विषय प्रवेशः
पछिल्लो समय नेपाली राष्ट्रिय राजनीति लगाम विनाको घोडाजस्तो बन्दै गइरहेको छ । सैद्धान्तिक, वैचारिक, राजनैतिक इमान्दारिता र स्पष्टता हराउँदै गएको छ । इमान जमान र आस्था एवम् विश्वास डग्मगाइरहेको छ । जेपायो त्यही गर्ने र बोल्ने क्रम बढिरहेको छ । लहड, सनक र झोंक देखाएर आफ्नो स्वार्थ सिद्ध गर्ने सजिलो प्रवृत्ति मौलाइरहेको छ । सामाजिक सञ्जालको स्टण्टबाजी डरलाग्दो गरी बढिरहेको छ । मिडियाबाजी गर्न शर्माउनेहरू पछाडि परिरहेका छन् । सामान्य गालीको भाषा नजान्नेहरू तल परिरहेका छन् । चोटिला र घोचिला शब्दहरू तिखार्न नजान्नेहरू यतै कता बिलाइरहेका छन् । नकारात्मकताको कभरमा दुनो सोभ्mयाउनेहरू बलशाली भइरहेका छन् । उट्पट्याङ कुराहरूको बजार खपत असाध्यै राम्रो देखिन्छ । सन्तुलित र वस्तुवादी बहस छलफलका विषयहरू बिक्नै छाडेका छन् ।

यही मेसोमा राजनैतिक त्याग, बलिदान र सङ्घर्षका कुराहरू किनारा लागिरहेका छन् । सही, गलतबीच भ्रम सिर्जना भइरहेको छ भने तथ्य–तथ्याङ्कहरू मिथ्याङ्क बनिरहेका छन् । विधि, प्रक्रिया, मूल्यमान्यता र संस्कारहरू बिग्रिरहेका छन् । वस्तुवादी लक्ष्य उद्देश्यहरू प्राप्तिको स्वभाविक बाटोहरूभन्दा चोरबाटो पहिल्याउने क्रम बढिरहेको छ । हरेक सामाजिक सम्बन्धहरू सेवाभन्दा पनि व्यवसाय बन्दै गइरहेका छन् । जनताको सेवा भन्ने चिजले स्वार्थको फेरो समातेर पारिपट्टि तरिसकेको छ । यस्तो वस्तुगत धरातलमा दुर्गा प्रसाईंहरूलाई चर्चाको शिखरमा पुर्याइएको छ । आवश्यकताभन्दा बढी हाउगुजी देखाइरहेको छ । तथ्य र यथार्थमा भन्दा पनि हल्ला र प्रचारमा रमाउने हाम्रो समाज त्यसैको पछि दौडिरहेको छ । सज्जनको वाणी निरीह बन्दैछ भने बहुला वाणी प्यारो भइरहेको छ । आखिर यस्तो किन ? यसै सन्दर्भमा यहाँ चर्चा गरिएको छ ।

राजनैतिक–वैचारिक कमाण्ड नहुनुः
आजकल नेपाली समाजमा राजनैतिक कमाण्ड फितलो भइरहेको छ । कुनै पनि समाज हमेसा राजनैतिक आन्दोलनको कमाण्ड अन्तर्गत दिशानिर्देश भइरहेको हुन्छ । सही राजनीतिले निर्देश गरिरहेको समाज मात्र सही दिशा पक्रेर गतिशील ढङ्गले अघि बढ्न सक्छ । मानव समाजलाई प्रगति पथमा अविचलरूपमा अघि बढाइरहने तत्व भनेको सही राजनैतिक कमाण्ड नै हो । अझ अप्ठ्यारो अवस्थामा झनै राजनैतिक कमाण्डको आवश्यकता बढी हुन्छ । आज हाम्रो समाजमा कुन राजनैतिक कमाण्ड सही र गलत हुन्छ भन्ने बहस भएकोे छैन । यहाँ त राजनीतिलाई निरपेक्षरूपमा निषेध गरिँदै छ । तर, यो सरासर गलत हुन्छ । किनभने राजनीतिले पैदा गरेको समस्या गैरराजनीतिक ढङ्गले समाधन हुन सक्दैन । यदि कसैले त्यस्तो कल्पना गर्छ भने त्यो कि त सरासर बनिबनाउ चाहना र सपना मात्र हुन्छ, कि त मान्छे दिग्भ्रमित गर्ने चालबाजी मात्र हो ।

