दुर्गाप्रसाद पोखरेल रहनुभएन, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय सदस्य, लक्ष्मी बानियाँले मलाई बिहानै फोन गरेर समाचार सुनाउनुभयो । २०७९ साल असोज ९ गते बिहान पौने ७ बजेको त्यो फोन आउँदा म ललितपुरको ढोलाहिटी निवासबाट सङ्गठनको काममा हिँड्न लागेको थिएँ । उहाँ (दुर्गा दाइ) भूमिगतकालमै २०३८ सालदेखि कम्युनिष्ट पार्टीमा संलग्न भएर वर्गीय आन्दोलनमा समाहित हुनुभयो । शिक्षण पेशा हुँदै श्रम आन्दोलनमा जोडिनुभएका दुर्गा दाइ मसँगै यातायात मजदुर हुनुभयो र लामो समय हामीले सँगै काम गर्यौँ । सँगसँगै दुःखका आरोहअवरोहरू पार गर्यौं ।
दुर्गा दाइसँगको भेट
दुर्गा दाइसँग भेट भएको ठ्याक्कै तिथि, मिति याद छैन । पूर्वाञ्चल यातायात प्रा.लि.को लेखा प्रमुख नरेश इवारम (हाल धरान–१५ का अध्यक्ष) ले सञ्चालन गर्नुभएको धरान काँकडभिट्टा रुटको रानी सेवा को. १ ख १८३ नम्बरको बसमा म कण्डक्टर थिएँ । कम्पनीकै अर्को बस को. १ ख ७४६ को कण्डक्टर दुर्गाप्रसाद पोखरेल हुनुहुन्थ्यो । मैले काम गर्ने बस लोकल भएकाले समय निश्चित थिएन, कहिले बिहान पालो पथ्र्यो, कहिले साँझ हिँड्नु पथ्र्यो, महिनामा १७ दिन काँकडभिट्टा र दमकमा बास पथ्र्याे । तर, दुर्गा दाइले काम गर्ने बस नन्स्टप थियो, प्रत्येक बिहान ८ः३५ मा धरानबाट बस छुट्थ्यो, काँकडभिट्टाबाट फर्किने समय पनि निश्चित थियो, महिनाको ३० सै दिन धरानमै बास हुन्थ्यो ।
एउटै कम्पनीमा काम गरे पनि दुर्गा दाइसँग नियमित भेटघाट हुँदैनथ्यो । कहिले साँझको समय कार्यालयमा हरहिसाब बुझाउने बेलामा, कहिले गाडी मर्मत गर्ने बेला ग्यारेजमा, कहिलेकाहीँ बाटोमा र कुनै समय बसपार्कमा भेट हुन्थ्यो । दुर्गा दाइको एउटा फरक पहिचान थियो, सफा टिसर्ट, आइरनको धार देखिने पाइन्ट, ओठमाथि बाक्लो जुँगा आदिले हठी देखिनुहुने दाइलाई यातायात क्षेत्रका अन्य श्रमिकहरूभन्दा पृथक् झल्काउँथ्यो । बोलचाल सामान्य भए पनि हामी त्यति नजिक थिएनौँ । दाइले यातायात क्षेत्रमा २०४७ सालदेखि नै काम गर्नुभएको र रानी सेवा कम्पनीमा पनि मभन्दा सिनियर हुनुहुन्थ्यो । म यातायात क्षेत्रमा बिल्कुलै नयाँ थिएँ, धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा आइएल पढ्दै गरेको म क्याम्पसको शुल्क जुटाउन र चन्द्रकलासँग घरजम बसाउन मेरो काका मकरबहादुर राईको सिफारिसमा नरेश सरको कम्पनीको बसमा मजदुरी गर्न आइपुगेको थिएँ ।
सँगसँगै बितेका वर्षहरूः
यातायात क्षेत्रमा म क्रमशः पुरानो हुँदैथिएँ, घरजम चलिरहेकै थियो, आइएल पनि उत्तीर्ण गरिसकेको थिएँ र बिएल पढ्ने अठोटका साथ क्याम्पसमा एड्मिसन गरेर भ्याएसम्म क्लास पनि जान थालिसकेको थिएँ । तर, लोकल बसको काम, महिनामा १७ दिन धरानबाहिर बस्नुपर्ने, यातायात क्षेत्रको वातावरणले मैले मेरो पढाइलाई राम्ररी अघि बढाउन सकिरहेको थिइनँ, मजदुरीको अर्को विकल्प पनि थिएन ।
