कृषि पेशालाई समृद्धिको आधार मान्दै वराहक्षेत्र १ स्थित नहर डाँडामा पूर्व प्रहरी तथा हाल नेकपा माओवादी केन्द्रका वराहक्षेत्र १ का अध्यक्ष केवल राई (महेन्द्र) ले गाउँमै कृषि, पशुपालन तथा पोल्ट्री फार्म सुरु गरेका छन् । 

‘पेन्सन आएको २० वर्ष भयो । पार्टीले वडाको अध्यक्षको भूमिका दिएको छ, यता आफ्नै कृषि फार्म पनि सुरु गरेको छु,’ महेन्द्रले भने,‘गाउँको समृद्धिको आधार भनेको नै कृषि, पशुपालन नै रहेछ, त्यसमै लागि परेको छु ।’

उनकी श्रीमती पवित्रा राईको नाममा वराह पोलट्री फार्म दर्ता गरेर लोकल कुखुरा र चल्लाहरु समेत बिक्री गर्दै आएका छन् । राई दम्पत्तिले कडकनाथ कुखुरा (कालो जातको कुखुरा) पालेका छन् । गाउँमा लोकल कुखुराको माग पूरा गर्न व्यवसाय सुरु गरेको महेन्द्रले बताए । उनले फार्ममा कालो जातको कुखुरा १ सय वटा र स्थानीय जातको १ सय वटा कुखुरा हालेका छन् । 

कुखुराको आहार र खानपानका लागि प्राकृतिक रुपमै उनले बोट विरुवा रोपेका छन् । ७ कट्ठा जग्गालाई वरपर घेरा हालेर उनले सजिवन, किम्बु, केरालगायतका बोटविरुवा रोपेका छन् । त्यहीं कालो जातका कुखुरा छाडिदिएका छन् । सात कट्टठा जमिनमा हावा पानीबाट बच्न खोर बनाइदिएका छन् । कुखुरा आवश्यक पर्नेहरुले फार्मभित्रै प्रवेश गरी छानीछानी रोजीरोजी खरिद गर्न पाउँछन् । जिउँदो कुखुराको मूल्य प्रति केजी ७ सय रुपैयाँ तोकेका छन् । कालोजातको कडकनाथ कुखुरा स्थानीय जातभन्दा विशेष किसिमको रहने सुनेपछि उनले यो कुखुरा पालन सुरु गरेका हुन् । 

Kebal Rai Mahendra Chatara Krishi Pesha

‘ब्रोइलर जस्तो बन्धनमा छैन । खुल्ला छाडा छोडेर पालेको छु, प्राकृतिक रुपमा घाँस खान्छ, चारो आफैं खोजेर खान्छ ।’ महेन्द्रले भने, ‘मकैको च्याँख्ला पचास रुपैयाँ केजी पुगेको छ  बजार भाउ महँगो छ ।’

कुखुरा पालनमा महेन्द्रले चुनौती पनि भोगेका छन् । पोहोर ६० वटा चल्ला न्याउरी मुसाले मारिदियो । रोगव्याधिविरुद्धको खोप र औषधिमा लगानी गर्नुपर्छ । जाडो महिनामा बढी रोग लाग्ने, आँखा पाक्ने लगायतका प्रकोप फैलिन्छन् । त्यसबाट बच्न लगानी बढेर जान्छ । सहयोग कतैबाट आउँदैन । यसपाली एक सय वटा चल्ला लगाएकामा ५० वटा मात्रै  हुर्किएका छन् । आर्थिक सहयोग स्थानीय तहबाट पाइन्छ भने थाहा पाए पनि ‘प्रोसेस’ नगरेको उनी बताउँछन् । 

महेन्द्रले कृषि, पशुपालनसम्बन्धी तालिम लिएका छैनन् । तर आफैंले अध्ययन गरेर, युट्युब हेरेर अनुभवका आधारमा काम सुरु गरेको बताउँछन् । ‘गर्दै–हेर्दै–सिक्दै काम गरिरहेको छु ।  अहिलेसम्म ‘लस’मै छु, मुनाफा आउला कि भन्ने आशा पनि छ ।’

