नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा प्रतिनिधि बन्न स्थानीय पार्टी पङ्क्तिमा तँ छाड म छाड चल्छ । गुटउपगुट सक्रिय हुन्छन् । निषेधको राजनीति चल्छ तर छानिएर गएका प्रतिनिधि अधिवेशन स्थलमा भन्दा बाहिर रमिते धेरै हुन्छन् । यतिसम्म कि पार्टी कार्यकर्ताको म्याण्डेड लिएर गएका प्रतिनिधि समूहगत छलफलमा समेत सक्रिय सहभागी हुँदैनन् ।
एमाले कोशी अधिवेशनमा प्रतिनिधि भएर गएका  ९९७ प्रतिनिधिमध्ये ९७७ ले मात्र मतदान गरेका छन्  । २० प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन् ।
प्रतिनिधि बनेर मतदानमा सहभागी नहुनेहरुलाई सामाजिक सन्जाकमा कटाक्ष सुरु भएको पार्टी कार्यकर्ताले सामाजिक सन्जालमा लेखेका छन् - 'प्रदेश अधिवेशनका लागि प्रतिनिधि बन्न लडाइँ गर्ने अनि चुनावमा भोट नहाल्ने ? ती बीस जनाको खोजी गर्नुपर्यो नेतृत्वले। यस्ता अराजकहरुलाई आइन्दा पार्टी प्रतिनिधिमा रोक लगाउँदा राम्रो।'
सहमतिको राग अलापी रहेको नेतृत्व र पार्टीको निर्णयविरुद्ध चुनावी होडबाजी चल्छ । पुराना नेता 'बाइपास' गरिन्छ्न । प्रतिनिधि जाने गैरजिम्मेवार बन्छन् । एक एमाले कार्यकर्ताले भने, 'यिनमा राजनीतिको नशा यस्तरी लागेको हुन्छ, यिनलाई जही पनि आफै पुग्नुपर्ने हुन्छ, तिनै नगर प्रतिनिधि, तिनै जिल्ला प्रतिनिधि अब प्रदेशमा पनि नगई नछाड्ने ।'
प्रतिनिधि गएका सुनसरीका ९७ प्रतिनिधि मध्ये ६८ ले उम्मेदवारी दिए । ती प्रतिनिधि कोही नगर कमिटी, कोही जिल्ला कमिटी र जनवर्गीय संगठनका पदाधिकारी छन् । नगर कमिटीको दायित्वमा रहेका प्रतिनिधिले आफ्नो कमिटीलाई सक्रियता दिन सकेका छैनन् तर तिनै प्रदेश कमिटी ताकिरहेका छन् ।
एमाले समर्थक युवा खड्गप्रसाद आचार्यले सुनसरी जिल्ला पार्टी कमिटी नेतृत्वले अराजकतालाई प्रश्रय दिएको आरोप लगाए । उनले गैरजिम्मेवार मान्छेलाई प्रतिनिधि छनोटमा उक्साएको समेत आरोप लगाए ।
त्यस्तै एमालेका पुराना एक नेताले भनेका छन्– 'मान्छे हो बिरामी पर्नसक्छ,अरु केही हुन सक्छ । यस्तो हल्का टिप्पणी भएजस्तो लाग्यो ।
मतदाताको योग्यतामा समेत प्रश्र्न उठाउनु कति जायज होला ? हामी बढी तथ्य पत्ता लगाउने भन्दा निर्णयमा गइहाल्न हतारो त गर्दैछैनौं ?
निर्वाचन प्रकृयामा २ सय १५ सदस्यीय प्रदेश कमिटीका लागि जम्मा ४ सय ५० जनाले उम्मेदवारी दिएका थिए भने ९९७ प्रतिनिधिमध्ये ९७७ ले मात्र मतदान गरेका थिए । 
                             
                     
         
                                        
                                                                                                 
        































