नेपालको संविधानको धारा १७ को उपधारा २ (क) मा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक सुनिश्चित छ । तर, धरान नगरप्रमुख हर्कराज राई (साम्पाङ) संविधानविपरीत प्रश्न सोधेकै वा विचार राखेकै आधारमा नागरिकलाई पक्राउ गरी सास्ती दिने गरेका छन् । यता आफ्ना समर्थकलाई भने कानून उल्लङ्घन गर्दा पनि संरक्षण गर्ने गरेका छन् ।  

शुक्रबार नगरप्रमुख राई धरान–१५ मा लागूऔषधविरुद्धको अभियानमा पुगेका थिए । नगरप्रमुख राईले बोल्दै गर्दा धरान–१५ कै ३० वर्षीय अशोक लिम्बूले प्रश्न गरेका थिए । लिम्बू र नगरप्रमुख राईको सवालजवाफ भएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा लिम्बूले ‘हर्क दाइ, धरानमा मान्छे डेङ्गुले बिरामी भएका छन् तर, तपाईं चाहिँ फोटो खिचाउँदै हिँड्ने ?’ भन्दै प्रश्न गरेका छन् । प्रश्न गर्ने लिम्बूलाई नगर प्रमुख राईले रिसाउँदै भने, ‘तिमी विरोध गर्न आएको ?’

लिम्बूलाई प्रश्न सोधेकै आधारमा नगरप्रमुख राईको निर्देशनमा नगर प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालयमा बुझायो । शनिबार बेलुका मात्रै राईलाई धरान–१५ का अध्यक्ष नरेश इवारमको रोहवरमा छाडिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले बताए । नगरप्रमुख राई अभियानमा रहँदा सरकार नागरिकप्रति उत्तरदायी र जवाफदेही बन्नुपर्ने नारा जुलस गर्दै हिँड्थे । नगरप्रमुख निर्वाचित बनेदेखि नै राईले विचार राखेकै र प्रश्न सोधेकै आधारमा नागरिकलाई पक्राउ गरी सास्ती दिँदै आएका छन् ।

गतवर्ष वराह बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको निक्षेप रकम अपचलन गरेपछि निक्षेपकर्ताहरू समस्यामा परे । वराह सहकारी पीडितहरू न्यायको माग गर्दै धरान उपमहानगरको कार्यालय पुगेका थिए । संविधानअनुसार स्थानीय तहलाई सहकारी नियमन गर्ने अधिकार छ । पीडितहरू न्याय माग्दै पटक–पटक निवेदन लिएर उपमहानगरपालिका पुगेका थिए । धरानका नगरप्रमुख राईले ११ बजे समय दिएका थिए । तर, पीडितहरूले ३ बजेसम्म पर्खिनुप¥यो । आफूलाई पर्खेर बसेका पीडितहरूलाई प्रमुख राईले ‘मलाई सोधेर वराहमा पैसा राखेका थियौ र ?’ भनेपछि भीड भड्किँदा उनको कार्यकक्षको झ्यालको सिसा फुट्न पुग्यो । उक्त घटनामा नगरप्रमुख राईले वराह पीडित समूहका दुई जनालाई पक्राउ गराए । उनीहरू करिब दुई हप्ता हिरासतमा बसेर तारिखमा छुटे ।

२०७९ माघमा धरान–८ स्थित निर्माणाधीन बसपार्कका जग्गाको विषयमा कुरा राख्न सेवाग्राही नगरप्रमुख राईको कार्यकक्षमा पुगेका थिए । उनीहरूले पनि नगरप्रमुख राईलाई केही जिज्ञासा राखेको भिडियो देखिन्छ । ती सेवा लिन पुगेका सेवाग्राहीलाई आफ्ना कुरा राख्दा नै प्रमुख राईले प्रहरी बोलाई पक्राउ गर्न आदेश गरे ।

२०७९ चैत ३ गते सम्पर्क तथा भू–आर्जन कार्यालय कोसी परियोजना विराटनगरका पूर्वप्रमुख सन्तोष लिम्बू एउटा सिफारिस लिन नगरमा पुगेका थिए । तेस्रो पटकसम्म सिफारिस लिन प्रतिनिधि पठाउँदा पनि नगरप्रमुख राईले आधिकारिक व्यक्ति माग गरेपछि लिम्बू आफै पुगेका थिए । लिम्बू प्रदेश सरकार अन्तर्गत सिंचाइ डिभिजन कार्यालय सुनसरीको बजेटबाट सर्दु खोलामा तारजाली लगाउने कार्यका लागि सिफारिस लिन गएका थिए । उनले नगर प्रमुख राईलाई ‘जनताको मेयर भन्नुहुन्छ ? सामान्य सिफारिस लिन तीन दिनसम्म लगाउनुभयो ?’ भन्दा लिम्बूलाई नगर प्रहरीले बाहिर निकाल्यो । नगरप्रमुख राईले प्रहरी बोलाएर पक्राउ नै गराए । तर, केही समयमा नै लिम्बू छुटे ।

नगर प्रमुख राईले संविधानविपरीत काम गरेको विषयमा बुद्धिजीवी धरपकड घटना हेर्दा सामान्य लागे पनि संवेदनशील विषय भएको बताउँछन् । उनले भने, ‘लोकतान्त्रिक पद्दति अनुकूल व्यवहारमा परिवर्तन देखिएन । परिवर्तन आवश्यक छ ।’ उनले थपे, ‘मेयरजस्तै भइदिए हुन्थ्यो भन्ने लाग्छ, अभियन्ता मात्रै हुनुभयो ।’ उनले नागरिकले आवेशमा आउने, उत्तेजित बन्ने र राँके जुलुससम्म गर्ने बताउँदै भने, ‘जनतालाई प्रहरी दमनमा कहिलेसम्म राख्ने ?’

