धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०६९ पुस २० र माघ २५ को फरक फरक मितिमा शिक्षकहरूको आन्तरिक बढुवा गर्ने भनी गरिएको विज्ञापनले सिनियर चिकित्सकलाई साढे पाँच वर्षपछि राहत मिल्दै थियो । त्यसबाट प्रतिष्ठानका सिनियर चिकित्सकहरू केही आशावादी थिए । तर, एकाएक तत्कालीन उपकुलपति डा. ज्ञानेन्द्र गिरीमाथि भ्रष्टाचारको अभियोग लाग्यो । फलतः त्यो कार्य अगाडि बढ्न सकेन ।

त्यसपश्चात् लामो समयसम्म प्रतिष्ठान उपकुलपतिविहीन बन्यो । त्यहीबीचमा शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्मालाई नै कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइयो । उनले बढुवालाई निरन्तरता दिने प्रयास गरेका थिए । तर, गत असार १७ गते वर्तमान सङ्घीय सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्रा.डा. प्रल्हाद कार्कीलाई कायममुकाय उपकुलपतिको जिम्मेवारी दिए । त्यसलगत्तै विगतमा खुलेको बढुवाको विज्ञापनको विषयमा लोकसेवा आयोगलाई पत्राचार गरी राय लिने प्रयास गरियो । आयोगले गत भदौ ७ गते बीपी प्रतिष्ठानलाई पत्राचार गर्दै ‘आयोगको निर्णय र गत माघ १२ गतेको पत्रानुसार मस्यौदामाथि परामर्श भइरहेकाले आयोगबाट स्वीकृति लिएर मात्र पदपूर्ति सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउनू’ भनी निर्देशन दियो । सोही निर्देशन नै सिनियर चिकित्सकका लागि बाधक बनिदियो । यस विषयमा शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खानले पत्रकार सम्मेलनमा भनेका थिए, ‘जब कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्की सर आएपछि एकाएक सबै प्रक्रिया अवरुद्ध भए ।’ उनले थप भनेका थिए, ‘अहिले पनि शिक्षक कर्मचारीको बढुवा २०५५ कै नियमावलीको आधारमा चलिरहेको छ । नयाँ नियमावली बनाइएको छैन । कामु भिसी सरले नयाँ नियमावली नभएकाले अवैध ठहरिने हो कि भनेर लोकसेवासँग सुझाव लिनुभयो होला । आयोगले पूरै प्रक्रिया रोकिदिएको छ ।’ आयोगको नीतिनियम तथा अभिलेख शाखाले पठाएको पत्रमा भनेको छ, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी सेवाका सर्त र सुविधासम्बन्धी नियमावली २०७९ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षक सेवाका सर्तसम्बन्धी नियमावली २०७९ को प्रस्तावित मस्यौदामा सङ्गठन संरचना, दरबन्दीको विषयमा सम्बन्धित मन्त्रालय र नेपाल सरकारलाई आर्थिक व्ययभार पर्ने विषयमा अर्थ मन्त्रालयको सहमति तथा नियुक्ति बढुवा, विभागीय कारबाहीलगायतका अन्य विषयका सम्बन्धमा उक्त नियमावलीको मस्यौदामा उल्लिखित व्यवस्था बमोजिम हुने गरी आयोगको सहमतिमा गर्ने ।’

आयोगसँग बढुवाको विषयमा लिइएको राय सुझाव नै मुख्य समस्याको रूपमा रहेको आन्दोलनरत चिकित्सकहरूको बुझाइ छ । प्रतिष्ठानमा आन्दोलनरत पक्षको मागका विषयमा बुझ्नका लागि आइतबार भिसी कार्यालयमा बसेको बैठकमा पनि आन्दोलनरत चिकित्सकहरूले प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. कार्कीले एकलौटी ढङ्गबाट गरेको निर्णय नै दोषी रहेको बताएको सहभागी दलमध्येका जसपाका धरान नगरअध्यक्ष ताजुव लिम्बूले बताए । उनले बैठकमा भएको ब्रिफिङबारे भने, ‘६ वर्षदेखि निरन्तर हाम्रो प्रमोसन रोकिएको छ । आन्दोलन गर्दा प्रमोसन अगाडि बढाउने भने र पहिलाको भिसीले कासमा निर्णय गरेर अगाडि बढाउने भन्ने थियो । सञ्जीव शर्माले पनि अगाडि बढाउनुभो । डेढ महिनामा हुने काम पाँच महिना लम्बियो । नयाँ कामु आएपछि एकलौटी रूपमा पदाधिकारीहरूसँग सल्लाह नै नगरी छनौट प्रक्रिया स्थगित भएको सूचना विनै लोकसेवा आयोगमा पत्राचार गरेर स्थगित गर्नुभो ।’

समाजले शिक्षक कर्मचारीको वृत्तिविकास र बढुवा रोकिएपछि आन्दोलन मात्रै थालेनन् । १ सय ७७ जना सिनियर चिकित्सकहरूले स्वास्थ्यमन्त्री बस्नेतलाई गत असोज २६ गतेदेखि लागू हुने गरी सामूहिक राजीनामा नै बुझाएका छन् । राजीनामासँगै उनीहरू दैनिक काममा समेत सहभागी भएका छैनन् । जसले गर्दा दैनिक प्रतिष्ठानमा आउने सयौँ बिरामीहरू समस्यामा परेका छन् । अहिले शल्यक्रियादेखि लिएर सम्पूर्ण काम लगभग ठप्प छ ।

