धरान । जेन जी आन्दोलनको नाममा धरानका पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बोको कञ्चनजङ्गा होटलमा भदौ २४ गते राति क्षति पुर्याएपछि उनले १२ जनाविरुद्ध भदौ ३१ गते किटानी जाहेरी दिए । धरान–१७ का मिलन बान्तवासहितको नाममा इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका थिए ।
यस्तै असोज २ गते निवर्तमान उपप्रमुख मञ्जु भण्डारीसहित ६ जनाले पनि किटानी जाहेरी दिएका थिए । धरानका राजनीतिक दलहरूले पनि असोज ५ गते किटानी जाहेरी दिएका थिए । तर, त्यसउपर हालसम्म कारबाही भएको छैन । तत्कालीन इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी प्रकाश जवेगूले ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग–२०८२’ ले निर्देशन गरेअनुसार अगाडि बढ्ने बताएका थिए । आयोगले पनि बीचमा मुख खोलेको थिएन ।
भदौ २३ गते १९ जनाको हत्या भएको आक्रोसमा भोलिपल्ट अर्थात् भदौ २४ गते देशभर जनआक्रोस बढ्यो र सोहीअनुसार भौतिक संरचनाहरू जले । धरानमा भने भदौ २४ गते जेन जी आन्दोलन सकिएको घोषणा गरिएको साँझबाट विभिन्न व्यक्ति तथा होटलमा गई तोडफोड, आगजनी तथा लुटपाटसमेत गरिएको थियो । यही रन्कोमा धरानको भाटभटेनी पनि परेको थियो । “जेन जी आन्दोलन सकिएको घोषणा गरेपछि धरानमा आगजनी तथा तोडफोड भएको छ । त्यसकारण धरानको घटना पृथक् हो भनेर हामीले प्रहरीलाई भन्दै आएका छौँ” उजुरी दिनेमध्येका एक नेपाली काङ्ग्रेसका नेता सुजेन्द्र गोले तामाङले भने, “यहाँको घटना आपराधिक नै हो । त्यसकारण कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो ।”
प्रहरीले देशभरकै घटनामा हालसम्म ‘एक्सन’ लिन सकेको छैन । जेन जी आन्दोलनका कारण प्रहरीमाथि नै आक्रमण भयो । जसले गर्दा केही प्रहरीहरू घाइते मात्रै भएनन्, केहीको मृत्युसमेत भयो । प्रहरीले आयोगको निर्देशनअनुसार अगाडि जाने बताउँदै आएकोमा मङ्गलबार आयोगले विज्ञप्ति जारी गर्दै ‘तोडफोड, लुटपाट, आगजनीजन्य फौजदारी अपराधमा संलग्न जोकोहीलाई तत्काल अनुसन्धान र कारबाही गर्न प्रहरी तथा प्रशासनले आयोगको प्रतिवेदन पर्खनु नपर्ने’ उल्लेख गरेको छ ।
“आयोगको विज्ञप्ति त आयो । तर स्पष्ट रूपमा माथिदेखिको निर्देशन नभएकाले यसै गर्ने भन्ने नभएकाले तत्काल सिसिटिभी फुटेजहरू हेर्ने र स्क्रिनिङ गर्ने काम भइरहेको छ” हालै धरान आएका डिएसपी भीषणबाबु राईले भने, “माथिको निर्देशन आएपछि कानूनबमोजिम हुने कारबाही अगाडि बढ्छ ।” प्रहरीको काम कारबाहीप्रति जाहेरीकर्ताहरू खुसी छैनन् । व्यक्तिगतरूपमा सबैभन्दा बढी क्षति भोगेका पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बो भन्छन्, “प्रहरी मानसिक रूपमा तयार देखिँदैन । एक्सनमा उत्रिने गरी काम गरेको छैन । आत्मसमर्पण गरेका चारजनालाई पनि प्रहरीले तारेखमा छाडेको भन्छ ।”
प्रहरीले अहिलेसम्म ‘आयोगले रोक्नू भनेको छ’ भन्दै तर्किने गरेको उनले बताए । उनले थपे, “दशैँको बीचमा नयाँ डिएसपी सा’पलाई भेट्न गएका थियौँ । उहाँले पनि आयोगकै कुरा उठाउनुभयो । दशैँपछि भेट्ने भन्ने कुरा छ । यो बीचमा आयोगको विज्ञप्ति आयो । अब भेट्नुपर्ला ।” डिएसपी राईले ‘मिसिल अध्ययनहरूदेखि सिसिटिभीहरू स्क्यानिङ गर्ने काम भइरहेको छ । को को व्यक्तिहरू ‘इन्भल्भमेन्ट छन्’ भनेर हेर्दै छाँै । दोषीलाई कारबाही हुनुपर्छ । निर्दोषहरू फस्नु हुँदैन भन्नेमा सचेत छौँ ।” आयोगद्वारा जारी विज्ञप्तिमा यस्तो लेखिएको छ, “फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने व्यहोरा सूचित गरिएको छ ।” यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ बमोजिम आयोग गठन गरेको जनाएको छ । उक्त विज्ञप्तिमा फौजदारी कसूरमा संलग्नहरूलाई तत्काल अनुसन्धान गरी कारबाही गर्न आयोगको प्रतिवेदन पर्खनु नपर्ने स्पष्ट पारिएसँगै अनुसन्धान गर्ने मार्ग खुला भएको छ । आयोगले असोज ९ गतेदेखि भौतिक एवम् मानवीय क्षतिको यथार्थ छानबिन सुरु गरेको छ । धरानमा जेन जी आन्दोलनको नाममा भदौ २४ गते व्यक्तिगत घर, सम्पत्ति, होटल साथै पार्टीका कार्यालयहरू तोडफोड, आगजनी तथा लुटपाट गरिएको थियो ।
