हाम्रो राष्ट्रिय राजनीतिलाई स्पष्ट विचारधारात्मक दृष्टिकोणले नेतृत्व गरिरहेको छैन । यहाँ अग्रगामी, यथास्थितिवादी र पश्चगामीबीच कुनै कित्ताकाट छैन । राजनैतिक वैचारिकरूपमा भिन्न बहस छलफल भइरहेको देखिँदैन । अर्थात् यहाँ कम्युनिष्ट, प्रजातन्त्रवादी र पश्चगामीहरू औसत एउटै राजनैतिक लाइनमा छन् । सबैको अन्तिम उद्देश्य भनेको चुनाव जित्ने र बहुमत बनाएर सरकार गठन गर्नेभन्दा गतिलो योजना कसैको छैन । यसरी सबैको गोल एउटै भएपछि विचार, राजनीति, कार्यदिशा, कार्ययोजना र कार्यक्रमहरूमा भिन्नता हुने कुरा आउँदैन । सबैको एउटै साझा नारा हुन्छ । त्यो हो जसरी पनि चुनाव जित्ने । यस्तो नीतिले कुनै पनि पार्टी वा नेता कार्यकर्ताहबलाई नीतिगत आदर्श र मूल्यमान्यतामा अडिन सक्दैन । चुनाव अघि सबैले यो गर्छु, त्यो गर्छु । अरूले यो गरेन, त्यो गरेन । अब मलाई जिताउनुभयो भने म वा हामी सारा कायपलट गर्छौं भनेर वाचा कसम खान्छन् । तर, चुनाव जितेपछि उनीहरू उक्त वाचामा गम्भीर हुँदैनन् । परिणामतः जनता निराश बन्छन् । जनता आक्रोशित हुन्छन् । तब सिङ्गो संसदीय राजनीति तरङ्गित हुन पुग्दछ । त्यसपछि दुर्गा प्रसाईंहरू रातारात पर्दामा आउँछन् । अहिले भएको यही हो । यद्यपि हाम्रो समाजको विकल्प दुर्गा प्रसाईं होइन ।

वैदेशिक चलखेलः
वस्तुतः कुनै पनि व्यक्ति, वस्तु, सत्ता र संस्था स्थापित हुन लामो सङ्घर्षको प्रक्रिया गुजार्नु पर्दछ । कुनै पनि भौतिक वस्तु रातारात विकास हुँदैन । बच्चा जन्मनलाई पनि नौ महिना पर्खिनु पर्छ । यो साश्वत् जैविक नियम हो । तर, नेपाली राजनीतिमा पछिल्लो समय कुनै इतिहास र लगानी विना नै नाटकीय र चमत्कारिकरूपमा केही पात्रहरू स्थापित भइरहेका छन् । हिजोसम्म गुमनाम व्यक्तिहरू आज एकाएक चर्चामा आइरहेका छन् । राजनैतिक आन्दोलनहरू घनिभूतरूपमा अघि बढिरहेको बेला आफ्नो निजी र निहीत स्वार्थको लागि डलरको खेती गर्नेहरू आज राजनीतिको मूल प्रवाहमा मैमात्र जान्ने भन्दै कुर्लिरहेका छन् । कतिपयले त हुलहुज्जत गरेर नाम पनि कमाइसकेका छन् । सञ्जालमा बहकिएका जनतालाई बहकावमा पार्न र दिग्भ्रमित गर्न सफल भइरहेका छन् । यो कसरी भइरहेको छ ? यो तपार्इं हामी सबैको सरोकारको विषय हो । गम्भीर भएर खोजी गर्ने सवाल हो ।

