दुखाइ कम गर्ने औषधिको अनुचित प्रयोग बढ्दै गएको पक्राउ परेका व्यक्ति र बरामद औषधिबाट पुष्टि हुँदै आएको छ । 

कमाउ धन्दामा लागेका केही व्यक्ति तथा फार्मेसीले नै क्यान्सर रोगका लागि प्रयोग हुने दुखाइ कम गर्ने औषधिको दुरुपयोग गरिरहेको प्रहरीले जनाएको छ । यसरी औषधि दुरुपयोग गर्नेमा फार्मेसी सञ्चालकदेखि व्यक्तिहरू पनि छन् ।

यसक्रममा मोरङ सुनवर्षी नगरपालिका–९ का ५० वर्षीय मित्रबहादुर राई बिलबिजक विनै भारतबाट दुखाइ कम गर्ने औषधि ल्याउने क्रममा मोरङको सिक्टी क्षेत्रबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रङ्गेलीअन्तर्गतको सिक्टी प्रहरीले उनलाई बिहीबार ठूलो परिमाणमा दुखाइ कम गर्ने औषधिसहित पक्राउ गरेको छ । आरोपित राईले औषधिको अनुचित प्रयोग गरी दुर्व्यसनीलाई बिक्री गरेको खुल्न आएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले बताए ।

उनको साथबाट सात हजार दुई सय ८० थान औषधि बरामद गरिएको छ । उनलाई सुनवर्षी नगरपालिका–८ सिक्टी चोकबाट पक्राउ गरिएको डिएसपी दाहालले जानकारी दिए ।

नेपालतर्फ आउँदै गरेका उनलाई बा.३ प ९९०१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको थियो । प्रहरी चौकी सिक्टीबाट गस्तीमा खटिएको टोलीले शङ्काका आधारमा जाँच गर्दा मोटरसाइकलकोे लेगार्डमा बोरामा राखी ल्याउँदै गरेको अवस्थामा औषधि बरामद गरेको हो । पक्राउ परेका राईलाई प्रहरीले आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग विराटनगर पठाएको छ ।

केही औषधि मिश्रण गरी दुर्व्यसनीलाई बिक्री गर्ने गरेका छन् । चिकित्सकले सिफारिस गरेको आधारमा दुखाइ कम गर्नका लागि सेवन गर्नुपर्ने औषधि दुव्र्यसनीलाई बिक्री गर्ने पछिल्लो प्रवृत्ति बढ्दै गएको औषधि व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख टेकेन्द्र मिश्रले जानकारी दिए ।

केही दिनअगाडि पनि मोरङको उर्लाबारी नगरपालिका–३ मङ्गलबारेबाट औषधिको अनुचित प्रयोग गरेको आरोपमा रविन पुरी, रक्की धिमाल, सुमित राई र उज्वल थापा पक्राउ परेका थिए । उनीहरूलाई औषधि अनुचित प्रयोग गराउन लगाउने नाइके भने फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यसअघि उदयपुरको फार्मेसीबाट औषधिको अनुचित प्रयोग गरी बिक्री गरेको आरोपमा नेपाल औषधि व्यवसायी सङ्घ (एनसीडिए) उदयपुरका महासचिव वीरेन्द्रकुमार झा पक्राउ परेका थिए ।

उनी पटक–पटक पक्राउ पर्दै आएका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ मा गोपीकृष्ण मेकिडल हल चलाउँदै आएका उनले औषधिको अनुचित प्रयोग गरी बिक्री गरेको आरोपमा प्रहरीले यसअघि पनि उनलाई पक्राउ गरेको थियो । विशेषगरी क्यान्सरका बिरामीलाई त्यस्ता केही औषधिहरू चिकित्सकको परामर्शमा दिइने गरिन्छ । 

औषधि व्यवस्था विभाग विराटनगरले अनुचित औषधि प्रयोग गरेको भन्दै आर्थिक वर्ष २०७८/०७९ मा १७ वटा मुद्दा मोरङ अदालतमा दर्ता गरेको छ । १७ वटा मुद्दामा ३८ जनालाई प्रतिवादी बनाइएको विभागका सूचना अधिकारी दीपेन्द्र खड्काले बताए । आर्थिक वर्ष २०७९/०८० मा ४५ वटा मुद्दा दर्ता भएको छ भने चालु आर्थिक वर्षको असोज १५ गतेसम्ममा १८ वटा मुद्दा दर्ता भएको खड्काले जानकारी दिए ।

औषधि ऐन २०३५ अनुसार औषधिको अनुचित प्रयोग गरी बिक्री गर्नेलाई पाँच वर्षसम्म कैद सजाय र ५० हजार रुपैयाँसम्म जरिबाना हुनसक्ने कानूनी व्यवस्था रहेको छ ।

‘प्रतिबन्धित औषधिहरू भारतदेखि भिœयाएपछि पूर्वी सहरमा भण्डारण गरी प्रयोगकर्ताहरूलाई बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ’ कार्यालय प्रमुख टेकेन्द्र मिश्रले भने, ‘अवैधरूपमा ल्याएको औषधिको दुरुपयोग गर्दै दुव्र्यसनी युवाहरूलाई महँगो मूल्यमा बिक्री वितरण गर्ने गरेको पाइएको छ ।’

पक्राउ परेका प्रतिवादीहरूले २० देखि ३० हजार रुपैयाँ खर्चेर भारतबाट ल्याई बिक्री गर्ने गरेका छन् । उनीहरूले उक्त औषधिबाट झण्डै ८ देखि १० लाख रुपैयाँसम्म कमाइ गर्ने गरेको बयानका क्रममा स्वीकारेको प्रहरीले जनाएको छ ।