पढाइकै लागि दुर्गा दाइ कार्यरत रहेको ७४६ नम्बरको बसमा काम गर्ने वातावरण मिलाइदिन नरेश सरलाई अनुरोध गरेँ । पढाइप्रतिको मेरो चिन्तालाई नरेश सरले समाधान गरिदिनुभयो, म अब लोकल बसबाट नन्स्टपमा सरुवा र काममा सहजताको हिसाबले मेरो बढुवा पनि थियो । अब मेरो काम गर्ने सहयात्री दुर्गा दाइ हुनुभयो । त्यसबेलाको बस दुई ढोका भएको लामो थियो । दुई कण्डक्टर, दुई सह–चालक र चालक गरी बसमा हामी पाँचजना मजदुर थियौँ । बिहान क्याम्पस जान्थेँ, दुई पिरियड क्लास भ्याएर बसको कण्डक्टर भएर काम गर्थें । यसमा दुर्गा दाइ मलाई सहयोग गर्नुहुन्थ्यो । हामीले लामो समय काम ग¥यौँ । पछि कम्पनीले अर्को ६७२ नम्बरको बस खरिद ग¥यो । त्यो बस बिहान ९ः३५ मा धरानबाट छुट्थ्यो । त्यहाँ मेघराज दाहाल कण्डक्टर हुनुहुन्थ्यो । मेघराज दाहाललाई कम्पनीका सबैले सम्मानका साथ ‘मामा’ भनेर सम्बोधन गर्थे । मैले पनि मामा नै भनेर पुकारेँ । पढाइकै लागि म पुनः नयाँ बसमा सिफ्ट भएँ । अब मेरो सहयात्री मामा हुनुभयो । त्यसपछि क्याम्पसको पढाइमा मलाई थप सहज भयो । मेघराज दाहाल मामाको सहयोग बिर्सिनसक्नु छ । वहाँसँगको हार्दिकता पनि दुर्गा दाइ समानकै रह्यो ।
आत्मीयताको त्यो हदः
म र दुर्गा दाइ दामली होइनौँ, उमेरको हिसाबले दुर्गा दाइ र मेरो उमेरमा १३ वर्षको अन्तर थियो । दाइ धनकुटाको चानुवा डाँडा गाउँमा २०१९ सालमा जन्मिनुभएको, म सिरहाको घुर्मीमा २०३२ सालमा जन्मिएको भूगोल र सामाजिक परिवेश फरक थियो । उमेर, अनुभव र व्यक्तित्वका हिसाबले ठूलो असमानता रहेका हामी यति निकट भएछौँ कि दाइले मलाई तँ र मैले पनि दाइलाई बोलाउँदा तँ भनेर बोल्थ्यौँ । हामीबीच कहिलेदेखि, कसरी, कुन प्रसङ्गबाट तँ सम्बोधन भयो थाहा भएन । कतिपयले यो सम्बोधनलाई अस्वभाविक पनि भनेका थिए, कतिपयले हाम्रो साइनो र सम्बोधनबारे प्रश्न पनि गरेका थिए । तर, हामीलाई तँ सम्बोधन अति मीठो लाग्थ्यो र यो सम्बोधन दाइको मृत्युपर्यन्त कायम रह्यो ।
अभिभावकीय सहयोगः
म महेन्द्र बहुमुखी क्याम्पस धरानको बिएलको विद्यार्थी थिएँ । तर, मेरो कक्षा कोठा बसको पछाडिको ढोकाछेउको सिट थियो । बसको र्याकमा मेरा पुस्तकका झोला हुन्थ्यो । यात्रु भीडभाड भएका बेला छोटो दूरीका स्ट्याण्डमा भाडा उठाउँथेँ । अन्य समय र यात्रु कम भएका बेला भने बसको पछाडिको सिटमा बसेर कोर्षका पुस्तकहरू पढ्दै हिँड्थेँ ।
