भद्रपुर । एसएलआरको ५५ राउण्ड गोली झापाको कमलमा फेला परेको छ ।

शुक्रबार साँझ ७ बजे कमल गाउँपालिका वडा नं. ७ रङ्गपुर बस्ने ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले केराको पात काट्ने क्रममा आफ्नो खेतबारीमा सेतो बोरामा गोली फेला पारेका हुन् । उनले बोरा खोली हेर्दा गोली रहेकाले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनापछि शनिबार बिहान इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी निरीक्षक नवीन राईको टोलीले एसएलआरको गोली ७.६२ एमएम ५५ राउण्ड बुझेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । ती गोली इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले जनाए । जेन जी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका २४ थान हतियार, ५ हजार ६ सय ९० वटा गोली र १ सय ८० सेल अश्रुग्यास गायब भएको प्रहरीको तथ्याङ्क छ ।

आन्दोलनकारीहरूले इलाका प्रहरी कार्यालय बिर्तामोड र इलाका प्रहरी कार्यालय दमकबाट लुटेका विभिन्न हतियार फिर्ता गरेपनि त्यति हतियार फिर्ता नगरेको प्रहरी स्रोतले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका लामो हतियार(एसएलआरलगायत)–१४ थान र त्यसको गोली ४ हजारभन्दा बढी, सानो हतियार (पेस्तोल–रिभल्वर)– २ थान र त्यसमा लोड गरिएको ४० राउण्ड गोली, सटगन÷ग्यासगन–४ थान र त्यसको १ सय ८० सेल ग्यास फिर्ता नगरेको प्रहरीको भनाइ छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका लामो नाल (एसएलआर)–१ थान र त्यसको १५ सयभन्दा बढी गोली, सानो हतियार (पेस्तोल–रिभल्वर)–३ थान र त्यसमा प्रयोग हुने १ सय ५० भन्दा बढी राउण्ड गोली फिर्ता नगरी गायब बनाइएको प्रहरी स्रोतले जनाएको छ । मानवअधिकारवादीहरूको रोहवरमा आन्दोलनकारीहरूले फिर्ता गरेको ८५ थान हतियार चारआलीस्थित अरिदमण गणले प्रहरीलाई जिम्मा लगाएको थियो ।