डा. पङ्कजराज नेपाल पूर्वी नेपालमा चर्चित न्यूरो सर्जनको रूपमा परिचित छन् । पूर्वी नेपालका पहाडी जिल्ला, तराई र भारतका धेरै बिरामीको उपचार गरेर ख्याति आर्जन गरेका कारण मात्रै होइन, पूर्वमा न्यूरो उपचार सेवाको भरपर्दो विकल्प स्थापित गरेका कारण पनि डा. नेपालको यस्तो पहिचान बनेको हो ।

जन्मथलो विराटनगरलाई नै कर्मथलो बनाएर अनवरत स्वास्थ्य उपचार सेवा दिइरहेका उनले हजारौंलाई बचाएका छन् । उनले आर्जन गरेको सीपले कोशी प्रदेश, मधेश प्रदेश र भारतका हजारौं मानिसको जीवनलाई सहज बनाएको छ । दैनिक औसत ३० देखि ५० जना बिरामीलाई सेवा दिँदै आएका उनले यस अवधिमा हजारौं बढी बिरामीको सफल उपचार गरिसकेका छन् ।

बिरामीसँगको उनको सामीप्यता अझ लोभलाग्दो छ । हजारौं बिरामीलाई नयाँ जीवन दिएर डा. नेपाल ती बिरामीका परिवारमा खुसीको प्रकाश छर्न सफल छन् । आफ्नै नेतृत्वमा विराटनगर–३ कञ्चनबारीमा स्थापना भएको आर्या न्यूरो हस्पिटलको डा. नेपाल प्रबन्धक निर्देशक पनि हुन् । उनले अस्पताललाई मन्दिर, आफूलाई त्यसको पुजारी र त्यहाँ आउने बिरामीहरूलाई देवता सम्झने गरेका छन् । जीवनमा पैसालाई कहिल्यै महŒव नदिएको बताउने उनी राम्रो काम र सेवा गरेमा पैसा आफै प्राप्त हुने बताउँछन् । स्थानीयस्तरमा न्यूरो सेवा सुरु भएपछि काठमाडौँ र भारत जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

देवकोटाको प्रेरणाले न्यूरो सर्जन
डा.नेपालले स्वास्थ्य सेवाको आरम्भ काठमाडौंस्थित बाँसबारी न्यूरो हस्पिटलबाट गरे । न्यूरो सर्जरीका फादर अफ मोडल न्यूरोसर्जरी भनेर चिनिने प्रा.डा. उपेन्द्र देवकोटाको अन्डरमा लामो समयसम्म काम गरेको उनीसँग अनुभव छ ।

डाक्टर देवकोटाले बिरामीसँग गर्ने सामीप्यता, उनले गरेको स्वास्थ्य उपचारले बिरामीलाई दिएको नयाँ जीवनसँगै परिवारमा छाएको खुसीको प्रकाश र आफूलाई दिएको प्रेरणाको स्रोतको कारणले न्यूरो सर्जन बनाएको उनले सुनाए । ‘प्रा.डा. उपेन्द्र देवकोटा घरपरिवारलाई माया मारेर बिरामीको उपचार सेवामा लाग्ने गर्नुभएको थियो । बिरामीप्रतिको उहाँको सेवा लोभलाग्दो थियो । त्यो मैले नजिकबाट नियाल्ने र उहाँसँग काम गर्ने अवसर पाएको छु’ अतित सम्झिँदै डा.नेपालले सुनाए, ‘उहाँकै हौसला, उत्प्रेरणा र मेरो लगनशीलताको कारणले मलाई न्यूरो सर्जन बनाएको हो ।’

