमा विवाद उत्पन्न भएको थियो । उपमहानगरको बैठकमा रोटे पिङका विषयमा विवाद उत्पन्न भएको थियो । पिङको ठेक्का पनि हचुवाको भरमा दिइएको पाइएको छ । बैठकमा पिङका लागि नौ लाखसम्म लगानी गर्ने मान्छे रहेको चर्चा भएको थियो । तर, बैठकले जसले बढी लगानी गर्छ उसैलाई दिने निर्णय गरेको थियो । केही समयअघि एक जना मान्छे पिङका लागि छ लाख लगानी गर्न तयार भएर उपमहानगरपालिका पुगेका थिए । उनले राजस्व अधिकृत खतिवडालाई भेटेर छ लाख हाल्न तयार रहेको बताए पनि खतिवडाले हाल निर्णय भइनसकेको भन्दै फर्काइ दिएका थिए ।

निर्णय गर्दा न्यूनतम रकम तोकिएन पछि छ लाख लगानी गर्छु भन्ने मान्छे आएनन्, त्यसपछि धरान–४ का धनबहादुर राईले तीन लाखमा पिङको ठेक्का पाएका छन् । पिङमा आर्थिक चलखेल गरेर सेटिङ मिलाइएको बजारमा चर्चा छ । राजस्व अधिकृत खतिवडा भने आफूसँग छ लाखको प्रस्ताव नआएको दाबी गर्छन् । तर ठेक्का लगाउँदा न्यूनतम रकम नतोकिएको उनले स्वीकारे । न्यूनतम रकम नतोकिँदा सेटिङमा कम रकमको मात्र प्रस्ताव पर्ने सम्भावना रहन्छ । छ लाखको प्रस्ताव नकारेर तीन लाख ठेक्कामा दिइँदा उपमहानगरपालिकालाई तीन लाख रुपैयाँ घाटा भएको छ । 

उत्सव सुरु हुनुभन्दा अघि नै स्टलका विषयमा संयोजक भाटी र नगरका उपप्रमुख अइन्द्रविक्रम बेघाका स्वकीय सचिव खेम रणपहेलीबीच विवाद उत्पन्न भएको थियो । खेल र स्टलमा देखिएका विवादले उत्सवको आर्थिक गतिविधि शङ्कास्पद देखिएको छ ।

स्टलमा छैन मूल्य सूची
उत्सवमा ९० स्टलमध्ये थोरै बाहेक अधिकांश खानाका स्टल छन् । ती स्टलमध्ये पनि धेरैमा रक्सि, बियर र मासुका परिकार बिक्री भइरहेका छन् । पब्लिक हाईस्कुलभित्र भइरहेको उत्सवमा रक्सी, बियर, चुरोटजस्ता वस्तु बिक्री गरिनु कानून विपरित हो । शिक्षा ऐनले स्कुलको पाँच सय मिटर वरपर मदिराजन्य वस्तु बिक्री वितरण गर्न नपाइने व्यवस्था गरेको छ ।

यस विषयमा उत्सव अगाडिको पत्रकार सम्मेलनमा पनि प्रश्न उठेको थियो । त्यसको जवाफमा नगर प्रमुख हर्कराज राईले अपवादका रूपमा रक्सी बिक्री गर्न अनुमति दिइएको बताएका थिए । शनिबार उपमहानगरपालिकाकै टोलीले अनुगमन गर्ने क्रममा पनि खुल्लमखुल्ला रक्सी, बियर र चुरोट बिक्री भइरहेको पाएको थियो । केही बाहेक अधिकांश खानका स्टलमा मूल्य सूचीसमेत नराखिएको पाइएको थियो । मूल्य सूची नराख्नेलाई तुरुन्तै राख्न लगाउने अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए ।

उत्सवमा खानेकुराहरू बाहिरभन्दा अत्यधिक महँगो रहेको उत्सव घुम्न आउनेहरूले गुनासो गरे । विगतका उत्सवहरूमा सबै खालका सामग्रीहरू राखिएको थियो । यसपटक भने उत्सवमा खासै विविधता देखिँदैन । जताततै खानेकुराका स्टल मात्र देखिन्छन् । फरक खालका समान ल्याएका कतिपय व्यापारीलाई स्टल नै उपलब्ध नगराइएको पाइएको छ । धरान उत्सव भनिए पनि खानाका स्टलमात्र बढि भएपछि ‘फुड फेस्टिभल’ जस्तो भएको घुम्न आउनेहरूले टिप्पणी गरेका छन् । बाहिर प्रदर्शन गरेर राखिनु पर्ने फूलका स्टल हत्तपत्त नदेखिने भित्री कुनामा राखिएका छन् ।

शनिबार बिहान उत्सव स्थलमा आयोजित साहित्यिक कार्यक्रम पनि व्यवस्थित थिएन । वडा नं. १३ का अध्यक्ष नेत्रप्रसाद काफ्लेले संयोजन गरेको सो कार्यक्रममा एक दर्जन कवि, साहित्यकार सहभागी थिए । उनीहरूका रचना सुन्ने दर्शक श्रोता भने त्यति पनि थिएनन् । उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत निरौला भने उत्सवमा व्यवस्थित बनाउन लागि परेको बताउँछिन् । कहीँ कमी कमजोरी पाइए सम्बन्धित शाखा र समितिसँग छलफल गरेर सच्याउने उनले बताइन् । उत्सवको शुक्रबार धरानकी १०३ वर्षीया चन्द्रमाया कटुवाल र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उद्घाटन गरेका थिए । उत्सव पुस २४ सम्म सञ्चालन हुँदै छ ।