केही दिनयताको वर्षाका कारण विभिन्न ठाउँमा बाढी पहिरोले जनजीवन अस्तव्यस्त बनाइरहेको छ । कतिपय ठाउँमा पहिरोले सडक अवरुद्ध भएका छन् भने कतै डुबानको त्रासले नागरिकहरू रातभर सुत्न पाएका छैनन् । त्यसो त पूर्वी पहाडका खोटाङ, भोजपुरलगायतका जिल्लामा पहिरोका कारण ग्रामीण सडक अवरुद्ध भएर लामो समयदेखि यातायातका साधन सहजरूपमा सञ्चालन हुन सकेका छैनन् । पहाडी क्षेत्रका बासिन्दा बाटो बन्द हुँदा स्वास्थ्य उपचारमा समेत जानबाट बञ्चित हुनुपरेको छ । बाढी पहिरोका घटना पहिले पनि नहुने त होइनन् तर, पछिल्ला वर्षहरूमा बर्सेनि घटनाको सङ्ख्या बढेको देखिन्छ । यस्ता प्राकृतिक घटनालाई पूर्णरूपमा रोक्न त सकिँंदैन तर, बेलैमा सचेत बन्ने हो भने क्षति भने कम गर्न सकिन्छ ।

बाढी पहिरोका कारण प्रसिद्ध धार्मिकस्थल वराहक्षेत्र मन्दिर क्षेत्रका बासिन्दा केही दिनयता चतराबजारसम्म पुग्न नसक्ने अवस्थामा छन् । चतरा–वराहक्षेत्र सडक–खण्डमा पहिरोले अवरोध गरेका कारण यातायातका साधन चल्न सकेका छैनन् । बाटो बन्द भएपछि टाढादेखि मन्दिरमा दर्शनका लागि आउने भक्तजनसमेत आवत–जावत गर्न सकेका छैनन् भने आएकाहरू समेत फर्किन पाएका छैनन् । यो बाटोमा हरेक वर्षजसो यस्तो अवरोध हुने गरेको छ । प्राकृतिक रूपमै अप्ठ्यारो भीर र सप्तकोसी नदी नजिकबाट सडक गएकाले पहिरो छलेर जाने–आउने अवस्थासमेत छैन । त्यसैले यो सडकमा सतर्कता अपनाउनुको विकल्प छैन । त्यस्तै वराहक्षेत्र–१ कै भण्डारीटार–चावाचा लिङ्क रोडमा पनि पहिरो गएर आवत–जावतमा समस्या हुँदै आएको छ । चावाचा गाउँमा डेङ्गुका बिरामी धेरै भए पनि पहिरोले बाटो अवरुद्ध हुँदा उपचार गर्न असहज भइरहेको छ । धरान–चतरा सडक–खण्डको बगुवा र बाघखोलामा आउने बाढीका कारण यात्रुलाई समस्या हुँदै आएको छ । गतवर्ष बाघखोलाले टेम्पो बगाउँदा एक युवतीको मृत्यु भएको थियो । हरेक वर्ष बाघखोला र बगुवा खोलाका कारण यो सडक हुँदै यात्रा गर्ने हजारौं यात्रुले सास्ती खेप्नु परेको छ । यो सडकबाट दैनिक रूपमा धरानदेखि चतरा, वराहक्षेत्र र उदयपुरको रामपुर, सुपाडेसम्म यात्रा गर्ने यात्रुहरू धेरै हुन्छन् । हाल मदन भण्डारी राजमार्ग अन्तर्गत धरान–चतरा सडक–खण्डमा पर्ने बगुवा, बाघखोलालगायत ४ वटा पुलको ठेक्का लागे पनि ठेकेदार कम्पनी सूर्य एन्ड सन्सले ढिलासुस्ती गर्दा यात्रुले दुःख पाइरहेका छन् ।

पछिल्ला वर्षहरूमा जताततै बाढी र पहिरो बढ्नुमा जलवायु परिवर्तनलाई प्रमुख कारणका रूपमा मानिन्छ । मानवीय गतिविधिका कारण जलवायुमा आएको परिवर्तनले प्राकृतिकरूपमा असर परिरहेको छ । त्यसको नकारात्मक प्रभाव मानव र जीव जनावार तथा वनस्पतिमा परिरहेको छ । त्यसबाहेक बाढी पहिरो निम्तिनुको अर्को कारण स्थानीय तहहरूले जथाभावी निर्माण गरेका सडकहरू पनि हुन् । वातावरणीय प्रभावको मूल्याङ्कन नै नगरी मनलागी बनाइएका सडकहरूका कारण पहिरोका घटना धेरै हुने गरेका छन् । यसरी पहिरो जाँदा बर्सेनि धनजनको क्षति हुने गरेको छ । त्यसैले बाढी पहिरोबाट जोगिन सर्वप्रथम हामी मानवले प्रकृतिलाई क्षति हुने काम गर्न छाड्नुपर्छ । जथाभावी वन फँडानी गर्ने, सडक निर्माण गर्नेजस्ता काम अनावश्यक रूपमा गर्नु हुँदैन । अर्को कुरा, जलवायु परिवर्तनमा असर पर्ने काम हामीले भन्दा ठूला औद्योगिक राष्ट्रहरूले गरिरहेका छन् । त्यसैले हामीले मात्र रोक्न सक्दैनौं तर, आफ्नो तर्फबाट गर्न सकिने प्रयास सबैले गर्न आवश्यक छ । साथै वर्षायाममा बाढी र पहिरोको जोखिम हुने भएकाले सम्भावित खतराबाट बच्न उच्च सतर्कता अपनाउनु आवश्यक देखिन्छ ।