धरान पूर्वको सुन्दर नगरीका रुपमा चिनिन्छ । पूर्वी पहाडको मुख्य नाकाका रुपमा स्थापित यो सहर लाहुरेहरुको सहर, जनसहभागिताको नमूना सहर, श्रमपर्यटनको सहर, सांस्कृतिक विविधतायुक्त सहर, आवासीय सहरका रुपमा परिचित छ । धरानलाई पर्यटन विकासका दृष्टिले सफल सहरका रुपमा स्थापित गराउन पहल प्रयत्न गर्ने विषय असमञ्जस्य रुपमा देखापरेका छन् । दृष्टिकोणहरु छन्, कार्यान्वयन छैन । परिकल्पना छ, योजनाहरु छन्, ठोस यत्न छैन । धरानको पर्यटन विकास किन हुन सकेको छैन ? प्रश्नहरु पनि छन् त्यसको निराकरण छैन । धरानको पर्यटनलाई कसरी विकास गर्ने त ? यही प्रश्नमा लामो समयदेखि पर्यटनको विकास र प्रवद्र्धनमा धरानसँगै जोडिएका कृष्ण शाहसँग हामीले जिज्ञासा राखेका छौं । उनी नेपाल पर्यटन बोर्डका ‘बोर्ड सदस्य’ का रुपमा छन् । उनीसँगको भिडियो सामग्री र विचार प्रस्तुत गरिएको छ ।

  

***

– कृष्ण शाह, बोर्ड सदस्य, नेपाल पर्यटन बोर्ड 

धरानमा स्थानीय सरकारको गठन प्रक्रिया जब सुरु भयो, त्यसपछि नेपालको पहिलो स्थानीय तह होला जसले आफ्नो क्षमताको हिसाब र तुलनात्मक हिसाबले हेर्दा एक करोड रुपैयाँ बजेट विनियोजन गरी पर्यटन विकासको पहल गर्न तत्कालीन मेयर तारा सुब्बाले सुरु गर्नुभाथ्यो ।

यसबाट धरानको पर्यटनमा आशाको किरण देखिएको थियो । उहाँले पर्यटन समिति पनि निर्माण गर्नु भएको थियो । त्यहाँ स्थानीय व्यवसायी सबैलाई समेटेर समिति निर्माण गरिएको थियो । उहाँ आफैं पर्यटन समितिको  संयोजक भएर समितिको माध्यमबाट सबै संयन्त्रलाई परिचालन गर्न सहज हुन्छ भनेर समिति निर्माण गर्नुभाथ्यो । 

यो ऐतिहासिक एउटा निर्णय थियो । त्यसले धरानलाई पर्यटकीय हबका रुपमा विकास गर्न ‘गेट वे अफ द हिमालय’ बनाउने, सुन्दर सहर निर्माण गर्ने, गार्डेनिङ गर्ने, सौन्दर्यीकरण गर्ने उद्देश्यले सुरुवात गरिएको थियो । त्यो कामहरु उहाँको अुधरै रह्यो भन्नु पर्यो । 

त्यसपछाडि बजेटको आकार घट्दैघट्दै गएर पर्यटनका लागि उल्लेखीय रुपमा विनियोजन हुन सकेन । इक्ज्याक्ट कति छ भन्ने अहिले जानकारी छैन । 

धरानको पर्यटनको पछिल्लो समयमा कुरा गर्दा खस्किंदो छ, सबै कुराहरु । कुन  अर्थले खस्किंदो भने पहिलो, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै त्यहाँबाट प्याराग्लाइडिङ व्यवसाय सिफ्ट हुँदैछ । त्यो व्यवसाय यता आएपछि सम्भावना भएको ठाउँ यहीं नै हो । धरानको पश्चिम भागमा हाइटेन्सन लाइनका कारण समस्या भयो । पूर्वी भागमा स्थानीय सरकारबाट वृक्षरोपणको विषयलाई लिएर विवाद उत्पन्न हुने काम भयो । झट्ट हेर्दा त्यो व्यवसाय पनि अहिले छैन । प्याराग्लाइडिङ चाहिं यहाँको सबैभन्दा राम्रो सम्भावना हो, त्यसमा दुई मत भएन । 

