देशका सीमा क्षेत्रबाट हुने तस्करी रोक्न र सीमा सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरीलाई खटाएको छ । सीमा क्षेत्र विशेषगरी आपराधिक गतिविधि बढी हुने क्षेत्रमा पर्छन् । नेपाल–भारतको खुला सीमाका कारण पनि तस्करी अत्यधिक हुन्छ, सीमा क्षेत्रमा । सशस्त्र प्रहरीको जिम्मेवारी पनि सीमा क्षेत्रमा हुने तस्करीलगायतका अवैध गतिविधि नियन्त्रण गर्नु हो । तर, बेला–बेला यस्ता गतिविधिमा सशस्त्र प्रहरीकै मिलेमतो हुने गरेको आरोप लाग्दै आएको छ । कतिपय आरोप त प्रमाणित पनि भएका छन् । अर्थात् तस्करीमा संलग्नसँग सशस्त्र प्रहरीका जिम्मेवार अधिकारीहरूले नै पैसा लिएर तस्करलाई सहज बनाइदिएका घटना प्रशस्त्र छन् । आम नागरिक तहसम्म सशस्त्र प्रहरीको छवि धमिलिँंदै गएको बेला सशस्त्र प्रहरीको वराह वाहिनी पकलीले शुद्धीकरण अभियान सञ्चालन गरेको छ । सङ्गठनको शुद्धीकरणका लागि यो सकारात्मक कदम हो ।

सशस्त्र प्रहरीको १ नम्बर वराह वाहिनीले ६ महिनायता २ जना डिएसपी, २ जना इन्स्पेक्टर, ४ जना सइ र अन्य दर्ताका सशस्त्र प्रहरीलाई कारबाही गरिसकेको छ । विभिन्न प्रकारका गलत काम गर्ने ४ सय जनालाई करेक्सन तालिम दिइसकेको वाहिनीका प्रमुख डिआईजी अञ्जनीकुमार पोखरेलले बताएका छन् । उनकै नेतृत्वमा चलेको शुद्धीकरण अभियान अन्तर्गत ६ जना निलम्बनमा परिसकेका छन् । त्यसैगरी ७ जनाको बढुवा रोक्का, १६ जनाको ग्रेड रोक्का, ४४ जनालाई नसिहत र ५ जनालाई चेतावनी दिइएको सशस्त्र प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यस्तो अभियानले निरन्तरता पाएमा सशस्त्र प्रहरीमा शुद्धीकरण हुनुका साथै खाद्यान्न, तरकारीलगायतको भन्सार छली, अवैध हतियारको कारोबार, लागूऔषधको तस्करी नियन्त्रणमा सहयोग पुग्नेछ । यस्तो अभियान नेपाल प्रहरीमा पनि सञ्चालन गरिनु आवश्यक छ । किनभने नेपाल प्रहरीमाथि पनि तस्करी, अवैध धन्दामा मिलेमतो गर्ने गरेको आरोप लाग्ने गरेको छ । देशको सेवा गर्ने कसम खाएर राज्यबाट मासिक तलब थाप्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी वा अरू कुनै नागरिकले गलत काम रोक्न भूमिका खेल्नुपर्छ । त्यो उनीहरूको कर्तव्य पनि हो । अहिले त देशमा जसको जे जिम्मेवारी र कर्तव्य हो, त्यही पालना नगर्नाले अस्तव्यस्तता छाएको हो ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरी आपराधिक गतिविधि धेरै हुने ठाउँमा पर्नुको प्रमुख कारण नेपाल–भारतबीचको खुला सीमा हो । खुला सीमाको फाइदा उठाउँदै आपराधिक धन्दा गर्नेहरूले राजस्व छली, लागूऔषधको कारोबार, हतियारको कारोबारजस्ता अवैध गतिविधि गर्ने गरेका छन् । भारतीय बजारबाट आउने लागूऔषधकै कारण कोशी प्रदेशका सयौं युवा लागूऔषधको कुलतमा फसेका छन्, कयौंको ज्यान गइसकेको छ । भारतबाट राजस्व छलेर भित्रिने सामानका कारण देशको अर्थतन्त्रमा असर परिरहेको छ । अवैध हतियारको कारोबारले अपराधका घटना बढिरहेका छन् । यस्ता गतिविधि गम्भीर अपराध हुन् । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूले यस्ता गतिविधिलाई प्रोत्साहन गर्नु अक्षम्य अपराध हो । आर्थिक प्रलोभनमा परेर आफ्नै देश र देशवासीलाई विश्वासघात गर्नु राज्यविरुद्धको अपराधकै रूपमा पनि लिन सकिन्छ । त्यसैले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सचेत गराएर यस्ता गतिविधिमा संलग्न भएको प्रमाण भेटिए कडा कारबाही हुनु आवश्यक छ । त्यसअर्थमा सशस्त्र प्रहरीको वराह वाहिनीले सुरु गरेको शुद्धीकरण तथा कारबाही अभियान सकारात्मक छ । यसलाई प्रभावकारी बनाउनु जरुरी छ ।