दशैं र तिहार सकिएलगत्तै अहिले विशेषगरी तराई क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । छठलाई तराईमा मनाइने पर्वका रुपमा चिनिँदै आएपछि पछिल्लो समय छठ पहाडमा पनि मनाइन थालेको छ । छठ मनाइएका घाटहरुमा पहिला मधेसी समुदायहरु मात्र देखिन्थे तर, अचेल मधेसीसँगै विभिन्न समुदायका मान्छे पूजा गरिरहेका भेटिन्छन् । अझ महŒवपूर्ण कुरा छठलाई पछिल्लो समय विभिन्न धर्म र समुदायका मान्छेले साझा पर्वका रुपमा मनाइरहेका छन् । छठले तराई र पहाडलाई मात्र जोडेको छैन, देशभित्र रहेका विभिन्न जाति र धर्मलाई पनि जोडिरहेको छ । त्यसैले छठ नेपालीहरुबीच सामाजिक, धार्मिक सद्भावको पर्व बनिरहेको छ । विगतमा मधेसी समुदायको पर्व भन्ने गरिएको छठलाई सबै समुदायले स्वतःस्फूर्तरुपमा मनाउनुले हाम्रो समाज एक–अर्काको संस्कृतिलाई सम्मान गर्न र मिलेर बस्न चाहन्छ भन्ने सन्देश दिएको छ ।    

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक राष्ट्र हो । देशभर मात्र होइन, एउटै प्रदेश र एकै पालिकाभित्र पनि धेरै जाति, समुदायको बसोबास रहेको छ । यस्तो जातीय, धार्मिक र सांस्कृतिक विविधता देशको सम्पत्ति पनि हो । यो विविधताबीचको एकता नै नेपालीको शक्ति पनि हो । यही शक्तिबाट तर्सिएर कतिपय शक्ति राष्ट्रले नेपालको सामाजिक शक्तिलाई कमजोर बनाउन खेल खेल्ने गरेको आरोप पनि लाग्ने गरेको छ । कहिले देशभित्रका जातिबीच, कहिले धार्मिक समुदायबीच त कहिले संस्कृतिबीचमा द्वन्द्व फैलाउने चेष्टा नभएका पनि होइनन् । नेपालभित्रका विभिन्न समुदायलाई छुट्याउनसके नेपालीको शक्ति कमजोर हुने र त्यही कमजोरीमा खेलेर फाइदा लिने दाउ पनि शक्ति राष्ट्रहरुको हुन सक्छ । छठ पर्वमा जसरी नेपाली समुदायबीचको एकता प्रदर्शन भएको छ, यसले समुदायमा फुट ल्याउन खोज्नेलाई नेपाली समाज त्यति कमजोर छैन भनेर गतिलो झापड पनि हानेको छ । यो सामाजिक सद्भाव सदा कायम रहनु आवश्यक छ ।

संस्कृतिले समाज जोड्छ अनि राजनीतिले समाजमा विभाजन ल्याउँछ भन्ने भनाइ नै छ । राजनीतिक स्वार्थका कारण नेपालमा पनि विभिन्न समुदायमा विभाजन ल्याउने गतिविधि पटक–पटक हुने गरेको छ । छठ पर्वमा देखिएको यो सामाजिक सद्भावलाई राजनीतिक दलहरुले पनि मनन् गर्नु आवश्यक छ । नेपाली समाज विविधताले भरिएको हुनाले यहाँ राजनीति गर्नेहरुले पनि समाजलाई विभाजन गरेर होइन, विविधता बुझेर समान व्यवहार गर्नु आवश्यक छ । छठ पर्वले नेपाली राजनीतिज्ञ र नेपाली समाजका अगुवाहरुलाई समाजलाई फुटाउने होइन, जोड्ने काम गर्नु पर्ने सन्देश दिएको छ । छठले मात्र होइन नेपालका सबै समुदायका चाडपर्वलाई आपसी सद्भाव बढाउने पर्वका रुपमा मान्नु आवश्यक छ । छठले जस्तै दशैं र तिहारले पनि नेपाली समुदायलाई आपसमा जोड्ने काम गरेका छन् । दशैं र तिहार नेपालमा र नेपाली समुदाय भएका ठाउँमा मनाइने चाडका रुपमा विकास भएका छन् । यद्यपि यी चाडसँग जोडिएका कतिपय कथा र किस्साले हिन्दु धर्मसँग जोडेका कारण अन्य समुदायले यसलाई मान्ने कि नमान्ने भन्ने बहस पनि हुने गरेको छ । हिन्दु धर्मावलम्बी भएका अन्य देशमा भन्दा नेपालमा भिन्न तरिकाले मनाइने भएकाले दशैं, तिहार पनि सद्भावको चाड बन्न सक्छन् । अन्य जाति, समुदायले मनाउँदै आएका चाडमा पनि सबै नेपालीले सद्भावको चाडका रुपमा लिन सकुन् । छठ पर्वले सबैलाई सद्भावको शिक्षा दिन सकोस् ।