कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (शनिबार) प्रदेशसभामा विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

प्राप्त जानकारीअनुसार उक्त बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेस गर्दै छन् । संविधानको धारा १६८ को उपधारा (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त धाराको उपधारा (४) बमोजिम शनिबारसम्म विश्वासको मत लिनैपर्ने बाध्यात्मक अवस्था छ ।

प्रदेशसभा नियमावली २०७४ को नियम १२८ मा विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुने दिनभन्दा दुई दिनअगावै प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने व्यवस्थाअनुसार कार्कीले सूचना दिएका छन् । हालसम्मको गणितलाई आधार मान्दा उनी अल्पमतमा पर्ने सम्भावना बलियो छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेको ३९ सांसद् मात्रै छन् । उपसभामुखको मत तटस्थ हुन्छ । बराबरी भएको अवस्थामा मात्रै मत लगाउन पाउने संवैधानिक व्यवस्था छ । 

प्रदेशसभाको निर्वाचनदेखि सहकार्य गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पछिल्लो पटक मत हाल्ने नहाल्ने यकिन भएको छैन । राप्रपाको ६ मत मात्रै छ । गठबन्धन दलअन्तर्गत काङ्ग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सांसद् छन् । शुक्रबारसम्मको स्थितिमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने अवस्था छैन । राप्रपा बुधबारदेखि नै प्रतिपक्षको बेन्चमा बस्न थालेको छ । राप्रपा कोशी संसदीय दलका नेता भक्ति सिटौलाले मुख्यमन्त्रीले बहुमत पाउने अवस्था देखिए मात्र विश्वासको मत दिने बताए ।

‘विश्वासको मतबारे निर्णय भोलि नै गर्छाैं’ उनले भने, ‘सकारात्मक नतिजा नआउने देखिएमा विचार गर्छाैं ।’ राप्रपाले मत दिँदा पनि कार्कीले विश्वासको मत पाउने अवस्था भने छैन । कोशीमा विश्वासको मत पाउन ४७ सांसद् आवश्यक पर्छ । 

गठबन्धन दलमध्ये काङ्ग्रेसले कार्कीलाई विश्वासको मत नदिने यसअघि नै निर्णय गरेको छ । मुख्यमन्त्री कार्कीलाई गठबन्धनका कुनै पनि दलले मत नदिने नेपाली काङ्ग्रेस कोशी प्रदेश सभाका प्रमुख सचेतक भूपेन्द्र राईले बताए । ‘अब धारा ५ मा सरकार बन्छ । त्यही सरकारले विश्वासको मत पाउँछ’–उनले भने ।

नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले मध्यावधि हुन नदिन दलहरूबीच समझदारी बनेको दाबी गरे । ‘कोशीलाई मध्यावधिमा जान दिँदैनौँ, काङ्ग्रेस, राप्रपा, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा मध्यावधि नगर्न एक छौँ’ उनले भने, ‘अब उपधारा ५ अनुसार सरकार बन्छ । कसलाई अघि सार्ने भनेर छलफल भइरहेको छ ।’

उपधारा ५ को सम्भावना
कार्कीले प्रदेश सभामा विश्वासको मत नपाउनेबित्तिकै सरकार गठन संविधानको धारा १६८ को उपधारा ५ अनुसार हुन्छ । त्यसबेला कुनै सांसद्ले प्रदेश सभामा बहुमत सदस्यको आफूलाई समर्थन छ भन्ने प्रमाण लिएर गए प्रदेश प्रमुखले बहुमत सिद्ध गर्ने सांसद्लाई मुख्यमन्त्री नियुक्त गर्नेछन् ।
काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ४७ सांसद् छन् । यस आधारमा गठबन्धनले अघि सारेका कुनै पनि मुख्यमन्त्रीले सजिलै विश्वासको मत पाउने देखिन्छ । तर, यसअघि पनि मुख्यमन्त्री बनेका उद्धव थापाले विश्वासको मत लिने बेलामा एमालेका उपसभामुख, ज्येष्ठ सदस्य सबै अनुपस्थित भएका थिए । त्यसपछि काङ्ग्रेसका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले संसद् बैठक सञ्चालन गरेर विश्वासको मत लिने प्रक्रिया अघि बढाए र थापालाई मत पनि दिए । जसलाई सर्वाेच्च अदालतले असंवैधानिक ठहर गरेको थियो ।