बाटोका कारणले गर्दा हामीलाई समस्या छ । असुरक्षाको कुरा छ, अस्ति भर्खरै एउटा घटना पनि घट्यो । समग्रमा पर्यटनको घटेको वा बढेको भन्ने कुरा होटलमा पर्यटकको बसाइ हेरेर अनुमान गर्न सकिन्छ । होटलमा पर्यटकको आवागमनलाई हेर्ने हो भने चाहिं अहिले धरानको पर्यटन खस्किंदै छ । 

तर यसदेखि पर्यटनमा अतिरिक्त नयाँ विषयको कुरा उठान भएको छ । त्यो कुरा हामीले पहिला पनि उठाएका थियौं । त्यो हो ‘सिभिक सेन्स’ अर्थात् नागरिक सचेतना । यो धरानको पुरानो परम्परा हो । सडक र पूर्वाधारमा नागरिकको ६०–४० को लगानी । यो विषय विश्वभरमा बेच्न सकिने विषय हो । अर्को ल्याण्ड अफ ब्रेभ गोर्खाज । यो बहादुरहरुको सहरका रुपमा परिचित बनाउन सकिने  र विश्वभरका मानिसलाई आकर्षण गर्न सकिने ठाउँ हो । 

पछिल्लो समयमा धरानमा मानिसहरुको आवागमन चाहिं छ । तर रात बिताउन आउने गरी चाहिं देखिएन । पर्यटन भनेको चाहिं मानिसले कम्तिमा एकरात बिताउने गरी आउनुपर्छ । धरानको एउटा चिन्ताको विषय के हो भने यो यति धेरै सुन्दर हुँदाहुँदै पनि यहाँ पर्यटनको आवागमन भइरहेको छैन । तुलनात्मक हिसाबले यहाँको पर्यटन खस्किंदो छ ।

Krishna Shah_Member_Nepal_Tourism_Board Dharan

निजी क्षेत्रको लगानी

यहाँ निजी क्षेत्रको लगानी होटल र पार्कमा छ । त्यो लगानी घाटामा देखिन्छ । भेडेटारदेखिकै पार्कहरु घाटामा देखिन्छन् । विश्वभर नै मन्दीका कारणले पनि यसमा असर देखिन्छ । तर पोखरा चलिरहेको छ, चितवन चलिरहेको छ । भैरहवा चलिरहेको छ । तर यहाँ किन नचल्ने ? 

त्यस हिसाबले हेर्दा बजारमा साथीहरुको लगानी घाटामा छ । थप तुरुन्तै अर्को लगानी गरिहाल्ने अवस्था छैन । उत्साहजनक अवस्था छैन । तर यसो भनिरहँदा हाम्रो बजारै नभएको भने होइन । धरानको बजार एकदमै राम्रो छ । हामीले अलिक फराकिलो ढंगले हेर्नुपर्ने छ । बीचका आन्तरिक व्यवस्थापन र सामाजिक व्यवस्थापन पनि प्रमुख हो । 

सानातिना गतिविधिले पनि बजारमा फरक प्रभाव पार्छ । सुरक्षाका कुराहरु प्रमुख हुन् । यसले पनि फरक पारिरहेको हुन्छ । 

अहिलेको लगानी, लगानी नै छैन भन्नुपर्छ । भएका नगन्य लगानी छन् । ठूला लगानी छैनन् । केही पार्कमा गरिएको लगानी पनि उठिरहेको छैन । उहाँहरु घाटैमा हुनुहुन्छ । होटलमा पनि लगानी छैन । त्यो चाहिं सिटी होटलका रुपमा रहेको देखिन्छ । पर्यटकहरुकै लागि भनेर त्यति ठूलो होटल छैन । एउटा– दुईवटा होटल छन् ती पनि चलेका छैनन् । बिपी प्रतिष्ठानमा एउटा राम्रो अवस्थामा रहेको होटल पनि बन्दको अवस्थामा छ । बजारमा भएको एउटा ‘गजुर होटल’ देखिन्छ । त्यो पनि खासै चलेको देखिंदैन । लगानी कम छन् । तर पनि हामी हार्नुपर्ने अवस्था छैन । हामीसँग ठूलो बजार चाहिं छ । तर पछिल्लो समय बजार खस्किंदो छ । यसका कारण भारतीय रुपैयाँ पनि हो । हाम्रो कन्टेक्स्टमा भारतीय रुपैयाँको अवमूल्यन भएको छ । 

