उत्तरी सिक्किमस्थित लाचेन घाटीमा रहेको ल्होनक ताल नियन्त्रण बाहिर भएको छ । टिस्टा नदीमा अचानक बाढी आउँदा घाटीमा रहेको सैन्य प्रतिष्ठानसमेत बाढीले बगाएको छ । बाढीका कारण भारतीय सेनाका २३ जवान बेपत्ता भएका छन् । 

चुङथाङ बाँध ओभरफ्लो भएको छ । टिस्टामा  जलस्तर १५–२० फिटको उचाइसम्म पुगेको छ । जसका कारण सिक्किमको सिङतामनजिक बारदाङमा रहेको सेनाका रोकिराखेका सवारीसमेत बगाएको छ । केही सवारी हिलोमा पुरिएका छन् । बेपत्ता २३ सेनाका जवानको  खोजी कार्य जारी रहेको बताइएको छ ।

सिक्किम सरकारका मुख्यमन्त्री पिएस तामाङले टिस्टा नदी बेसिनमा आएको बाढीका कारण भएको क्षतिको अनुगमन गर्न सिङताम भ्रमण गरेका छन् । 

एसएसडिएमका अनुसार मंगन जिल्लाको उत्तरी क्षेत्रमा आएको अविरल वर्षाका कारण बाढी आएको अनुमान गरिएको छ । मुख्यमन्त्री तामाङले सिङताम नगर पञ्चायत कार्यालयमा सरोकारवालासँग छलफल गरेका छन् । 


PS Gole Sikkim Tista Flood

प्राकृतिक प्रकोपसँग जुध्न सबै एकजुट हुनुपर्ने मुख्यमन्त्री तामाङले आह्वान गरेका छन् । स्थानीयलाई सतर्क रहन आग्रह गर्दै उनले सुरक्षा सुनिश्चितताका लागि बेसिन नदी किनारमा यात्रा नगर्न सल्लाह दिएका छन् ।

यसैबीच सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङले प्रभावित जनतालाई राहत दिन सरकारलाई आग्रह गरेका छन् । उनले  लेखेका छन्– म बिहान उठ्नेबित्तिकै सिक्किममा अचानक बाढी आएको विनाशकारी खबर सुनेर स्तब्ध भएँ । जसले निकै क्षति पुर्याएको छ । उत्तरी सिक्किमस्थित ल्होनक झिलमा ग्लेसियल झिल विष्फोट भएर टिस्टामा पानीको बहाब बढेको भनिएको छ । जसले पुल र त्यस तलका क्षेत्रहरु नष्ट भएका छन् । हामीले जिउधनको क्षति भएको सुनेका छौं तर हामीलाई यस सम्बन्धि आधिकारिक खबर प्राप्त भएको छैन । राष्ट्रिय राजमार्गमा क्षति भएका छन् । घर बगेको छ । क्षतिको भयावहताको  यकिन अहिले पूर्ण रुपले बुझ्न  बाँकी छ । सङकलाङ, ब्रिङबोङ, फिफाङ, डिक्चू, माखा, सिङताम, रङपो, मेलीका दक्षिणी क्षेत्रमा विशेष रुपले बाढीको खतरा छ । र, यस क्षेत्रका व्यक्तिलाई आवश्यक सुरक्षा अपनाउन अनुरोध गर्छु ।

यस विपतबाट प्रभावित या विस्थापित नागरिकलाई सुरक्षा सुविधा प्रदान गर्न र आश्रय भोजन र अन्य आवश्यक वस्तुको व्यवस्था सुनिश्चित गर्नका लागि सिक्किम सरकारसँग आग्रह गर्दछु । बाढीबाट प्रभावित व्यक्तिलाई राहत पुर्याउन र उनीहरुको  पुनर्बास गर्न आवश्यक छ । समयमै सरकारले जिउधन गुमाउने व्यक्तिहरुलाई मुआब्जा दिनुपर्छ । यो कठिन समयमा सिक्किम सरकारलाई एसडीएफ पार्टीको पूर्णसमर्थन छ । यो सिक्किम लागि कठिन समय हो । र म नागरिकलाई एकसाथ उभिन अपिल गर्दछु ।  म सिक्किमका संरक्षक देवीदेउताहरुसँग हाम्रो सिक्किम राज्य र हाम्रा नागरिकलाई अत्यधिक क्षतिबाट बचाउन हुन प्रार्थना गर्दछु । 

Sikkim Tista Flood (1)
टिस्टा ओभरफ्लो भएपछि एनएचपिसी पावर प्रोजेक्टमा क्षति पुगेको छ । स्थानीयका अनुसार  ५५ वर्षपछि टिस्टा बहुलाएर उर्लेको छ । सन् १९६८ पछिको टिस्टामा यो ठूलो बाढी र विपत आएको हो । 

स्थानीयले एनएचपिसी पावर प्रोजेक्टले टिस्टाको बाटो थुनिदिएपछि विपत आएको आरोप लगाएका छन् । 

सिङताममा बाढीले बगाएका एक मृत व्यक्ति फेला परेका छन् । थपको खोजी कार्यजारी रहेको बताइएको छ । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले  आपतकालमा सहयोग गर्न आह्वान गरिरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्– ‘१९६८ को याद आयो । कयौं मानिसको ज्यान गएको थियो । रोडहरु केही राखेको थिएन । राजाको शासन थियो । हामी सबै जना सतर्क बसौं । आपतकालको समयमा सहयोग गरौं ।’

Sikkim Flood (1)

Sikkim Flood

Sikkim Flood (2)

उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ सैनिक बेपत्ता भएको भारतीय सेनाले पुष्टि गरेको हो । 

‘उत्तर सिक्किमको ल्होनाक तालमा अप्रत्याशितरूपमा बादल फाट्दा टिस्टा नदीमा बाढी आयो, २३ सैनिक बेपत्ता भएको र केही सवारी साधन डुबेको खबर छ’, सेनाले भनेको छ, ‘खोजी कार्य जारी छ ।’

उक्त दुर्गम क्षेत्र नेपालसँग भारतको सीमा नजिक पर्छ । साथै ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा अग्लो हिमाल कञ्चनजंघालाई घेरेको हिउँको चुचुरोमा रहेको हिमनदीको फेदमा अवस्थित छ । 

चुङथाङ बाँधभन्दा माथि पानी छोडिएका कारण सामान्य अवस्थाभन्दा पानीको सतह पहिला नै १५ फिट माथि रहेको सेनाले बताएको छ । 

भारतीय सेनाका प्रवक्ताले जारी गरेको एउटा भिडियोमा जंगली क्षेत्रमा पानीको तीव्र धारले सडकहरू बगाएको र बिजुलीका तारहरू चुँडाएको देखिएको छ । 

सामान्यतया भारतमा जुनदेखि सुरु भएर सेप्टेम्बरमा सकिने मनसुनको समयमा अचानक बाढी आउनु सामान्य हो । अक्टोबरसम्ममा मनसुनी वर्षा सामान्यतया सकिसकेको हुन्छ ।