सर्वाेच्चले ठूलो दलको हिसाबमा धारा १६८ को उपधारा ३ अनुसार एमालेका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । उपधारा ५ अनुसार बन्ने मुख्यमन्त्रीले सजिलै विश्वासको मत पाउने काङ्ग्रेस प्रमुख सचेतक राईले दाबी गरे । ‘मुख्यमन्त्रीको उम्मेदवार गठबन्धनको शीर्ष नेताले टुङ्ग्याउनुहुन्छ’ राईले थपे, ‘४७ जना माननीय गठबन्धनकै छौँ । हामीलाई के लाग्छ भने यसपटक उपसभामुखको स्वास्थ्यमा समस्या आउँदैन । साइत जुराएर ज्येष्ठ माननीयज्यूहरूले बिदा लिनुहुने छैन । त्यसो भएपछि गठबन्धनले अघि सारेका मुख्यमन्त्रीले विश्वासको मत पाउनुहुन्छ ।’

एमाले र राप्रपाले पनि चुनाव नचाहेकोले गठबन्धनकै उम्मेदवारलाई विश्वासको मत दिनसक्ने राईले बताए । माओवादी दलका नेता आङ्बोले पनि राप्रपासँग नयाँ सहमति हुनसक्ने बताए । ‘राप्रपासँग गठबन्धनको सहकार्य हुन्छ’ उनले भने, ‘केन्द्रमा पनि शीर्ष नेताहरू छलफलमा हुनुहुन्छ । सहकार्यको वातावरण बनाउने गरी सायद केही समझदारी बन्नसक्छ ।’ गठबन्धनले बनाउने मुख्यमन्त्रीले नै कोशी सरकारलाई स्थायित्व दिने उनले बताए ।

राप्रपाका दलका नेता भक्ति सिटौलाले अहिलेसम्म गठबन्धनले कुनै छलफल नगरेको बताए । ‘हामीबीच कुनै राजनीतिक सहमतिबारे छलफल भएकै छैन’ सिटौलाले भने, ‘राप्रपाको कारण मध्यावधि हुँदैन, हामी न्युट्रल पोजिसनमा छौँ, केही परे निर्णय गर्छाैं ।’ माथि केन्द्रसँग यसबारे छलफल गर्ने उनले बताए ।
को होलान् मुख्यमन्त्री ?

नेताहरूका अनुसार कोशी प्रदेशमा मुख्यमन्त्री बन्न उद्धव थापाले जोड गरिरहेका छन् । यस्तै माओवादी, एकीकृत समाजवादीसमेत मुख्यमन्त्री बन्ने प्रयासमा छन् । तर, अहिलेसम्म दलहरूले मुख्यमन्त्रीबारे निर्णय गर्न सकेका छैनन् । काङ्ग्रेसका प्रमुख सचेतक राईका अनुसार शीर्ष नेताले जुन नाममा सहमति जनाउँछन्, तिनै नेता मुख्यमन्त्री बन्नेछन् । ‘तीन दलबाट दाबी भए पनि अहिलेको परिस्थिति र गठबन्धनको स्ट्रेन्थका आधारमा निर्णय हुन्छ’ राईले भने, ‘नामले गठबन्धनमा विवाद हुँदैन ।’ अहिलेसम्म काङ्ग्रेसका थापा र माओवादीबाट आङ्बो मुख्यमन्त्रीको चर्चामा छन् ।