धरान । मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर ३ स्थित नव प्रतिभा युवा क्लबले क्लबस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ ।

आइतबारबाट सुरु हुने प्रतियोगिता कात्तिक २ गते समापन हुने आयोजक क्लबका अध्यक्ष जयराज लिम्बूले जानकारी दिए । प्रतियोगितामा १२ वटा टिम सहभागी हुँदै छन् । प्रतियोगिता विजेताले नगद ५० हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । यस्तै उपविजेता टिमले नगद ३० हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने जनाएको छ । 

अध्यक्ष लिम्बूका अनुसार विधागततर्फ सर्वोत्कृष्ट खेलाडी, बेस्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडी र फाइनल खेलको म्यान अफ दी म्याच खेलाडीलाई पनि नगदसहितले पुरस्कृत गरिने भएको छ । क्लबका सचिव सुमनकुमार थोक्लेनका अनुसार सबै विधागततर्फ व्यक्तिगत जनही नगद एक हजार ५० रुपैयाँसहित मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । 

क्लबले हरेक वर्ष फुटबल प्रतियोगिता गराउँदै आएको छ । हाल क्लबले खेल मैदानको तयारीमा लागेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कानेपोखरी गाउँपालिकाकी प्रमुख राजमती इङ्नामले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।