परीक्षाको समय बिदामा बस्थेँ । नत्र बसको त्यही पछाडिको सिटमा बसेर तीन वर्षे बिएल उत्तीर्ण गरेँ । विराटनगर पोष्टग्राजुएट क्याम्पसमा समाजशास्त्रमा एमए पढेँ । पछि काठमाडौँबाट पनि आमसञ्चार र पत्रकारितामा एमए गरेँ । कानूनमा स्नातक गर्न दुर्गा दाइको साथ, सहयोग र प्रेरणा महत्वपूर्ण छ साथै नरेश इवारम, मेघराज दाहाल (मामा) को पनि उत्तिकै योगदान छ ।
अटुट आस्था र मौनताः
जमिन्दारहरूको भकारी फोडेर किसानहरूलाई अन्न वितरण गर्ने र जमिनदारहरूको विरुद्ध आगो ओकल्ने जनमोर्चाका अगुवा मेरा बुबा मदनमोहन राई (२०३६ सालमा १८ महिना जेल पर्नुभएका) को स्कुलिङबाट वाम राजनीतिमा आकर्षित म महेन्द्र बहुमुखी क्याम्पस अनेरास्ववियुमा काम गरिरहेकै बेलादेखि यातायात मजदुरी गर्न थालेको हुँ । काम, वातावरण, श्रमिकहरूको अवस्था, चासो र चेतनाले मलाई क्रमशः मजदुर आन्दोलनतर्फ मोडिरहेको थियो ।
छविलाल लम्साल, महेन्द्र बुढाथोकी, मोतीराज सुनुवार, राजेन्द्र भण्डारी, हेम बुढाथोकी, गोविन्द गिरी, विष्णु बाँस्तोलालगायतको सम्पर्क र सम्बन्धसँगै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनमा सङ्गठित भएर काम सुरु गरिसकेको थिएँ ।
सङ्गठनको कमिटीमै रहेर काम गर्दै जाँदा एउटै कम्पनी र एउटै गाडीमा काम गर्ने दुर्गा दाइलाई सङ्गठनमा सँगै काम गर्न आग्रह गरेँ । तर, दुर्गा दाइ २०४२ सालतिरै झापा जिल्लामा अनेरास्ववियु र पार्टीसँग जोडिएर काम गरिसक्नुभएको र भूमिगतकालमै पार्टीका काममा संलग्न भइसक्नुभएको रहेछ ।
दुर्गा दाइले गाउँकै विद्यालयमा शिक्षणसमेत गरिसक्नुभएको र भाउजू कमला पोख्रेलसँग वैवाहिक जीवनमा बाँधिएपछि सम्भावनाको खोजी गर्दै धरान आउनुभएको रहेछ । त्यसपछि पार्टी र राजनीतिबाट टाढा हुनुभएको रहेछ । दाइलाई सङ्गठनमा सँगै काम गर्न अनुरोध गरेँ । दाइले गर्दिन त भन्नुभएन तर अलि अमिलो मनले ठीकै छ भन्नुभयो । पछि कुरा खोल्नुभयो सङ्गठनको नेतृत्वको कार्यशैली र दुव्र्यवहारका कारण सङ्गठनबाट समेत टाढा रहन खोज्नुभएको रहेछ ।
दुर्गा दाइसँगको छलफलपछि मैले धेरै ज्ञान लिने अवसर पाएको छु । तर मेरो आग्रहलाई दाइले स्वीकार गर्दै सङ्गठनको सदस्य पनि बन्नुभयो, जिम्मेवारीमा पनि रहनुभयो र पार्टी (नेकपा एमाले) को सङ्गठित सदस्य पनि बन्नुभयो ।
उमेर, विचार, अनुभव र ज्ञानको हिसाबले परिपक्व र मभन्दा राजनीतिकरूपमा धेरै अघिका दुर्गा दाइ मेरो नेतृत्वको कमिटीमा बसेर मलाई हौसला दिइरहनुभयो । तर, दुर्गा दाइले कहिल्यै पनि सङ्गठनको नेतृत्व र विभिन्न पदहरूमा आफ्नो दाबी वा इच्छा प्रकट गर्नुभएन ।
जीवनका उतारचढाव, ओराली उकाली र राजनीतिक आरोहअवरोह फेरबदल भइरह्यो तर आस्था अटुट र अटल रह्यो असन्तुष्टिमा पनि दुर्गा दाइ मौन बस्नु भो प्रकट गर्नुभएन । राजनीतिमा मेरो आँट, भरोसा र सबैथोक दाइ हुनुहुन्थ्यो । सङ्गठनको काममा आइपर्ने हरेक अप्ठ्याराहरूमा म दाइकै सल्लाहलाई ग्रहण गर्ने गर्थें ।
