विजयपुर । जोगबनी–किमाथाङ्का व्यापारिक मार्गअन्तर्गत सुनसरीको इटहरीस्थित तरहरादेखि सेउती पुलसम्मको सडक खण्डमा निर्माण गरिरहेको ठेकेदार कम्पनीको ‘म्याद थप रोक्का’ गरिएको छ ।

ठेकेदार कम्पनी हिमढुङ प्यासिफिक जेभीले तीन वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने गरी सरकारसँग सम्झौता गरेको थियो । उक्त सडक छ लेन सडक आयोजनाले हेर्दै आएको छ । २०७७ असार मसान्तबाट २०८० असार मसान्तसम्म करिब ७ किलोमिटर सडक निर्माण सम्पन्न गर्ने गरी जेभीसँग सम्झौता भएको हो । तर, निर्धारित मितिमा सडक सम्पन्न नगरेपछि ठेकेदार कम्पनीसँग म्याद थप रोक्का गरिएको छ लेन सडक आयोजनाले जनाएको छ ।

सङ्घीय सरकारले म्याद थप रोक्का राख्नू भन्ने आएको उत्तर/दक्षिण व्यापारिक मार्ग बिस्तार आयोजना रानी–विराटनगर–इटहरी–धरान सडक योजनाकी इन्जिनियर अस्मिता सुवेदीले बताइन् । उनका अनुसार जेभीले एकोहोरो रूपमा सडकको आवतजावतलाई सहज नबनाएसम्म म्याद थप नगर्ने बताइन् । उनले भनिन्, ‘माथिबाट नै म्याद थप रोकिएको छ ।’ तर, समयसीमा थप्ने विषय चाहिँ प्रक्रियामा रहेको उनले बताइन् ।

ठेकेदारको तर्फबाट काम नसक्ने अवस्था भएमा ठेक्काको समयसीमा सकिनुभन्दा २१ दिन अगावै समय थपको लागि प्रक्रिया अगाडि बढाउनु पर्छ । ठेकेदार कम्पनीले समयसीमाको थप माग गरे पनि सडक निर्मणको कामलाई निरन्तरता नदिएकाले हालसम्म समय थप गरेको छैन । सयमसीमाभित्र सडक निर्माण नगरेमा ठेकेदार कम्पनीलाई प्रतिदिन १० प्रतिशतका दरले हर्जना (जरिबाना) लिन सकिने प्रावधान रहेको उनले बताइन् ।

तर, हालसम्म आयोजनाले जरिबाना पनि तिराउन सकेको छैन । इन्जिनियर सुवेदीले भनिन्, ‘ठेकेदार कम्पनीलाई हर्जना लिन र ठेक्का रद्द गर्न सकिन्छ तर त्यो भन्दा सडक निर्माणको काम सुरु गरेमा म्याद थप गर्नु राम्रो हुन्छ ।’ उनका अनुसार हालसम्म ठेकेदार कम्पनीले करिब ५० प्रतिशतको हाराहारीमा मात्रै काम गरेको अनुमान गरिएको छ ।

इन्जिनियर सुवेदीले भनिन्, ‘भौतिक प्रगति हालसम्म ५० प्रतिशत मान्न सकिन्छ ।’ योजना कार्यालयका अनुसार काम गर्ने श्रमिकहरूलाई पनि ज्याला नदिएपछि कार्यस्थल छाडेका छन् । तर, योजना कार्यालयले भने रकम भुक्तानी गरिसकेको बताइन् । ‘त्यो ठेकेदारको तर्फबाट गल्ती भएको देखिन्छ, यताबाट त भुक्तानी भइसकेको छ’ उनले भनिन् ।

३९ प्रतिशत कम (बिलो) ४३ करोडमा ठेक्का लिएको कम्पनीलाई योजनाले ४१ प्रतिशत रकम भुक्तानी गरिसकेको जनाएको छ । इन्जिनियर सुवेदीका अनुसार कार्यालयले ठेकेदारलाई रकम भुक्तानी गर्न बाँकी छैन । निर्माणाधीन सडक अलपत्र छाडेपछि यात्रु र सवारी चालकहरूले सास्ती बेहोर्दै आएका छन् भने दुर्घटना पनि बढिरहेको छ ।