न्यूरो सर्जरी विषय चयन गर्नुको श्रेय उपेन्द्र देवकोटालाई जाने गरेको उनले सुनाए । ‘मैले नेसनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा मेडिकल अफिसरको रूपमा काम गरिरहँदा डा. देवकोटाको कामलाई देखेर म न्यूरो सर्जरी विषय पढ्नका लागि प्रेरित भएँ’–उनले भने । उनले जनरल सर्जरीको प्रशिक्षण बी एण्ड बी हस्पिटल ग्वार्कोबाट पूरा गरे र प्रा.डा. उपेन्द्र देवकोटाको निरीक्षणमा न्यूरो सर्जरीको प्रशिक्षण नेसनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेस बाँसबारीबाट गरेका हुन् ।

त्यसपछि मोफसल
सेवा दिने क्रममा एक दिन झापा, इलाम र नेपालगञ्जमा बिरामी बाँसबारी हस्पिटल आएका थिए । उनीहरूको टाउकोमा गहिरो चोट लागेर मस्तिष्कमा रगत जमेको थियो । त्यस्ता बिरामीले चाँडै उपचार पाए बाँच्न सक्ने धेरै सम्भावना हुन्छ । जति ढिलो हस्पिटल लगियो, त्यति नै खतरा बढी हुने गर्दछ । ‘झापामा दुर्घटना भएर एक जना बिरामी काठमाडौं बाँसबारीमा ल्याइएका थिए । तर, यहाँ ल्याइपु¥याउँदा ती बिरामीको ब्रेन डेथ भइसकेको थियो’ उनी भन्छन्, ‘ढिलो गरी हस्पिटल ल्याएका कारणले ती बिरामीलाई हामीले बचाउन सकेनौँ । ती बिरामीको झापामै उपचार गर्न सकेको भए बचाउन सकिने थियो ।’ इलामका बिरामीको अवस्था पनि त्यस्तै थियो ।

यी दुई घटना नजिकबाट देखेपछि उनले एक दिन डा. उपेन्द्र देवकोटालाई भने, ‘सर, अब म न्यूरो सेवा मोफसलमा गएर विस्तार गर्नेछु ।’ डा. देवकोटाले पनि ‘तिमी जाऊ, आफ्नै ठाउँमा गएर सेवा गर’ भनेर हौसला दिए । त्यसपछि सन् २०१७ मा झापाको बिर्तामोडस्थित बी एण्ड सीमा हेड अफ डिपार्टमेन्ट भएर काम गरे । लगातार काम गरेपछि डेपुटी मेडिकल डाइरेक्टर भएर सन् २०२० सम्म तीन वर्ष गरे । त्यहाँ आएपछि थुप्रै बिरामीको जटिल प्रकारको उपचार गरे । उपचारको लागि भारत जाने बिरामी केही हदसम्म अन्त्य भयो ।

अनि जन्मियो आर्या न्यूरो हस्पिटल
बिरामीको उपचार गर्ने क्रममा तीन वटा फ्याक्टर समावेश हुन्छ । ती हुन्, बिरामीका कुरुवा, चिकित्सक र व्यवस्थापन । बिरामीको अवस्था हेरेर तुरुन्त अप्रेसन गर्नुपर्ने हुन्छ । तर, कतिपय ठाउँमा व्यवस्थापनका कारणले त्यो हुन सकेको थिएन । त्यसपछि न्यूरो सर्जरीको बेग्लै विभाग हुनुपर्ने उनले महसुस गरे । जबसम्म न्यूरो सर्जरीको लागि मात्र उपचार हुने हस्पिटल नभएसम्म चुस्त, दुरुस्त भएर समयमै उपचार गराउन नसक्ने अवस्था भयो । कामको दौरानमा उनले भोगेका समस्या श्रीमतीलाई सुनाए । त्यसपछि श्रीमती डा.अर्चनाको उत्प्रेरणाको कारणले आर्या न्यूरो हस्पिटल आफ्नै जन्मभूमिमा जन्म भएको हो । पङ्कजराज र अर्चनाले आफ्नो छोरीको नाममा हस्पिटलको नाम राखेका हुन् ।

