विराटनगर । विराटनगर–१२ बखरीका ३८ वर्षीय श्याम ऋषिदेवको सोमबार साँझ एक्कासि पिसाब रोकिएपछि कोशी अस्पतालको आकस्मिक कक्षमा आइपुगे । उपचारमा खटिएका थिए, मेडिकल अफिसर डाक्टर तुलसी गोइत । उनले ती बिरामीको सामान्य स्वास्थ्य जाँच गरेपछि भिडियो एक्स–रे गर्न कोशी अस्पतालदेखि करिब ५० मिटर पश्चिममा रहेको कोशी मार्केटभित्रको न्यू साहारा डाइग्नोष्टिक केयर सेन्टरमा पठाइदिए । कोशीमा ७ सय ५० रुपैयाँमा भिडियो एक्स–रे हुने गर्दछ । बिहान १० देखि १ बजेसम्म मात्र रेडियोलोजी विभागमा भिडियो एक्स–रे हुन्छ ।

अस्पतालले दिएको समयसीमा १ बजेपछि र बिदाको दिन आए भिडियो एक्स–रे सेवा बन्द हुन्छ । श्याम साँझमा आएकोले उनले कोशीमा भिडियो एक्स–रे गर्न पाएनन् । चिकित्सक गोइतले भिडियो एक्स–रे गर्ने डाइग्नोष्टिक केयर सेन्टरको नाम नै पुर्जीमा तोकेपछि उनी त्यहाँ गए । कोशीमा ७ सय ५० मा हुने भिडियो एक्स–रे उनले साहारामा झण्डै दोब्बर शुल्क १ हजार ४ सय रुपैयाँ खर्चेर भिडियो एक्स–रे गरे । श्यामले भिडियो एक्स–रे गरेको साहारा डाइग्नोष्टिक केयर सेन्टर कोशी अस्पतालमा कार्यरत डाक्टर तुलसी गोइतसहित तीन जना मिलेर करिब चार महिनाअगाडि खोलेका हुन् । आकस्मिक कक्षको ड्युटीमा खटिने गोइतसहित अर्का मेडिकल अफिसर डाक्टर राजा भगत, डा. गोइत र अहेव प्रवीण यादवले साहारा डाइग्नोष्टिक केयर सेन्टर खोलेका हुन् । उनीहरू तीन जना कोशी अस्पतालको आकस्मिक कक्षमा कार्यरत छन् । आफ्नो ड्युटीको समयमा उनीहरूले आकस्मिक कक्षमा आउने बिरामीलाई भिडियो एक्स–रे गर्न उनीहरूले खोलेको डाइग्नोष्टिक केयरमा पठाउने गरेका छन् ।

कोशी अस्पताल प्रशासनले २४ सै घण्टा भिडियो एक्स–रे सेवा सञ्चालन गर्न नसक्दा अस्पतालकै कर्मचारी र हस्पिटल चोकअगाडि च्याउसरी खुलेका निजी डाइनोष्टिक सेन्टर र हस्पिटलमा गएर विपन्न बिरामीले चर्को शुल्क तिरेर उपचार गराउन विवश छन् । ‘आकस्मिक कक्षमा उपचारमा खटिएका चिकित्सकले भिडियो एक्स–रे गर्ने डाइनोष्टिक सेन्टरको नाम लेखेरै दिएपछि भिडियो एक्स–रे गर्न गएँ’ ऋषिदेवले भने, ‘भिडियो एक्स–रेको रिपोर्ट आएपछि डाक्टरले उपचार सुरु गरे ।’ अण्डकोष सुन्निएको कारणले पिसाब रोकिएकाले उपचारपछि उनी डिस्चार्ज भए । ‘कोशीमा २४ सै घण्टा भिडियो एक्स–रे सेवा सुचारु गरे सस्तो मूल्यमा उपचार सेवा हामीजस्ता आर्थिक विपन्न परिवारका सदस्यहरूले पाउने थिए । यहाँ दिउँसै भिडियो एक्स–रे सेवा बन्द हुन्छ । त्यसपछि यहाँका चिकित्सकले निजीमा भिडियो एक्स–रे गर्न पठाउँछन्’ उनले भने, ‘हामीले चिकित्सकले भनेको मान्नैप¥यो । उपचार त जसरी पनि गर्नुपर्ने हुन्छ ।’

