आजभन्दा झण्डै तीनसय वर्षअघि उपत्यकामा महामारी प्रकोपको  कारण तत्कालीन मूलथलो नेपाल मण्डलको पाटनस्थित कुम्भेश्वर शिवमन्दिर धालाछेँ टोलबाट दुई दाजुभाइ हात्तीराम र मस्तराम विस्थापित भई बनेपा, धुलिखेल, नाला, पनौतीमा केही वर्ष बसी महामारी प्रकोप शान्त भएपछि महिनौंदिन लगाएर दुर्गम पहाड, जङ्गल, र नदी–नाला पार गरी जन्तु, जनावरहरूको आक्रमणबाट बचेर पूर्वी नेपालको प्रकृतिले सिँगारिएको सौन्दर्य ऐतिहासिक चैनपुरगोला बजारमा पुगी स्थापित भए । मूमिकस समुदायको तीनसय वर्ष लामो इतिहास बोकेको सेरोफेरोमा सङ्खुवासभा जिल्लाको चैनपुरको उर्वर मलिलो जमिन र अनुपम प्राकृतिक सुन्दर छटाहरूले परिपूर्ण सुरम्य भू–भागले धनकी देवी लक्ष्मी र विद्याकी देवी सरस्वतीको आशीर्वाद प्राप्त चैनपुर निवासी मूमिकस समुदायले अनेकौँ पौरखी र प्रतिभाहरू जन्माए । 

तर एउटै व्यक्तिलाई लक्ष्मी तथा सरस्वती दुवैको आशीर्वाद प्राप्त एकमात्र बरदपुत्रको नाम हो समाजसेवी, धर्मप्रेमी पचासी वर्षीय कृष्णगोपाल श्रेष्ठ । उनी मूमिकस समुदायका पौरखी प्रतिभाका एक उज्वल नक्षत्र हुन् । कुलको भीष्मपितामह हुन् । उनी पूर्वाञ्चलकै प्रसिद्ध पौरखी पिता भोलामान श्रेष्ठ र माता स्व.वसुन्धरा श्रेष्ठको कोखरूपी गङ्गोत्रीबाट गृष्म ऋतु (जेठ–आषाढ) को अन्त्य भई वर्षा ऋतु (श्रावण–भाद्र) को उदयमा साहिँला सुपुत्रको रूपमा नेपाल संवत् १०५९ दिल्लाथ्वः पून्ही (वि.सं.१९९६ साउन १६ गते सोमबार) रक्षाबन्धन (जनैपूर्णिमा) को पावन दिनमा चैनपुर बजारमा जन्म भएको हो । जहाँ जन्मिए, हुर्किए, प्रारम्भिक शिक्षा आर्जन गरे, उनको जीवनमा ज्योति बालिदिने अर्थात् शिक्षाको उज्यालो घामको प्रकाश पारिदिने चैनपुरको तत्कालीन सरस्वती मिडिल स्कुल हो । चैनपुरपछि धनकुटाको गोकुण्डेश्वर हाई स्कुल हुँदै थप अध्ययनका लागि काठमाडौँस्थित पद्मोदय हाई स्कुलबाट २०१२ सालमा एस.एल.सी.उत्तीर्ण गरुे । उच्चशिक्षाका लागि भारतको वनारस गई २०१४ सालमा इन्टरमिडियट गर्न सफल भए ।

अध्ययनलाई नियमित रूपमा अगाडि बढाउँदै स्नातक तह अध्ययनका लागि काठमाडौं आई त्रि–चन्द्र क्याम्पसबाट २०१६ सालमा स्नातक उत्तीर्ण गरी २०१८ सालमा त्रि.वि.बाट स्नातकोत्तर (एम.ए.) उत्तीर्ण गरे । हुने बिरुवाको चिल्लो पात भने झैँ चैनपुरबाट कीर्तिमान कायम गर्ने पौरखीहरूमध्ये उनी पहिलो भए । यो उनलाई खुसीको कुरा थियो । त्यही खुसी बोकेर जन्मथलो चैनपुर फर्केका उनलाई बाल्यकालमा आपूmले पढेको सरस्वती हाई स्कुलको केही वर्ष हेडमास्टर हुने अवसर मिल्यो । त्यसपछि उनी सिद्धकाली मन्दिर समाजका संस्थापक सदस्य भए । उनले धेरै समय हेडमास्टर भएर बस्दा कुनै भविष्य नदेखेपछि राजीनामा दिई काठमाडौंतर्फ लागे । तत्कालीन अवस्थामा राजा महेन्द्रले राम्रो पढे लेखेका सबैलाई सरकारी काम दिने नीति लिएका थिए । राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका त्रिभुवन विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा पेशागत विकास गर्ने उद्देश्यले डिग्री प्राप्त गरेका मेधावी कृष्णगोपाल श्रेष्ठज्यूले श्री ५ को सरकारको सरकारी नीतिअनुसार राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृत भई मन्त्रिपरिषद् सचिवालयमा आबद्ध रही करिब अढाई वर्ष सेवा गरे ।

