नेपालमा अन्तरिम सरकार गठन भइसकेको सन्दर्भमा देश पुनः एक निर्णायक मोडमा पुगेको छ । पुराना राजनीतिक दलहरुबाट निराश जनसाधारण, विशेषगरी जेन जी पुस्ता सडकमा ओर्लिएका छन् । उनीहरुको आन्दोलनले अब केवल भ्रष्टाचार र अक्षमताविरूद्धको स्वर मात्र बोक्दैन, बरु संवैधानिक राजतन्त्रको पुनःस्थापनाको मागलाई पनि उच्च आवाजमा ल्याएको छ ।

यो आन्दोलनको जरो केवल नास्टाल्जियामा छैन, यो अस्थिरता, असमानता र विदेशी प्रभावले थिचिएको राष्ट्रिय अस्मिताको प्रतिक्रिया हो । नयाँ पुस्ता जसले लोकतन्त्रको लाभ देखेन तर राजनीतिक अव्यवस्था भोग्यो, अहिले राष्ट्रिय स्वाभिमान, अनुशासन र पहिचानको खोजीमा छ । सामाजिक सञ्जालले यो चेतनालाई देशव्यापी बनाइदिएको छ, जसले पुराना दलका आलोपालो सरकार गठन हुने प्रणालीजस्ता अपवित्र र फोहोरी सीमित शक्ति खेललाई चुनौती दिएको छ ।

तर नेपालको भूराजनीतिक सन्दर्भ यति संवेदनशील छ कि कुनै पनि आन्दोलन वा सरकार परिवर्तन स्वतन्त्ररुपमा अगाडि बढ्न कठिन हुन्छ । भारत र चीन दुवैका हित नेपालमा गहिरो रुपमा गाँसिएका छन् ।  तेस्रो पक्षका रुपमा पश्चिमी राष्ट्रहरु पनि नेपालको लोकतान्त्रिक ढाँचा र नीतिमा प्रभाव राख्न चाहन्छन्, जसको प्रत्यक्ष प्रभाव यो जेन जीको आन्दोलनमा देख्न सकियो । यस्तै परिस्थितिमा बनेको अन्तरिम सरकारले देशभित्रको असन्तोष र वाह्य दबावबीच सन्तुलन कायम गर्नुपर्ने कठोर जिम्मेवारी सम्बोधन गर्न सक्ने कुरामा प्रश्नहरु उठिरहेका छन् ।  

अन्तरिम सरकारका लागि प्रमुख प्रश्न नै यही हो कि कसरी विदेशी कूटनीतिक प्रभावबाट स्वतन्त्र रही राष्ट्रिय निर्णय गर्न यो सरकार सक्षम हुन्छ, कसरी आफ्नो देशको माटोको मायालाई अक्षुण्ण राख्न सक्छ र कसरी जनआवाज, विशेषतः युवापुस्ताको आन्दोलनलाई हिंसारहित, संस्थागत परिवर्तनतर्फ मोड्न सक्ला । संवैधानिक राजतन्त्रको माग उठाउनेहरुलाई राज्यविरोधी भनेर इन्कार गर्नु समाधान होइन । बरु उनीहरुको पीडा र आकाङ्क्षालाई राजनीतिक संवादमा समावेश गर्नु आवश्यक छ ।

नेपालको इतिहासले देखाएको छ, जबसम्म जनआवाजलाई सुन्ने कान हुँदैन, तबसम्म असन्तोष विद्रोहमा परिणत हुन्छ । आजको आन्दोलनलाई गम्भीरतापूर्वक नलिइकन केवल सुरक्षामुखी दृष्टिकोणले हेर्नु राज्यका लागि घातक हुनसक्छ । राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता केवल नारा होइनन्, ती प्रत्येक नीतिगत निर्णयमा परिलक्षित र प्रतिबिम्बित हुनुपर्छ ।  अन्तरिम सरकारले अब देखाउनुपर्ने कुरा भनेको यही हो । नेपाल आफ्नै जनताको आवाजमा चल्ने देश हो, कुनै विदेशी इशारामा होइन भनेर के यो सरकारले आफ्नो व्यवहारबाट प्रमाणित गर्न सक्छ ?

अन्ततः नेपालको भूराजनीतिक स्थिति हामीले नियन्त्रण गर्न विवेक, एकता र आत्मसम्मान र परराष्ट्र नीतिजस्ता कुराहरुले सन्तुलन कायम गर्न सकिन्छ । जेन जी पनि ध्रुवीकृत भएको र आ–आफ्नो एजेण्डा प्रष्फुटित भइरहेको अवस्था छ । जेन जी पुस्तामध्ये मुखरित भइरहेको अहिलेको आवाज भनेको संवैधानिक राजसंस्था पक्षधरहरुलाई दुश्मन होइन, नयाँ दिशाको सूचकका रुपमा बुझ्न जरूरी छ । यदि नेतृत्वले यो सन्देश आत्मसात गर्न सकेन भने नेपालको सार्वभौमिकता र एकता दुवै गम्भीर जोखिममा पर्न सक्छ ।