भारतीय नोट अहिले १ सय ५० रुपैयाँमा पनि किनिरहेको अवस्था छैन । सटही गरेको छैन । होटलमा भारतीय पैसा नलिने, पेट्रोलपम्पले नलिने, पैसा बोकेरमात्र आएर भएन त्यो साटिने अवस्था छैन । म दुई दिन अगाडि भेडेटार गएको थिएँ, मान्छे आउनै छाडे भन्दै थिए । मान्छे आउनै छाडे । पैसा छैन । पैसा बोकेर आएर खर्च गर्न सक्दैन । हामीले पैसा लियौं, सटही गर्न सक्दैनौं । समस्या छ । 

२५ हजार भन्दा बढी बोकेर भारतीय पर्यटक आउन पाउँदैन । पैसाको स्रोत र प्रयोजन खुलाउनुपर्ने हुन्छ । त्यसलाई लिगल्ली रुपमा डिक्यियर्ड गरेर ल्याउनुपर्ने हुन्छ । २५ हजारभन्दा बढी ल्याउनेबाट बरामद गरेर राखेको पनि कयौं घटना छन् । यो समस्या हो । हामीकहाँ २५ हजारभन्दा बढी पैसा बोकेर आएको मान्छे पक्राउ पर्यो भन्ने चाहिं आएको छैन अहिलेसम्म  तर विरगञ्जमा चाहिं धेरै घटना छन् । व्यवसायी साथीहरुले पनि यो कुरा उठाउनु भएको थ्यो । धरानलाई फोकस्ड नगरे पनि अहिले पूर्वमा तीनवटा फाइभस्टार होटल सञ्चालनमा आएका छन् । टुरिस्टलाई इन्टर्टेन गर्ने खाल्का होटल छैनन् । 

पर्यटनसम्बन्धी कानुन

पर्यटनसम्बन्धि काम गर्ने स्थानीय सरकारले नै हो । पर्यटनसम्बन्धि रणनीतिक कार्यक्रमहरु स्थानीय सरकारले बनाउनुपर्छ । पर्यटनमैत्री व्यवहारका लागि, पर्यटनमैत्री सेवाका लागि, पर्यटनमैत्री सुरक्षाका लागि यी सबै कुराको समन्वय गर्ने काम स्थानीय सरकारले गर्नुपर्छ । पर्यटन समितिको अवस्था के छ ? पछिल्लो समय त्यो  निर्माण भएको मैले सुनेको छैन । बनाएर काम गरे राम्रो हुन्छ । 

पछिल्लो समय एउटा राम्रो काम भएको छ । कतिपयमा मतान्तर होला । यहाँका मेयरसाबको श्रमसंस्कृतिको अभियानले कति मान्छे जोडिएर आउने–जाने भएको  छ । तर रातै बिताउने गरी आएको जानकारी छैन । रातै बिताउने गरी मान्छे आए भने त्यसलाई टुरिजमसँग जोड्न सकिन्छ । मान्छे आउँछन्–जान्छन् त्यसलाई पर्यटन भन्न सकिंदैन । त्यो त भिजिटर मात्रै हुन्छ । आए–गए । रात बिताएको हो भने होटलमा मान्छे देखिनुपर्यो । 

पर्यटनका हिसाबले स्तरीय मान्छे आउनुपर्यो । आउने मान्छे विद्यार्थीहरु जस्ता देखिन्छन् । यहाँका धर्मशालाहरु बढी प्रयोग भएका देखिन्छन् । खर्चालु टुरिस्ट कति आए त, भन्ने कुरा हो । यो चाहिं सोचनीय विषय छ । 

पर्यटनसँग सम्बन्धित कानुन स्थानीय सरकारले बनाउनुपर्छ । स्थानीय सरकारले पर्यटकसँग शुल्कसमेत उठाउन पाउँछ । संविधानको अनुसूचीले पर्यटकसँग शुल्कसमेत उठाउन पाउने अधिकार दिएको छ भने स्थानीय सरकारले पर्यटनसँग सम्बन्धित गतिविधि र कानुन निर्माण नगर्ने भन्ने कुरै हुँदैन । 

धरानले ऐन, कार्यविधि बनाएको मलाई अहिलेसम्म थाहा छैन । मैले नदेखेको नभेटेको हुनसक्छ ।

पर्यटनसँगसम्बन्धित भएर मेयरसाबसँग मेरो संवाद भएको छैन । एउटा विषयसँगव सम्बन्धित भएर संवाद भएको थियो– त्यो काम पनि हामीले तत्काल गर्न सकिएन । अहिले उहाँको मिसन पानी खुवाउनेसँग केन्द्रित भएकाले पनि यी चिजहरु सामान्यरुपमा प्राथमिकतामा नपरेको होला । खानेपानीको परिपूर्ति भएपछि यी काम उहाँले गर्नु नै होला । अर्को विकल्प छैन । 

