पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार मध्यराति गएको भूकम्पबाट एक सय ५७ भन्दा बढीको ज्यान गएको र दुई सयभन्दा बढी घाइते भएको सार्वजनिक भइसकेको छ । अझै अन्य भौतिक तथा आर्थिक क्षतिको यथार्थ विवरण आइसकेको छैन । ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय क्षति पु¥यायो । यो २०७२ सालको महाभूकम्प पछिको ठूलो मानवीय क्षति हो । नेपालमा भूकम्पको जोखिममा रहेको देश मानिन्छ । हरेक सय वर्ष हाराहारीमा महाभूकम्प जाने गरेको नेपालमा २०७२ वैशाख १२ को भूकम्पमा परेर ९ हजारभन्दा बढीको ज्यान गएको थियो । पटक–पटकको भूकम्पमा परेर धन र जनको ठूलो क्षति भइरहँदा पनि नेपालमा आवश्यक मात्रामा सतर्कता अपनाउन सकिएको देखिँदैन ।

विज्ञहरुले पश्चिम नेपालमा कुनै पनि बेला ठूलो भूकम्प जान सक्ने भनेर सचेत गराउँदै आएका थिए । विज्ञहरुले भनिरहेपनि तीनै तहका सरकारले सतर्कताका लागि ध्यान दिएनन् । भूकम्पले बेलाबेला आफै पनि सतर्क गराउँदै आएको छ । एक महिनाअघि मात्र बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको थियो । त्यसबेला एक जनाको ज्यान गएको थियो भने गतवर्ष डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको ज्यान गएको थियो । पछिल्लो समय लगातार पश्चिम नेपालमा भूकम्प गईरहँदा विज्ञहरुले भने अनुसार सतर्कता अपनाउन सरकारले तदारूकता देखाउनु पर्नेमा त्यसो गरेन । न सङ्घीय सरकारले भूकम्प सचेतनाका लागि गतिलो कार्यक्रम ल्यायो न त प्रदेश र स्थानीय सरकारले नै । भूकम्पका लागि ल्याइएका कार्यक्रमहरु पनि औपचारिकतामा सीमित बने । यस्ता अधिकांश कार्यक्रम प्रभावकारी बन्न सकेनन् । २०७२ सालको भूकम्पअघि पनि विज्ञहरुले पटक–पटक सतर्क नगराएका होइनन् । त्यसबेला पनि सरकारले आम नागरिकलाई भूकम्पबाट जोगिनका लागि आवश्यक सतर्कताबारे सचेत गराउन सकेन । न आम नागरिकले नै सतर्कता अपनाउन ध्यान दिए । महाभूकम्पपछि त कम्तिमा नागरिकदेखि सरकारसम्मले भूकम्पको जोखिमबारे बुझेको हुनुपर्ने हो । जाजरकोट भूकम्पबाट अहिले पनि कसैमा सचेतना नआएको प्रष्ट हुन्छ । २०७२ को महाभूकम्पबाट सचेत बनेर विज्ञहरुको भनाइ मानेको भए र सोही अनुरुप नीति बनाएको अनि काम गरेको भए पश्चिम नेपालमा ठूलो क्षति नहुन सक्थ्यो । हामी भूकम्पमाथि बसेका छौँ, त्यसैले जुनसुकै बेला सतर्क रहनु पर्ने अवस्था छ ।

अब भूकम्प गइसक्यो, चिन्ता र विवाद गरेर भन्दा सबै मिलेर सतर्कता अपनाउँदै पीडितहरुलाई सहयोग गर्नु आवश्यक छ । भूकम्पबाट घरबारविहीन भएकाहरुलाई गाँसबासको चिन्ता थपिएको छ । बस्ने बासस्थान र खाने अन्न सामल नभएर बिजोग भएकाहरुलाई तुरून्तै आवश्यक सहयोग गर्नु जरूरी छ । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल र विभिन्न मन्त्री तथा नेताहरु जाने लहर चलेको छ । सबै भीड लागेर जाने खर्चले उनीहरुका लागि आवश्यक कुराको व्यवस्थापन गर्नु उचित हुन्छ । त्यससँगै विज्ञहरुले पश्चिम नेपालमा अझै ठूलो भूकम्प जान सक्ने खतरा बाँकी रहेको बताइरहेका छन् । किनभने पाँच सय वर्षभन्दा लामो समयदेखि ठूलो भूकम्प नगएको यो क्षेत्रमा अहिले गएको भन्दा ठूलो भूकम्प जान सक्ने शक्ति सञ्चित भएर बसेको छ । यदि त्यो शक्ति बाहिर निस्कियो भने अहिलेको भूकम्पले कमजोर बनाएका संरचना झनै ध्वस्त हुने छन् र ठूलो मानवीय क्षति निम्तिन सक्छ । त्यसैले सतर्कता अझै अपनाउनु जरूरी छ । तीनै तहका सरकारले पीडितहरुलाई सुरक्षित ठाउँमा बस्ने व्यवस्था मिलाउन आवश्यक छ । पश्चिम नेपालमा मात्र होइन, देशैभरका नागरिकलाई सुरक्षित राख्ने हो भने सचेतनाका कार्यक्रम तुरून्तै लागू गर्नु जरूरी छ । किनभने भूकम्पको खतरा सकिएको छैन, अझै जुनसुकै बेला भूकम्प जान सक्छ ।