दैनिक १ हजारदेखि १ हजार पाँच सय जनासम्म बिरामी ओपिडीमा आउने कोशी अस्पतालले जनशक्ति अभाव देखाउँदै १० देखि १ बजेसम्म मात्र भिडियो एक्स–रे सेवा गर्दछ । अस्पतालले तोकेको भन्दा पछि आउने बिरामीले निजीमा गएर भिडियो एक्स–रे गर्नुपर्ने बाध्यता रहेको छ । अस्पतालले जनशक्ति थप गरेर भिडियो एक्स–रे सेवा २४ सै घण्टा सञ्चालन गरे अस्पताललाई पनि आम्दानी हुने र बिरामीलाई पनि थप आर्थिक भार नपर्ने बिरामीहरू बताउँछन् । 

कोशी अस्पतालका मेसु डा. चन्द्रभाल झाले जनशक्ति अभावले २४ सै घण्टा भिडियो एक्स–रे सेवा सञ्चालन गर्न नसकेको बताए । ‘एक जना करार र एक जना छात्रवृत्तिका चिकित्सकले अहिले दैनिक १ सयदेखि १ सय ५० वटासम्म भिडियो एक्स–रे सेवा गर्दै आएका छन्’ उनले भने, ‘हामीले थप रेडियोलोजिष्ट डाक्टर राखेर २४ सै घण्टा भिडियो एक्स–रे सेवा गर्ने तयारी गर्दै छौँ । जनशक्ति थप हुने बित्तिकै हुनेछ ।’ ड्युटी समयमा खटिएका अस्पताललका चिकित्सकले डाइग्नोष्टिक सेन्टरको नाम नै तोकेर भिडियो एक्स–रे गर्न पठाउन भने नमिल्ने उनले बताए । ‘उपचारमा खटिएका डाक्टरले त्यसरी बिरामीलाई डाइग्नोष्टिक सेन्टरको नाम लेखेर पठाएको पाए हामी कारबाही गर्नेछौँ’–उनले भने ।

यता आकस्मिक विभागका इन्चार्ज कामेश्वर परिहस्तले पनि अस्पतालका चिकित्सकले डाइग्नोष्टिक सेन्टरको नाम उल्लेख गरेर भिडियो एक्स–रे गर्न पठाए कारबाही गरिने बताए । ‘हामीले सरकारी र बिमा भएका अस्पताललाई पहिलो प्राथमिकतामा राखेर रिफर गर्ने हो’ उनले भने, ‘त्यसरी निजी क्लिनिक वा अस्पतालको नाम उल्लेख गरेर पठाउनु गलत हो । त्यसरी पठाएको पाइए कारबाही गरिनेछ ।’ अस्पतालमा कार्यरत डाक्टर तुलसी गोइत, डाक्टर राजा भगत र अहेव प्रवीण यादवले मिलेर खोलेको न्यू साहारा डाइग्नोष्टिक केयर सेन्टरमा दैनिक २० देखि २५ वटासम्म कोशीमा आएका बिरामी पठाउने गर्दछन् । डाक्टर गोइत दुई वर्ष छात्रवृत्ति करारका चिकित्सक हुन् भने डाक्टर भगत करारका चिकित्सक हुन् । यस विषयमा बुझ्दा डाक्टर गोइतले न्यू साहारा डाइग्नोष्टिक केयर सेन्टरमा आफ्नो कुनै लगानी नभएको दाबी गरे । ‘मेरो छात्रवृत्ति करार सकिन केही समय बाँकी छ । मैले हस्पिटलमा इमानदारीपूर्वक बिरामीको सेवा गरेको छु । मैले कुनै पनि बिरामीलाई निजी डाइग्नोष्टिक सेन्टरमा भिडियो एक्स–रे गर्न लेखेको पनि छैन’–उनले भने ।