बचतकर्ताहरूको करोडौं रुपैयाँ घोटाला प्रकरणमा जोडिएका तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले विराटनगर ल्याएर फेरि कैलाली लगेको छ । 

जिल्ला अदालत मोरङमा रहेकोे सहकारी ठगी मुद्दाका मुख्य प्रतिवादी रहेका शर्मालाई बिहीबार राति मोरङ प्रहरीले विराटनगरमा ल्याएको थियो । प्रहरीले मोरङ अदालतमा शुक्रबार हाजिर गराएको छ । शुक्रबार थुनछेक बहसपछि उनललाई पुर्पक्षको लागि कारागारमा राख्ने आदेश दिएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश राजेश्वर अर्यालले थुनामा पठाउने आदेश दिएको सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । मोरङ अदालतमा दायर भएको ठगी मुद्दामा अध्यक्ष शर्मासहित गत चैत २४ गते सहकारीको कर्मचारीसहित छ जनाविरुद्ध प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

प्रतिवादीहरू सहकारीका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । सहकारी सचिव न्यौपाने अध्यक्ष शर्माकी पूर्व श्रीमती हुन् । उनीहरू अहिले पुर्पक्षको लागि थुनामा रहेका छन् । शर्माविरुद्ध ठगी देशभरि ३८ जिल्लामा मुद्दा परेको छ । मुद्दा रहेको जिल्लाभरि उनलाई प्रहरीले उपस्थित गराउने भएको छ । 

अदालतले थुनामा पठाउने आदेश दिए पनि शर्मालाई कैलाली जिल्ला अदालत धनगढी पठाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । कैलालीमा अर्काे मुद्दा भएका कारण त्यहाँ पठाएको उनले बताए । कैलालीपछि दाङ लैजाने तयारी छ ।

दाङमा पनि ठगीको मुद्दा छ । १ फागुन २०७९ देखि सहकारी बन्द छ । २०५२ सालमा दर्ता भएको तुलसी बहुमुखी सहकारी संस्थाको सञ्चालनको जिम्मा २०७२ सालमा केदारनाथ शर्माले लिएका थिए । विराटनगरको विराट नर्सिङहोम चोकमा कार्यालय खोलेर उनले झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा शाखा कार्यालय खोलेका थिए । मोरङको लेटाङमा शाखा कार्यालय खोल्ने तयारी थियो ।

मुख्य कार्यालय विराटनगर र तीनवटा शाखा कार्यालयमा २१ हजार एक सय ५४ जना बचतकर्ताले एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार नौ सय ९१ रुपैयाँ बचत सङ्कलन गरी सञ्चालक फरार भएका थिए । फरार भएका अध्यक्ष शर्मालाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको थियो ।

सहकारीको केन्द्रीय कार्यालय विराटनगरमा १० हजार एक सय ७८ वटा निक्षेप खाता छन् । दमक शाखामा छ हजार ९ सय ६८, गाईघाट शाखामा तीन हजार तीन सय ३४, गोलबजार शाखामा छ सय ७४ सहित २१ हजार १ सय ५४ वटा खाता छ ।

तुलसी सहकारीको विराटनगर कार्यालयले ६० करोड ४१ लाख आठ हजार, दमक शाखामा ६० करोड ७२ लाख ९३ हजार, गाईघाट शाखामा २३ करोड ६६ लाख ९६ हजार र गोलबजार शाखाबाट ९४ लाख ४६ हजार रुपैयाँ बचत सङ्कलन गरेको थियो । सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको रकम सञ्चालक शर्माले अनधिकृत रूपमा आफ्नो कम्पनीमा ऋण प्रवाह गरेका थिए ।

सर्वसाधारणको एक अर्ब ४५ करोड ७५ लाख बचत सङ्कलन गरेको सहकारीले ४१ करोड ६३ लाख ९५ हजार ३ सय ७८ रुपैयाँ अध्यक्ष शर्माको छ वटा कम्पनीलाई ऋण लगानी गरेको देखिन्छ । सहकारीको कुल पुँजी एक अर्ब ६५ करोड ६५ लाख ९३ हजार दुई सय ९१ रुपैयाँ छ ।

जसमध्ये एक अर्ब ४८ करोड ६८ लाख ५० हजार सात सय ५१ रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको १६ करोड ९७ लाख ४२ हजार ५ सय ४० रुपैयाँ खर्चको हिसाब प्रहरीले अनुसन्धानका क्रममा भेटेको थिएन ।