वरिष्ठ अधिवक्ता सुमनचन्द्र कार्कीले अहिलेका नागरिक लोकतन्त्र उपभोग गर्ने भएको बताउँदै भने, ‘सवाल–जवाफ गरेका आधारमा धरपकड गर्नु मौलिक हकको हनन् हो । मेयरले त्यस्तो काम गर्नु कानूनी, राजनीतिक तथा संस्कारका दृष्टिकोणले असाध्यै निकृष्ट र कमजोर व्यवहार मानिन्छ । लोकतान्त्रिक मान्न सकिँदैन ।’ लोकतन्त्रले व्यवहारमा समानता र स्वतन्त्रता चाहन्छ । स्वतन्त्रताप्रति अङ्कुश लगाउन विशेष प्रकृतिको कानून हुनुपर्छ । अधिवक्ता कार्कीले भने, ‘स्वतन्त्रता अपहरण गर्नु कानूनीरूपमा दण्डनीय र राजनीतिकरूपमा निन्दनीय कुरा हो ।’ कानूनको उल्लङ्घन गर्नु लोकतन्त्र विरोधी हुने उनको भनाइ छ ।

सवाल–जवाफमा नै प्रहरीले तत्काल पक्राउ गरिहाल्नुको विषयमा सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कसैले कानूनविपरीतका काम गर्न नहुने बताइन् । कानूनीरूपमा गल्ती छैन भने जोकोहीले भनेपनि प्रहरीले पक्राउ नगर्ने बताउँदै उनले भनिन्, ‘प्रहरीले अनुसन्धान गर्न नियन्त्रणमा लिन सक्छ । तर, प्रमाणका आधारमा मात्रै अघि बढाउँछ ।’  

कानून उल्लङ्घन गर्नेलाई संरक्षण                          

नगरप्रमुख राईले आफू अनुकूलबाहेक व्यक्तिलाई प्रश्न सोधेकै आधारमा पक्राउ गराउने गरेका छन् भने आफू अनुुकूलका व्यक्तिले कानून उल्लङ्घन गर्दा पनि संरक्षण गर्ने गरेका छन् ।

२०८० साउनमा साइबर अपराध मुद्दामा धरान–५ देउरालीबासी रमेश बान्तवा राई पक्राउ परे । पक्राउ परेलगत्तै नगरप्रमुख राईले सामाजिक सञ्जालमा प्रहरीलाई दबाव दिँदै लेखे– ‘नागरिकलाई अनावश्यक दुःख नदिन प्रहरी प्रशासनलाई सुझाव छ । अभिव्यक्ति स्वतन्त्रताको हेक्का रहोस् ।’

उनी त्यतिमै रोकिएनन् र थप लेखे– ‘रमेश राईलाई तत्काल रिहा गरी जनताको पक्षमा उभिन प्रहरी प्रशासनलाई मेरो सुझाव । माफियाहरूको झाँसामा प्रहरी आउनुहुन्न । अनाहकमा नागरिकलाई राज्यले दुःख दिनुहुन्न ।’ उनका समर्थक मानिएका रमेशलाई धरानका नेपाली काङ्ग्रेसका नेता तथा युवा व्यवसायी पर्वत राईले जिल्ला प्रहरी कार्यालय सुनसरीमा दिएको उजुरीका आधारमा पक्राउ गरिएको थियो ।

पछिल्लो एक वर्षमा नगरप्रमुखले दबावमूलक स्टाटस लेखेका थुप्रै उदाहरण छन् । गत साउन ६ गते नगरप्रमुख राई समर्थकसहित ठूलो समूह लिएर धरान–२० स्थित छोटी मोरङमा वृक्षरोपण गर्न पुगे । उक्त जग्गा धरान–१ का निवर्तमान अध्यक्ष तथा पर्यटन व्यवसायी रोशन अधिकारीकी श्रीमती रोजिना अधिकारीको नाममा दर्ता छ । रोशन र रोजिनाले आफ्नो जग्गामा वृक्षरोपण नगर्नू भन्दा नगरप्रमुखका समर्थक धरान–१५ का एमके राई भनिने मनकुमार राईले रोजिनामाथि हातपात गर्दै दुव्र्यवहार गरे ।

सोही विषयलाई लिएर रोजिनाले मनकुमारविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा अभद्र व्यवहारमा साउन ७ गते किटानी जाहेरी दिइन् । तर, जाहेरीपछि नगरप्रमुखको दबावमा प्रहरीले लामो समय पक्राउ गरेन । महिलामाथिको अभद्र व्यवहारलाई नगरप्रमुख राईको दबावमा हालसम्म पनि पक्राउ गरेको छैन । केही समयअघि धरान–१७ को वडा कार्यालयमा बैठक भइरहेको अवस्थामा वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) लाई दुव्र्यवहार गर्ने नगरप्रमुख राईका समर्थकलाई पक्राउ गर्दा नगरप्रमुख राईले छुटाउन दबाव दिएको अध्यक्ष स्वयम्ले बताए ।

धरान–१७ का वडाध्यक्ष भट्टराईले कार्यालयमा तोडफोड गर्दासमेत समर्थकलाई छुटाउन नगरप्रमुखले दबाव दिएको बताएका थिए । यी त प्रतिनिधिमूलक घटना मात्रै हुन् । नगरप्रमुख राईका धेरै समर्थकले कानूनविपरीतका काम गर्दा पनि नगरप्रमुख राईले संरक्षण गर्ने गरेका छन् ।