नेपाली राजनीतिमा विदेशी चलखेल नयाँ होइन । यो पुरातन संस्कृति हो । त्यसमा पनि पछिल्लो  समय  राष्ट्रिय राजनीति लयमा छैन । गणतन्त्रलगायतका सङ्घर्षबाट स्थापित एजेण्डाहरूलाई तुहाउने दुष्प्रयास भइरहेको छ । यस्तो बेला वैदेशिक हस्तक्षेप र षड्यन्त्र अझ व्यापक हुन्छ । यही सिलसिलामा दक्षिण र पश्चिमा शक्तिहरू न्वारानको बल लगाएर लागिपरेका छन् । उनीहरूलाई नेपाल र नेपाली जनता स्वतन्त्र र स्वाभिमानी ढङ्ले अघि बढेको मन पर्दैन । अस्थिरता र भद्रगोल उनीहरूको चलखेल गर्ने आधारहरू हुन् । यसकारण उनीहरू अग्रगामी दिशामा रूपान्तरण भएको देखिसक्दैनन् । राजनीतिलाई लयमा ल्याउन दिँदैनन् । तब उनीहरू आजको नेपाली राजनीतिको मूल प्रवाहविरुद्ध हरेक किसिमका जालझेल गर्ने रणनीति बुझ्न कठिन छैन । राजनैतिक दलहरूलाई असफल करार गर्दै उनीहरू हिन्दु राज्यसहितको राजतन्त्र वा संवैधानिक राजतन्त्र पुनस्र्थापना गर्ने षड्यन्त्रमा लागिरहेका छन्, जसको लागि केही पात्रहरू योजनाबद्धरूपमा अघि बढाएका छन् । यसकारण प्रसाईं, शाही, लिङ्देन र रविहरू रातारात उदाएका छन् । उनीहरू संसारै जिते जस्तो गरिरहेका छन् । सारा संसार प्रलय हुन्छ जस्तो गरिरहेका छन् । त्यो भनेको सुनियोजित, परिचालित र निर्देशित हुनुको दुष्परिणाम हो ।

उपभोगवादी/नकारात्मक चिन्तनः
निश्चित विचार र राजनीतिले नेतृत्व नगरेको समाज राजनैतिकरूपमा सचेत हुँदैन । कुन सही र कुन गलत पनि ठम्याउन सक्दैन । कुन राजनैतिक विचार दृष्टिकोणले कहाँ पुर्याउँछ । यसको लक्ष्य उद्देश्य के हो आदि सवालमा न्यूनतम् ज्ञान हुँदैन । त्यति मात्र होइन, राजनीति के को लागि र राजनीति किन भन्ने आधारभूत सचेतना हुँदैन । उनीहरूलाई राजनीति भनेको हाम्रो उपभोगवादी चाहना पूरा गर्ने साधन हो भन्ने बाहेक अरू ज्ञान हुँदैन । तब नेताले यो गरेन त्यो गरेन भन्ने भन्दा उनीहरू माथि उठ्न सक्दैनन् । उपभोगवादी अधिकारहरूको मात्र वकालत गर्छन् । सचेत जनताको हैसियतबाट निभाउनु पर्ने कर्तव्य र जिम्मेवारीबारे अन्जान हुन्छन् ।