निरन्तर १६ घण्टासम्म अप्रेसन
यस अवधिमा हजारौं बिरामीको शल्यक्रिया गरियो । लगातार १६ घण्टाभन्दा बढी समय लगाएर पनि बिरामीको शल्यक्रिया गरिएको सम्झना डा.नेपालसँग छ । उनी जटिल प्रकारको शल्यक्रिया गरी बिरामीलाई पुनर्जन्म दिएका छन् । अहिले यही आर्या न्यूरो हस्पिटलमा १२ घण्टा लगाएर लामो अप्रेसन पनि गरिएको उनले सुनाए  ।

झापाको एक जना बिरामीको ब्रेनमा ट्युमर थियो । त्यो जटिल थियो । राति ८ बजेतिर अप्रेसन गर्न सुरु गरेका थिए । बिहान ८ बजेतिर मात्र अप्रेसन सकिएको थियो । रातभरि निरन्तर १२ घण्टा अप्रेसन गरेपछि त्यो बिरामीको सफल उपचार भएको थियो । यसरी गरेको मेहनत सफल हुँदा सर्जन डाक्टरलाई त्योभन्दा बढी खुसी केही नहुने उनले सुनाए ।
अर्का एक जना बिरामी थिए, ४ वर्षका बच्चा । रगतको नशा गुजुल्टिएर उपचारार्थ ल्याइएको थियो । अप्रेसन गरेर त्यो बच्चाको नशा बचाए । मेडिकल भाषामा यसलाई ‘एभिएम’ भनिन्छ । त्यो पनि ग्रेड थ्री एभिएम । यो एकदमै गाह्रो अवस्था थियो । त्यो बिरामीको अप्रेसन गरियो । भोलिपल्ट होसमा आउँदा ती बिरामीले भने, ‘म मामा चाउचाउ खान्छु ।’ यसरी मेहनत गरेर अप्रेसन गरेको बिरामीको सफल उपचार हुँदा खुसी छाउने गरेको डा.नेपालले बताए ।

चित्रकलामा सौखिन
बुबा ईश्वरीप्रसाद र आमा सविता नेपालको कोखबाट जन्मिएका डा.नेपालको जन्मथलो विराटनगर हो ।

फुर्सदमा उनी आर्ट गर्छन् । सानैदेखि उनी आर्टप्रति सौखिन हुन् । ‘चित्र बनाउन थालेपछि समय गएको पत्तै हुँदैन’ उनले सुनाए, ‘फुर्सद भयो कि आर्ट गर्न थालिहाल्छु ।’ सबै किसिमको आर्ट गर्ने डा. पछिल्लो समय पोट्रेट स्केच गर्ने रुचि भएको बताउँछन् । डा. नेपालले आफ्ना गुरु उपेन्द्र देवकोटाको दुरुस्त स्केच पनि गरेका छन् । उनले गरेको देवकोटाको स्केच हस्पिटलको भित्तामा सजाएर राखेका छन् । ‘यो भ्यालुएवल पिक्चर हो । यसमा मेरो र डाक्टर देवकोटाको हस्ताक्षर पनि छ’ उनले भने, ‘मैले दुरुस्त आर्ट गरेपछि सरले हस्ताक्षर गरिदिनुभयो र मैले मेरो गुरुको आशीर्वाद लिएर आएको छु । त्यो फोटो हेरेपछि सरले आँसु पनि झार्नुभयो ।’

आर्ट गरेको कारणले आफूलाई उपचारमा पनि धेरै सहज भएको उनले सुनाए । ‘लोडसेडिङको समय थियो । इन्भर्टरबाट धेरैबेर थाम्दैनथ्यो । त्यसबेलामा सिटी गर्यो । प्रिन्ट हुँदैनथ्यो । कागजमा टिप्नुपर्ने अवस्था आयो । म आर्ट चित्र बनाउने भएकोले मलाई सजिलो भयो । फोटो ग्राफी मेमोरीको भरमा अप्रेसन गरेको क्षण पनि रहेको छ’ –उनले सुनाए । आर्टबाहेक सङ्गीत र स्विमिङ मन पर्ने गरेको उनले सुनाए ।