कुखुराबाहेक उनले फार्ममा बाख्रा, सुँगुर र माछा पनि पालेका छन् । स्थानीय र परम्परागत प्रविधिको प्रयोग गरी उनले पदमचाल, ठूलो ओखती र पाखनवेदलगायतको जडिबुटीको अग्र्यानिक रक्सी पनि बनाउँदै आएको बताउँछन् । 

बारीमा रायो, तोरी लगाएका छन् । अकबरे र रागे खोर्सानी फलाएका छन् । फलफूलमा मेवा, ड्रागनफ्रुट र कालो अङ्गुर, बडहर, भुइँकटहर, कागती रोपेका छन् । एभोकाडोका विरुवा बढ्दै छन् । उनले आँप पनि लगाएका छन् । 

महेन्द्रको फार्म पुग्ने जो कोहीलाई पनि स्थानीय रमणीय वातावरणले लोभ्याउँछ । उनले आगन्तुकलाई फार्ममै खाने–पिउने वातावरण तयार गरिदिएका छन् । 

प्रहरी सेवामा हुँदा महेन्द्रको दरबन्दी डडेलधुरा रहेको थियो । मेचीदेखि महाकालीसम्म डुलेका उनले महाकालीको रुपालगाडसम्म पुगेको अनुभव सुनाए । प्रहरी सेवापछि रोगजारीका लागि मलेसियासम्म पुगेका महेन्द्र चिनियाँ नागरिकको काम गर्ने तरिकाबाट प्रभावित भएको सुनाउँछन् । 

‘अर्काको देशमा मरीमरी काम गर्छौं, आफ्नो देशमा बेगारी बस्नु पनि भएन, गाउँमा केही गर्नुपर्छ भन्ने इच्छा जोसजाँगर भएरै कृषिकर्म रोजेको हुँ,’ महेन्द्रले भने, ‘मिहिनेत भने गर्नुपर्छ, तालिम नगरे पनि अहिले प्रविधिले सजिलो बनाइदिएको छ, युट्युब हेरेरै पनि नयाँ काम गर्न सकिन्छ ।’

Kebal Rai Mahendra Chatara Krishi Pesha (1)

आस्थाका आधारमा गाउँमा सामान्य राजनीति गरेको सुनाउने महेन्द्रले राजनीतिलाई सेवाका रुपमा बुझेका छन् । ‘राजनीति गर्ने मान्छे समाजको अगुवा कहलाउँछ, उही नै मिहिनेत परिश्रम गर्दैन, समाजमा अनुकरणीय बन्दैन भने उसको राजनीति कसरी विश्वसनीय होला ?’ महेन्द्र प्रश्न गर्दै भन्छन्, ‘अहिले लगानी गर्ने काम मात्र गरेको छु, मिहिनेतपछि प्रतिफलको पर्खाइ गर्नुपर्छ सफलता अवश्यै हात लाग्छ ।’ 

महेन्द्रले नहर डाँडामा कृषि, पशुपालन व्यवसाय गरेको झण्डै ५ वर्ष भयो । व्यवसायबाट उनी सन्तुष्ट रहे पनि सिँचाइको अभावमा व्यवसाय फस्टाउन नसकेको उनको गुनासो छ । चतरा नहर र  कोसी नदीको बीचमा रहेको यो ठाउँमा पानी तानेर ल्याउन पनि खर्चिलो छ । डिप बोरिङ गरेर पानी निकाल्न स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनी बताउँछन् । प्रदेश सरकारले ‘डिप बोरिङ’ गर्ने काम गरे पनि आवश्यक संरचना निर्माण नहुँदा सिँचाइको दुःख रहेको महेन्द्रको भनाइ छ । अर्को वर्ष प्रदेश सरकारको सहयोगमा सिँचाइ हुनेमा उनी आशावादी पनि छन् ।