धरान/मोरङको कानेपोखरी गाउँपालिका ३ को खेल मैदानमा आइतबारदेखि सुरु भएको दोस्रो संस्करणको पुरुष खुला नकआउट फुटबल प्रतियोगितामा हिमाल युनाइटेड र जहदा फुटबल क्लबले विजयी सुरुवात गरेका छन् ।
नव प्रतिभा युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा हिमाल युनाइटेडले किरात फुटबल क्लबलाई ४–२ गोलअन्तरले पाखा लगायो । खेलमा हिमालका तर्फबाट उदीप लिम्बूले दुई गोल गर्दा कप्तान अस्मिन राई र काजीमान राईले एक/एक गोल गरे । यता किरातका तर्फबाट आशिष लिम्बूले दुई गोल गरे । खेलको म्यान अफ दी म्याच हिमालका उदीप लिम्बू घोषित भए ।
यस्तै दोस्रो खेलमा जहदा फुटबल क्लबले बेलबारीको बेलबारी ८ फुटबल क्लबलाई ५–२ गोलअन्तरले पराजित गरेको छ । जहदाका तर्फबाट अभिनय लिम्बूले दुई गोल गर्दा राहुल राई, सञ्जय लिम्बू र आशिष तामाङले एक/एक गोल गरे । बेलबारीबाट नन्दु खवास र बिशाल तामाङले गोल गरेका थिए । दोस्रो खेलको म्यान अफ दी म्याच जहदाका सञ्जय लिम्बू घोषित हुँदै ट्रफी पाए । दुवै म्यान अफ दी म्याच खेलाडीलाई नगद पाँच सय ५० रुपैयाँसहित ट्रफी प्रदान गरिएको क्लबका अध्यक्ष जयराज लिम्बूले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन वडाध्यक्ष गोपालबहादुर कार्कीले गरे । खेलमा अन्य अतिथिको रूपमा जेबीडी इँटा उद्योगका सञ्चालक काजी बस्नेत रहेका थिए ।