‘डेडलक’ खोल्न राजनीतिक दल सक्रिय
धरानमा रहेका राजनीतिक दलहरूले बीपी प्रतिष्ठानमा जारी ‘डेडलक’ खोल्नका लागि पहलकदमी थालेका छन् । केही दिनअगाडि विज्ञप्ति जारी गर्दै बीपीको समस्या समाधान गर्न प्रतिष्ठानका पदाधिकारी तथा आन्दोलनरत पक्षलाई आग्रह गरेका थिए ।

तत्कालीन समयमै धरानका मुख्य राजनीतिक दलले चरणबद्ध पहल थाल्ने विज्ञप्तिमार्फत् बताएका थिए । सोहीअनुरूप आइतबार आन्दोलनरत पक्षको आवाज सुनेका छन् । ‘अहिलेसम्म आन्तरिक रूपमा मिलोस् भनेर पर्खिएका थियौँ’ नेपाली काङ्ग्रेसका नगर सभापति श्याम पोखरेलले भने, ‘आन्दोलनरत पक्षका सबै कुरा सुन्यौँ । अब पदाधिकारी र आन्दोलनकारीलाई राखेर समस्या समाधानतिर लाग्छौँ ।’ आइतबारको छलफलमा आन्दोलनरत पक्ष शिक्षक कल्याण समाजका पदाधिकारीहरूसँग बसेर समस्या सुन्ने, समस्याको हल कसरी निकाल्न सकिन्छ भन्ने विषयमा आन्दोलनरत पक्षबाटै विचारहरू सुन्ने काम भएको छ । ‘बीपी प्रतिष्ठानमा जुन खालको डेडलकको स्थिति छ, त्यसको निकास निकाल्नुपर्छ भनेर राजनीतिक दलहरूले पहलकदमी थालेका हौँ’–छलफलमा रहेका जनता समाजवादी पार्टीका नगरअध्यक्ष ताजुव लिम्बूले भने ।

भिसी कार्यालयमा बसेको बैठकले समस्या सुनेर समाधानतर्फ पहल थाल्ने गरी तयारी थालेका छन् । हाल चारजना पदाधिकारीमध्ये दुई जना काठमाडौँमा रहेकाले पनि केही दिनपश्चात् नै दुवै पक्षलाई राखेर छलफल गराउने तयारी गरिएको सभापति पोखरेलले बताए । ‘पदाधिकारीलाई सम्पर्क ग¥यौँ, भोलि या पर्सि आउने कुरा भएको छ’ उनले फोनसम्पर्कमा भने, ‘उहाँहरू आएपछि दुवै पक्षलाई राखेर समस्याको समाधान निकाल्छौँ ।’ बैठकमा नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी भएको थियो । आन्दोलनरत पक्षको एक सूत्रीय माग ‘बढुवा’ रहेको छ ।

बैठकमा सहभागी भएका अग्रज पत्रकार आनन्द श्रेष्ठले भने, ‘उहाँहरू (आन्दोलनरत पक्ष)को एकसूत्रीय माग बढुवा चाँडोभन्दा चाँडो गरिदिनुप¥यो भन्ने छ ।’ यता आन्दोलनरत पक्षमध्येकी डा. मधुर बस्नेतले भने, ‘मुख्यरूपमा हाम्रो समस्या के हो ? माग के हो ? समाधान के हो भन्ने विषयमा बुझ्ने प्रयास भयो । उहाँहरूले पदाधिकारीहरूसँग सँगै बसाएर छलफलबाट समस्या समाधान निकाल्ने बताउनुभएको  छ ।’ राजनीतिक दलहरूले चिकित्सकको आन्दोलनमा चासो देखाएकोप्रति आन्दोलनरत पक्ष आशावादी छ । आन्दोलनरत पक्षले पदाधिकारीलाई नै मुख्य जिम्मेवार ठह¥याएको छ । पदाधिकारीहरू जिम्मेवार भएर काम गरिदिएको भए यो समस्या नआउने डा. बस्नेत बताउँछन् । उनी भन्छन्, ‘पदाधिकारी जिम्मेवार भएर काम गरेको भए यो अवस्था नै आउँदैनथ्यो ।’ बैठकमा एमालेबाट नारायण सुवेदी, काङ्ग्रेसबाट श्याम पोखरेल, माओवादीबाट सूर्य भट्टराई(मनोज), एकीकृत समाजवादीबाट स्वर्णिम फोम्बो, जसपाबाट ताजुव लिम्बू र रास्वपाबाट सुमन श्रेष्ठ सहभागी थिए । जसपाका नगरअध्यक्ष लिम्बूले बीपीमा डेडलकको स्थिति बनेपछि आन्दोलनको निकास खोज्नुपर्छ भन्ने हिसाबले पहलकदमी थालेको बताए ।

‘हामीले चरणबद्ध योजना बनायौँ । सुरुमा आन्दोलनको विषयमा जानकारी लिने, कुरा के हो ? जानकारी लिएपछि पदाधिकारीहरूसँग छलफल गर्ने र त्यहाँबाट समस्या समाधानका लागि कोशिस गर्नेछौँ । त्यसका लागि काठमाडौँसम्म डेलिगेसन जाने भन्नेसम्मको योजना बनाएका छौँ ।