धरान । विद्युतीय चुरोट (भेप) मार्फत् सुन तस्करी गरेको तीन वर्ष पुरानो मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ ।
उनलाई ललितपुरस्थित खुमलटारको डेराबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नियन्त्रणमा लिएको जनाएको छ । सिआइबीले एक विज्ञप्ति जारी गर्दै पक्राउ गरिएको जनाएको हो । सिआइबीको टोली आइतबार दिउँसो तीन बजेतिर उनको निवासमा पुगेको थियो । उनलाई हाल लाजिम्पाटस्थित सिआइबीको कार्यालयमा राखिएको जनाएको छ ।
आरोपित पूर्वसभामुख महरालाई फोन गरी आउनका लागि आग्रह गर्दा अटेर गरेपछि सिआइबीको टोली घर पुगेको थियो । पक्राउ परेका महरामाथि आवश्यक अनुसन्धान भइरहेको सिआइबीका सूचना अधिकारी एसएसपी शिवकुमार श्रेष्ठले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । उनलाई भन्सार ऐन, २०६४ तथा सङ्गठित अपराधसम्बन्धी कसूरमा पक्राउ गरिएको उल्लेख छ ।
२०७९ पुस १० गते दुबईबाट काठमाडौं ओर्लिएका एक चिनियाँ नागरिकले ल्याएको सुटकेसमा रहेको भेपमा साढे आठ करोड रुपैयाँ बराबरको सुन भेटिएको थियो । उनी यसअघि बयानपछि अदालतको आदेशमा छुटेका थिए । उनलाई आज (सोमबार) अदालतमा हाजिर गराउने तयारी गरिएको जनाइएको छ । परिवारका सदस्यहरूले भने ‘बलिको बोका’ बनाउन खोजेको आरोप लगाएका छन् ।