एक विद्या चौध चतुर्याइँ भन्ने नेपाली उखान झैँ उनी आप्mनो लक्षमा पुग्न नसक्ने परिस्थिति देखेपछि उनले स्वेच्छाले राजीनामा दिई उद्योग तथा व्यापारको क्षेत्रमा प्रवेश गरे । उनी यसै क्षेत्रबाट राष्ट्रियस्तरमा एक इमान्दार, कर्तव्यनिष्ठ तथा पौरखीको रूपमा स्थापित भए । प्रारम्भमा काठमाडौंको कमलपोखरी हुँदै ललितपुरको कोपुण्डोलमा स्थायी बसोबास गर्दै आएका उद्योगी तथा समाजसेवी कृष्णगोपाल श्रेष्ठ प्रकाश केवुल प्रा.लि., नेपाल प्लाष्टिक प्रा.लि.र लक्ष्मी प्लाष्टिक प्रा.लि.मा आबद्ध रहेका छन् । उनको बुद्धि विवेक तथा उदारताले उनको जन्मस्थान चैनपुर मात्र नभएर राष्ट्र नै प्रभावित भएको छ । मातापिता समाज देवीदेवता तथा सद्गुरुप्रतिको ऋणबाट मुक्त नभईकन मानिस यथार्थमा स्वतन्त्र हुन सक्दैन भन्ने कुरा हिन्दू सनातन धर्म संस्कृति र संस्कारमा अटल रहेको छ । यही धर्म संस्कृति र संस्कारलाई आत्मसात गर्दै उनले स्वर्गीय मातापिताको स्मृतिमा धनकुटाको तमोर नदी मूलघाटस्थित विश्रान्ति मन्दिरमा वृद्धवृद्धा बस्ने ९ कोठाको एउटा उपचार केन्द्र भवन, चितवन देवघाटस्थित हरिहर मन्दिरमा ८ कोठा भएको एउटा धर्मशाला, काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको परिसरमा सर्वसाधारणका लागि एउटा उपयुक्त किरियाघर, डिल्लिबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसका लागि एउटा वैज्ञानिक प्रयोगशाला भवन, पाटन शङ्खमूलको मलामी बस्ने घर जीर्णोद्धार गर्न पाटन रोटरी क्लबलाई एकलाख दशहजार रुपैयाँ दिई सो कार्य सम्पन्न गराए ।

उपत्यकाबाहिर विराटनगरस्थित झी पुचः मन्दिरको परिसरमा एउटा सभाकक्षको निर्माण आप्mनी स्वर्गीय आमा वसुन्धरा श्रेष्ठको स्मृतिमा बनाइदिए । वरिष्ठ समाजसेवी एवम् धर्मप्रेमी कृष्णगोपाल श्रेष्ठले धरानको विकासका लागि उनले धरानको सांस्कृतिक एवम् विभिन्न कार्यक्रमहरू गर्न देवीदेवताहरूले बास बसेको पौराणिक, ऐतिहासिक विजयपुर र विजयपुरपछिको सुन्दर नगरी धरानको सिद्धि नेवाः परिषद्को पूर्वतर्फको परिसरमा आप्mना पूज्य आमाको स्मृतिमा ‘वसुन्धरा श्रेष्ठ स्मृति सदन २०७२’ र दोस्रो तलामा बुबा ‘भोलामान श्रेष्ठ मूमिकस स्मृति सदन २०७३’ सुविधायुक्त दुई तलाको भवन निर्माण गरी माता पिता समाज देवीदेवता तथा सद्गुरु सबैको ऋणबाट मुक्त भई धर्मको ढोका खोलिदिए । नेवार कुलका भीष्मपितामह उनको सो कार्यको उच्च मूल्याङ्कन गर्दै दानवीर दाताको रूपमा काठमाडौं राजधानी र उपत्यकाबाहिर पूर्वी नेपालको जेठो नेवार संस्थाको रूपमा स्थापित झीगु समाज धरानले शङ्खधरकृत नेपाल सम्बत् ११४४ नववर्ष (२०८० कात्तिक ८ गते म्हःपूजा) का दिन झीगु समाज धरानद्वारा आयोजित सिद्धि नेवाः परिषद्परिसर वसुन्धरा श्रेष्ठ मूमिकस स्मृतिसदन कक्षमा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङज्यूबाट सम्मान गर्दै अभिनन्दन प्राप्त गरियो । झीगु समाज धरान र सिङ्गो धरानवासी उनको सुख, सु–स्वास्थ्य एवम् दीर्घायुको कामना गर्दछौँ ।

(कर्माचार्य नेवा सांस्कृतिक धरानबारे विभिन्न तथ्याङ्क सङ्कलन गर्ने खोजमूलक लेखक तथा झीगु समाज धरानका उपाध्यक्ष हुन् ।)