अर्थात् उनीहरूलाई राजनीतिले दिशानिर्देश गरिरहेको छैन । उनीहरूलाई पुँजीवादी, उपभोगवादी संस्कृतिले नराम्ररी गाँजेको छ । उडीजाने, गुडीजाने, खाइहाल्ने, लाइहाल्ने, मोज गरिहाल्ने अनि स्वाद लिइहाल्ने उपभोगवादी मनोविज्ञान उत्कर्षमा देखिन्छ । सम्भ्रान्त मुलुकहरूको देखासिकी गर्न पाए स्वर्ग पुगेको अनुभूति गर्ने हाम्रै समाज छ । मोजमस्ती गर्न पाए पुग्यो । रमाउन र रमाइलो गर्न पाए भयो । तब ढोङ र आडम्बरले नेटो काट्ने नै भयो । यस्तो निर्वैचारिक बहकिएको र बरालिएको जमातले सचेत एवम् धरातलीय निर्णयहरू गर्दैन साथै वस्तुवादी आकाङ्क्षाहरू राख्दैन । उनीहरू नकारात्मकता र गालीगलौजमा रमाउने गर्छन् । यही वस्तुगत भावभूमिमा उनीहरू हल्ला र प्रचारको पछि लाग्छन् । उनीहरूलाई सञ्जालमा गाली सुन्न पाए भयो अनि बहकिन पाए भयो । तब सञ्जालमा उफ्रिने दुर्गा प्रसाईंहरूजस्ता पात्रहरू उनीहरूको रोजाइमा पर्नु स्वभाविक हुन्छ । पछिल्लो समय भएको यही हो ।

निष्कर्षः
वस्तुतः नेपाली राष्ट्रिय राजनीतिमा फेसो खुस्किएका पक्षहरू धेरै छन् । सुुधार्नु पर्ने कामकुराहरू प्रशस्तै छन् । सच्चिनु वा रूपान्तरण हुनु पर्ने आयामहरू अनगिन्ती छन् । गल्ती, कमीकमजोरीहरू मनग्यै छन् । निर्मम् आत्मसमीक्षा गर्नुपर्ने सवालहरू धेरै छन् । आलोचनात्मक विधिबाट कमीकमजोरी पहिल्याउँदै रूपान्तरण गर्नुपर्ने मुद्दाहरू थुप्रै छन् । प्रणालीमा खोट भए प्रणालीकै विकल्प खोज्नुपर्ने वस्तुगत आवश्यकता पनि छँदैछ । यसको लागि आत्मगत तथा वस्तुगत रूपमा तयार हुनुपर्ने वस्तुगत परिस्थितिहरू बन्दैछन् । हाम्रो समस्या जहाँ हो, समाधन त्यहीँबाट मात्र सम्भव हुन्छ भन्ने न्यूनतम् ज्ञान राख्नै पर्नेछ ।

यसको लागि सही राजनैतिक, वैचारिक दृष्टिकोणको अवलम्बन पहिलो विकल्प हुनसक्छ । राजनैतिक कमाण्डको विकास दोस्रो विकल्प हुनसक्छ । दल, नेता तथा कार्यकर्ताहरू रूपान्तरण हुनु तेस्रो विकल्प हुनसक्छ । कूटनैतिकरूपमा वैदेशिक हस्तक्षेपको अन्त्य चौथो विकल्प हुनसक्छ । उपभोगवादी नभएर राजनैतिकरूपमा सचेत नागरिक हुनु पाँचौं विकल्प हुनसक्छ । सञ्जालमा बहकिने भन्दा पनि तथ्यमा पुगेर अनि अध्ययन गरेर प्रतिक्रिया दिने र धारणा बनाउने संस्कृति विकास गर्नु छैठौं विकल्प हुनसक्छ । राजनीतिले सिर्जना गरेको समस्या उन्नत राजनीतिले मात्रै समाधान गर्न सक्छ भन्ने सार्वभौम तथ्यमा पुग्नु सातौं विकल्प हुनसक्छ । तर शाह, प्रसाईं, लिङ्देन, शाही र लामिछानेहरू वर्तमान समस्या समाधानको वस्तुवादी विकल्प हुन सक्दैनन् । सबैलाई चेतना होस् !