विजयपुर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूको आन्दोलनका कारण विद्यार्थीहरू मारमा परेका छन् ।

लामो समयदेखि पदोन्नतिको माग राखेर सङ्घर्षरत चिकित्सकहरूले असोज २२ गतेदेखि शैक्षिक तथा परीक्षाका कार्यक्रमहरू पूर्णरूपमा वहिष्कार गरेपछि प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीको अध्यापन ठप्प बनेको छ ।

कोरोना महामारीले प्रभावित बनेको विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलाप प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकहरूको सामूहिक राजीनामाले थप प्रभावित बनेको छ । प्रतिष्ठानमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत महेन्द्र पाण्डे चिकित्सकको राजीनामाले आफ्नो शिक्षण सिकाइ प्रभावित बनेको बताउँछन् । उनी भन्छन्, ‘राजीनामा दिएपछि हाम्रो पढाइ प्रभावित बनेको छ । सरकारले चिकित्सकका जायज माग पूरा गरोस् । हामीलाई अध्ययन गर्र्ने अधिकारबाट बञ्चित नगराइयोस् ।’ प्रतिष्ठानको विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओमशान्ति रजक प्रतिष्ठानको पठन–पाठन ठप्प बनेको बताउँछन् । उनी भन्छन्, ‘शिक्षकहरूको जायज र नियमसम्मत माग पूरा गरेर निकास निकालियोस् । विद्यार्थीको भविष्यमाथि खेलवाड नगरियोस् ।’ उनी कोरोनाका कारण कोर्ष एक वर्ष पछि परेको बताउँदै भन्छन्, ‘मेडिकल लाइनमा एकदिन पनि महŒवपूर्ण हुन्छ । विभिन्न आन्दोलनको नाममा अध्ययनमा प्रत्यक्ष असर परिरहेको छ ।’ अध्यापन नभएपछि विद्यार्थीको करियर नै अप्ठ्यारोमा पर्ने देखिएको उनको भनाइ छ । समयमा अध्यापन नगरी छोटो समयमा कोर्षलाई पूर्णता दिँदा गुणस्तर खस्किने उनीहरूको भनाइ छ । ‘चारदिनमा गर्ने प्राक्टिकल एकैदिनमा गर्दा कस्तो हुन्छ ?’ डा. रजक प्रश्न गर्दै भन्छन्, ‘मान्छेको जीवन र मृत्युको कुरा हुन्छ । त्यसैले गुणस्तरमा ध्यान दिनुपर्छ ।’

प्रतिष्ठानमा कुल ९ सय विद्यार्थी अध्ययनरत छन् । प्रतिष्ठानका अनुसार साढे पाँच वर्षे एमबीबीएसमा पाँचसय जना र बीडीएसमा दुई सय जना अध्ययनरत छन् । यस्तै चार वर्षे बिएस्सी नर्सिङमा एक सय साठी जना, बिएमएस मिड वाइफेरी चालिस जना र बिएसी एमएलटी र एमआइटीमा एक सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । उनीहरूको परीक्षाका कार्यक्रमहरू पनि रोकिएको छ । अध्यक्ष रजक भन्छन्, ‘दुई दिनसम्म विद्यार्थी परीक्षा हलमा गए । परीक्षा नहुँदा त्यत्तिकै फर्किएर आए ।’ कल्याण समाजले प्रतिष्ठान प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाउँदै २०८० असोज २२ देखि शैक्षिक तथा परीक्षाका कार्यक्रमहरू, अतिरिक्त सेवा अतिरिक्त जिम्मेवारीका सम्पूर्ण कार्यक्रमहरू पूर्ण रूपमा बहिष्कार गर्दै प्रतिष्ठानका शिक्षकहरू पुनः आन्दोलित हुनुपरेको उल्लेख गरेको छ । ‘बारम्बारको आन्दोलनले सबैभन्दा बढी र प्रत्यक्ष असर शैक्षिक क्षेत्र तथा विद्यार्थीहरूमा परेको’ पत्रमा उल्लेख छ । ‘स्नातक तहका विभिन्न वर्ष तथा सङ्कायका पठन–पाठनको साथै चलिरहेका आन्तरिक परीक्षाहरू समेत स्थगन गरिएको छ । जसले विद्यार्थीहरूमा अन्योलता सिर्जना त गरेकै छ साथमा नयाँ शैक्षिक सत्र समयमै सञ्चालन नहुँदा दीर्घकालीन असर परेको उल्लेख गरिएको छ । शैक्षिक क्षेत्रको क्षयीकरणलाई सक्दो न्यूनीकरण गरिदिन अनुरोध गरेका छन् । प्रतिष्ठान पदाधिकारीको भूमिका राम्रो नभएको अध्यक्ष डा. रजक बताउँछन् । शिक्षक कल्याण समाजका अध्यक्ष शेराज अहमद खानका अनुसार शनिबार प्रतिष्ठानका पदाधिकारीसँग वार्ता भए पनि निस्कर्षविहीन सकिएको छ । डा. खानले भने, ‘वार्ता भयो तर खासै उपलब्धि भएन ।’

सङ्घर्षरत पक्षहरूले वार्तामा समस्या समाधान गर्न के गर्दै हुनुहुन्छ ? भनेर प्रश्न गरेका थिए । उपकुलपति डा. कार्की आफू काठमाडौँदेखि फर्किदै गरेको बताउँछन् । प्रतिष्ठानका रजिष्ट्रार डा. सूर्य सङ्ग्रौला जायज मागहरू पूरा गर्न तयार रहेको बताउँदै भन्छन्, ‘केही कानूनी अड्चन छन् । कानूनी अड्चन कानूनी रूपमा नै फुकाएर दीर्घकालीन समाधान गरौं भन्नेमा छौँ ।’ उनी लोकसेवा आयोगको पत्रले समस्या भएको बताउँछन् । उनी भन्छन्, ‘हिजो मात्र लोकसेवाका अध्यक्षसँग कुरा भएको छ । नयाँ नियमावली प्रक्रिया पूरा गर्नुहोस् भन्नुभएको छ । हामी तयार गरिरहेको छौँ ।’ नयाँ कानून आगामी सिनेट बैठकबाट पारित गरी दीर्घकालीन समाधान गर्न लागिरहेको बताउँछन् । १ सय ७७ चिकित्सकको राजीनामाले काम गर्न असजिलो भएको छ । प्रतिष्ठानले १५ वर्षदेखि कर्मचारी र करिब सात वर्षदेखि चिकित्सकको बढुवा रोकेको चिकित्सकले बताएका छन् । प्रतिष्ठानका चिकित्सकले पछिल्लो समय असोज २१ गतेदेखि २६ गतेसम्म आन्दोलन गरेका थिए । आन्दोलनपश्चात् पनि समस्याको समाधान नभएपछि सामूहिक राजीनामा दिएका छन् ।