एउटा प्रसङ्ग सम्झिन्छु, म नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन कोशी अञ्चल कमिटीको सचिव थिएँ, अध्यक्ष गौरी लामा र उपाध्यक्ष दुवैजना सङ्गठनको २०६२ सालमा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएर जानुभयो । अब कोशी अञ्चल कमिटीको अध्यक्ष हुनुपर्ने पालो मेरै थाप्लोमा आइप¥यो । अञ्चल अधिवेशनको मिति तय भइसकेको थियो । आयोजक कमिटीमा सबैले अबको अध्यक्ष तपाईं नै हो भनेर मलाई हौस्याइसकेका थिए । तर, अधिवेशनको एक हप्ताअघि मेरो विकल्पमा अर्को पात्र अध्यक्षमा ल्याइयो । मलाई ब्याक हुन सुरुमा फकाइयो पछि दबाव दिइयो । मलाई अध्यक्ष बन्न नदिने चुनाव पनि हुन नदिने रणनीति बन्यो, म चुनाव हुनुपर्छ भन्ने अडानमा थिएँ । प्रतिवाद गरिरहेको थिएँ, मलाई सबैको साथ पनि थियो, पछि नहट्ने अडानमा थिएँ । तर, एक बिहान दुर्गा दाइले चिया पसलमा भन्नुभयो– “ओइ केटा, अब तैँले बल नगर् । कुरो अर्कै छ, छाड्दे चुनाव हुँदा जित्छस् तर, कसरी चलाउँछस् । नेताहरू नै तेरो विरुद्धमा भएपछि बरू उपाध्यक्ष या सचिव बन्, काम गर् ।” त्यसपछि मैले आफ्ना अडान छाडेँ, म पछि हटेँ । यस्ता थुप्रै स्मृतिहरू छन् दाइसँगका बाँकी लेख्दै गरौँला ।
सङ्घर्ष र सपनाः
ती सुदूर विगतलाई नियाल्दा सँगसँगैका सङ्घर्ष र दुःखका कथाहरूका चाङ छन्, सपनाका भारीहरू छन् । समय सधैँ एकनास रहँदैन । छोरी शुष्मा र छोरा सुमन दुवै हुर्किए छोरी शुष्मा र ज्वाइँ नातिसहित अष्ट्रेलिया छन्, छोरा सुमन काठमाडौंमा मास्टर्स पछि बेलायतमा थप अध्ययन र जब गर्दैछ । दाइका सङ्घर्षले सफलता चुम्दै थियो । दुःखहरू सिमलका भुवाजस्तै आफै हावामा उड्दै थिए, असफलता आफै ओरालो झर्दै थियो ।
म सङ्गठनको केन्द्रीय अध्यक्षको दोस्रो कार्यकालमा नेतृत्व गर्दै थिएँ, राजनीतिक इमान र वर्ग पक्षधरताको लडाइँमा शिर उच्च बनाएर लडिरहेकै थिएँ । सपना त समाजवादको हो, त्यो यात्रामा लामबद्ध छँदैछु । हामी सबै लामबद्ध थियौं । तर, दुर्गा दाइले बीचैमा यात्राबाट विश्राम लिनु भो ।
एक महिनाअघि भाउजू (कमला पोखरेल) लाई अष्ट्रेलियाको कुनै सहरमा घुमाइरहेको तस्बिर छोरी शुष्माको टिकटक र फेसबुकमा हेरेँ । छोरीसहित भाउजूलाई त्यो सपनाको देशमा देखेर खुसीको सीमा रहेन, कल्पना गरेँ, छोरीको त्यो पोष्टको भिडियो रिलको छेउमा दाइ पनि भइदिएको भए ? छोराछोरीको सफलताको सपना बुनेर मजदुरी गरेका दाइ तिनै छोराछोरीको सफलताको अनुभूत गर्ने अवसर पाएको भए ? भन्ने हामी सबैलाई लागिरहनेछ ।
दाइको तेस्रो स्मृति दिवसमा श्रद्धा अर्पण गर्दछु ।
(पोखरेलसँगै काम गरेका लेखक राई, हाल नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष हुन् ।–सं.)
































