विराटनगर । मोरङको पूर्व–पश्चिम राजमार्गको उत्तरी र दक्षिणीक्षेत्रमा फैलिएको घना जङ्गलबाट मिल सञ्चालकदेखि टिपर र जेसीबी सञ्चालकसम्मको मिलेमतोमा सालको काठ चोरी–तस्करी हुने गरेको खुलेको छ ।

केराबारी गाउँपालिका–९ र सुन्दरहरैँचा नगरपालिकाभित्र पर्ने लोहन्द्रा केराबारी साझेदारी वनबाट ठूलो परिमाणमा तस्करीको काठ मिलबाट बरामद भएपछि डिभिजन वन कार्यालयले गरेको अनुसन्धानबाट सङ्गठितरूपमा तस्कर समूहले जङ्गलभित्र जेसीबीले लोड गरी टिपरमा राखेर सालको काठ चोरी–तस्करी गरी लैजाने गरेकोे खुलेको हो । शनिबार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित नेहा स–मिलबाट तस्करीको पाँचवटा सालको टुना (३८.९ क्य.फिट) काठसहित मिल सञ्चालक बिन्धेश्वर साहलाई पक्राउ गरेको थियो । त्यसपछि डिभिजन वन कार्यालयले गरेको अनुसन्धानबाट जङ्गलभित्र काठ काट्ने उपकरणसहित जेसीबी र टिपर प्रयोग गर्ने गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको एक जना अनुसन्धान अधिकृतले बताए । ‘वनको काठ तस्करीमा गोलिया काठ काट्न विद्युतीय उपकरण प्रयोग भएको देखिएको छ । त्यसपछि टिपरमा लोड गर्न जेसीबी लगिएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ’ घटनाको अनुसन्धान गर्दै आएका एक अधिकृतले भने, ‘काठ तस्करीमा सङ्गठित समूहको संलग्नता छ । त्यसको खोजी कार्यमा हामी लागिपरेका छौँ ।’

तस्करीको काठ बरामद गरेको पाँच दिन बितिसक्दा पनि टिपर धनी हालसम्म पत्ता लगाउन सकेको छैन । प्रारम्भिक चरणको अनुसन्धानबाट जेसीबीको पनि संलग्नता देखिए पनि घटनामा प्रयोग भएका अन्य सवारी साधन, उपकरणहरू र अन्य थप व्यक्तिलाई पक्राउ गरेको छैन । घटना भएको झण्डै एक साता बितिसक्न लाग्दा पनि थप व्यक्ति र घटनामा संलग्न भएको टिपर सञ्चालकसमेत पक्राउ नगर्दा डिभिजन वन कार्यालयले अन्य आरोपीहरूलाई जोगाउन खोजेका आशङ्का उब्जिएको छ । वन सुरक्षा टोलीले टुना बोकेको को.१ ख ४४२८ नम्बरको टिपर र मिलका सञ्चालक साहलाई पक्राउ गरेपछि अन्य व्यक्तिको संलग्नता नदेखाउन अहिले दैनिकजसो जिल्लादेखि प्रदेश र सङ्घका नेताहरूले अनुसन्धान अधिकृतदेखि सहायक वन अधिकृतहरूलाई दबाव दिने गरेका छन् । ‘पक्राउ परेका प्रतिवादीलाई म्याद नथप्दासम्म फोन गरेर नेताहरूले हैरानी दिए । अहिले पनि दिनरात फोन गर्छन् । ‘हेरिदिनुप¥यो’ भन्दै फोन गर्ने गरेका छन् । हामी घटनाको तथ्यपरक अनुसन्धान गरी अभियोग अदालतमा लैजानेछौँ’–एक सहायक वन अधिकृतले भने । यसरी फोन गर्ने काङ्ग्रेसका नेताहरू रहेको ती अधिकृतले बताए ।

डिभिजन वन कार्यालयले पक्राउ परेका मिल सञ्चालक साहलाई बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छोड्ने आदेश दिएको छ । बिरामी भएको कारण देखाउँदै बोलाएको बेला उपस्थित हुने सर्तमा सरकारी वकिलको कार्यालयले साहलाई हाजिर जमानीमा छोड्न आदेश दिएको सहायक वन अधिकृत दीपेशकुमार मिश्रले बताए । डिभिजन वनले दोस्रो पटक वन ऐन अन्तर्गत म्याद थप गर्न लगेको थियो । तर, साहले सोडियम बढेको हस्पिटलको रिपोर्ट देखाएर हाजिर जमानीमा छोड्न सरकारी वकिलको कार्यालयमा निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा सरकारी वकिलको कार्यालयले पछि बोलाएको बेला उपस्थित हुने सर्तमा हाजिर जमानीमा साहलाई छाडेको छ ।

सहायक वन अधिकृत साहले टिपर धनी, चालक र यस घटनामा संलग्न अन्यलाई पक्राउ गर्न लागिपर्ने बताए । टिपर धनी पत्ता लगाउन यातायत व्यवस्था कार्यालयमा बुधबार पत्राचार गरेको थियो । ‘पक्राउ परेको टिपर धनी पत्ता लगाउन हामीले यातायात व्यवस्था कार्यालयमा पत्राचार गरेका थियौँं । टिपर धनी पत्ता लागेपछि हामी उसलाई पनि नियन्त्रणमा लिनेछौँ र अनुसन्धान अगाडि बढाउनेछौँ’ उनले भने, ‘चाडपर्वले गर्दा केही ढिलो भएको हो ।’ सहायक वन अधिकृत साहले टिपर धनी र चालकको नाम भने अहिले बताउन चाहेनन् । लोहन्द्रा केराबारी वन सरकारी वन हो । यो वन करिब ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । यसअघि पनि करिब एक सय क्यु.फिट काठ चोरी भएको डिभिजन वन कार्यालयले जनाएको छ । यसअघि पनि चोरी भएको विषयामा अनुसन्धान गर्दै आएको सहायक वन अधिकृत माझीले बताए । अहिले बजारमा सालको काठ प्रतिक्यु.फिट सरकारी मूल्याङ्कन १ हजार रुपैयाँ रहेको छ । बजारमा ३ हजारदेखि ४ हजार प्रतिक्यु. फिट काठ बिक्री हुने गरेको छ । चिरान गरेर बिक्री गर्दा प्रतिक्यु. फिट ५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ । त्यसैले पूर्वको वनबाट सालको काठ चोरी–तस्करी हुने गरेको यस क्षेत्रका जानकारहरू बताउँछन् । चोरी गरेको काठ नजिकको काठ मिलमा लगेर बिक्री गर्छन् ।

पछिल्लो समय वन रक्षकहरूको अभावका कारण पनि केराबारी, सुन्दरहरैँचा, बेलबारी र कानेपोखरी क्षेत्रका वनबाट काठ तस्करी बढ्दै गएको पाइन्छ । तस्करहरूले काठ मिल र फर्निचर उद्योगसँग मिलेमतो गरेर काठ तस्करी र बिक्री गर्ने गरेको पाइएको छ ।

सर्वसाधारण नागरिकले नै सम्बन्धित निकायसमक्ष वन क्षेत्रमा काठ तस्करी बढेको गुनासो गरिरहेको र सव–डिभिजन वन कार्यालयहरूले त्यस्तो गुनासो बढेको स्वीकार गर्नुले वनक्षेत्रमा पछिल्लो समय तस्करहरूको आँखा लागेको सहज अनुमान गर्न सकिन्छ । राष्टिूय सम्पत्तिको रूपमा रहेको वन क्षेत्रको संरक्षणमा सबै लाग्नुपर्ने कार्यालयको भनाइ छ ।