सुर्तीजन्य उद्योगले कर छली गर्नको लागि एक पटक प्रयोग भएको अन्तःशुल्कको स्टिकर बजारबाट उठाएर पुनः प्रयोगमा ल्याउने गरेको पाइएको छ । यसरी बजार पठाएको सुर्तीजन्य वस्तुको प्याकेटबाट अन्तःशुल्कको स्टिकर सङ्कलन गर्ने र उद्योगमा ल्याएर पुनः प्रयोगमा ल्याउने गरेको पाइएको हो । 

राज्यलाई कर छली गर्नको लागि सुर्तीजन्य उद्योगले गिरोह नै प्रयोग गर्ने गरेको खुलेको छ । मोरङको धनपालथान गाउँपालिका–४ कर्सियाबाट भण्डारण गरिएको राजस्व विभागको अन्तःशुल्क स्टिकरसहित एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

कर्सिया बजारमा रहेको केशव किराना पसलका सञ्चालक ४८ वर्षीय सुनिलकुमार राजवंशीलाई इलाका प्रहरी कार्यालय रङ्गेलीले शनिबार साँझ पक्राउ गरेको हो । भोला, गुट्खालगायतका सुर्तीजन्य पदार्थको ‘प्याकेट’ मा प्रयोग हुने स्टिकर दुरुपयोग भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

पक्राउ परेका राजवंशीले कर्सिया बजारदेखि पूर्वी सहरसम्म सुर्तीजन्य पदार्थमा लगाएको अन्तःशुल्कको स्टिकर भण्डारण गरी राख्ने गरेका थिए । उक्त अन्तःशुल्कको स्टिकर प्रतिगोटा पसलहरूसँग २ देखि ३ रुपैयाँमा खरिद गर्ने र उनले बुटवलस्थित श्री राम उद्योगले उत्पादन गर्ने ‘करेन्ट’ गुट्खामा पुनः प्रयोगको लागि पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले उद्योगलाई ५ देखि ७ रुपैयाँ प्रतिगोटा अन्तः शुल्कको स्टिकर बिक्री गर्ने गरेको प्रहरीले अनुसन्धानको क्रममा फेला पारेको छ । 

राजवंशीले विगत एक वर्षदेखि यस्तो काम गर्दै आएको प्रहरी बताउँछ । इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्स्पेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले उनको किराना पसल छापा मारेको थियो । प्रयोगका लागि तयारी अवस्थामा राखिएको अन्तःशुल्क स्टिकर फेला परेपछि राजवंशी पक्राउ परेका हुन् ।

उनको पसलबाट ‘रेडीमेड टोबाको’ लेखिएको तीन हजार एक सय ४० थान अन्तःशुल्क स्टिकर बरामद भएको डिएसपी दाहालले बताए । उनका अनुसार राजवंशीलाई थप अनुसन्धान एवम् कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएको छ । अहिले राजस्व अनुसन्धान कार्यालयले अनुसन्धान सुरु गरेको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डी.बी. क्षेत्रीले जानकारी दिए ।

‘अहिले अनुसन्धान भइरहेको छ’ उनले भने, ‘थप अनुसन्धानपछि मात्र उक्त स्टिकर राजवंशीले कहाँ र कसलाई पठाउँथे भन्ने बारेमा खुल्न बाँकी छ ।’ गुट्खा, मदिरालगायतका वस्तु अन्तःशुल्क स्टिकर लगाएर मात्रै बजारमा पठाउन पाइन्छ । त्यसरी प्रयोग भइसकेको स्टिकर उप्काएर पुनः प्रयोगका लागि पठाउने गरेको पाइएको छ । राजवंशीले त्यस्ता स्टिकर स्थानीय व्यापारीसँग पनि सङ्कलन गर्ने गरेको प्रहरीले जनाएको छ । स्थानीय व्यापारीबाट सङ्कलन गर्दै आफ्नो घरमा जम्मा पारेर विराटनगरतिर पठाउने गरेका थिए । उद्योगले व्यापारीको पसल–पसल पठाउन गिरोह नै परिचालन गरेको बुझिएको छ ।

स्किटरको दुरुपयोग गरेर राजस्व छली गर्न ठूलै गिरोह संलग्न रहेको हुनसक्ने प्रहरीको अनुमान छ । राजस्वको अनुसन्धानपछि थप कुरा खुल्ने र अन्तःशुल्क स्टिकर दुरुपयोगमा संलग्न गिरोहका बारेमा पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

अहिले गुट्खा उद्योगले उत्पादन गरेको प्याकेटमा प्रतिकिलो दरमा अन्तःशुल्क लाग्दै आएको छ । अन्तःशुल्क ऐन २०५८ अनुसार जर्दा खैनी, गुट्खा र निकोटिनयुक्त पान मसला तथा यस्तै खालका मिश्रित तयारी वस्तुहरूमा प्रतिकिलो ८ सय ५० रुपैयाँ अन्तःशुल्क कर लगाउँदै आएको छ ।

गुट्खा उद्योगका लागि प्याकेटमा अन्तःशुल्क तोकिएको छ । तर, उद्योगले स–साना प्याकेट बनाएर गुट्खाको बिक्री गर्छन् । विभागबाट कडाइका साथ निगरानी नहुँदा गुट्खाको साना प्याकेटलाई ठूलो प्याकेटमा प्याकेजिङ नगरी सिधै बजारमा लैजाने गरिएको छ ।

यसरी बजार लगिएको गुट्खाको कुनै हिसाबकिताब र भ्याट बिल उद्योगले काट्दैनन् । स्रोतका अनुसार गुट्खा भारतमा समेत चोरी निकासी हुने गरेको छ । तस्करहरूले राजस्व छली गरेको गुट्खा भारतका विभिन्न बजारमा पठाउने गरेका छन् ।

राजस्व अनुसन्धान विभागले अन्तःशुल्क नतिरेको गुट्खा भेट्ने गरेको छ । यस्ता उद्योगलाई कारबाहीका लागि मुद्दासमेत दायर भएका छन् । तर, कर छली भने रोकिएको छैन ।