धरानसँग पर्यटनको विकासबाहेक अर्को विकल्प छैन । अन्य उत्पादन के छ त ? धरानको आफ्नो उत्पादन केही पनि छैन । एउटा भएको औद्योगिक क्षेत्र जहाँबाट ठूलो उत्पादन नै छैन । पाइप, झोला, भाँडाकुँडाबाहेकका उत्पादन औद्योगिक क्षेत्रमा छैन । उद्योग घटिरहेको छ, कृषिउपज हुने जग्गा एकदम कम छ । हामीले सामग्री बिक्री गर्ने, एजुकेशनको हब, स्वास्थ्य केन्द्र पनि छ । तर हामीले स्वास्थ्यको केन्द्रको रुपमा साख जोगाउन सकेनौं भने यो पनि घट्दो अवस्थामा छ । समग्र पर्यटन गतिविधिमा आधारित हुनुपर्छ, एउटा क्यालेण्डर बनाएर ।

मासिक क्यालेण्डर हुनुपर्छ । यो महिनामा हामी केके गर्छौं भन्ने योजना हुनुपर्छ । एउटा पर्यटकलाई आकर्षित गर्ने गतिविधि के छ गतिविधि तयार गर्नुपर्छ । यसको संयोजन गर्ने काम स्वभाविक रुपमा स्थानीय सरकार र व्यवसायीहरुको संगठन उद्योग वाणिज्य संघलगायत पर्यटन व्यवसायसँगसम्बद्ध संघसंस्थाले गर्नुपर्छ । 

Krishna Shah_Member_Nepal_Tourism_Board 1

संघीय पर्यटन ऐन

पर्यटनलाई प्रवद्र्धन गर्नका लागि पर्यटन बोर्ड एउटा ऐनद्वारा नै निर्दिष्ट भएर प्रवद्र्धनात्मक गतिविधि गरिरहेको छ । मन्त्रीज्यूले जहाँसम्म ऐन, कानुन, कार्यविधि, नियम, विनियम बनाउने कुरा छ, यसमा जुन कुराले पर्यटन विकासमा बाधा परेको छ, प्रवद्र्धनमा काम गर्न कठिनाइ छ, त्यो सन्दर्भमा बनाउने हो । कानुनले जटिलता सिर्जना नगरोस् भनेर बनाउने हो । 

अहिले पनि माननीय मन्त्रीज्यूको बारम्बार मसँग छलफल भइरहेको छ । हामीले पूर्वको मात्र होइन, देशकै समग्र पर्यटनको दुईवटा कुरामा विशेष जोड छ । उहाँकै कुरालाई उद्धृत गर्दै मैले भन्दैछु । प्रकृति र संस्कृति । हामीले नयाँ कुराको सिर्जना गरेर लाने भन्दा पनि हाम्रा प्राकृतिक छटाहरुलाई उजागर गरौं, सांस्कृतिक रुपमा आधारित भएर प्रवद्र्धनात्मक गतिविधिहरु गरौं । संस्कृति भन्ने बित्तिकै हाम्रा रहनसहन, भेषभूषा, खानाका कुराहरु । म नेपाल पर्यटन बोर्डको बोर्ड सदस्यका हिसाबले पनि यो वर्षको बजेट पनि त्यही कुरामा केन्द्रित गरिरहेका छौं भन्ने जानकारी गराउँछु । 

यो वर्ष सरकारको पनि एउटा कार्यक्रम छ– देश चिनौं, देश घुमौं । यसको उद्देश्य पनि प्रकृति र संस्कृतिसँगै आधारित छ । मेचीका मान्छे महाकाली जाने, उताका मान्छे यता आउने यस्तै कुराहरुसँग सन्दर्भित भएर हिंड्नै पर्ने, घुम्नै पर्ने फराकिलो संरचना, कानुन निर्माण गर्न सकियो भने उत्साह पनि थपिंदै जानेछ । 

सरकारले ‘पर्यटन बिदा’ को कुरा पनि ल्याएको छ । १० दिनको पर्यटन बिदालाई प्रभावकारी रुपमा कार्यान्वयनमा लाने । माननीय मन्त्रीज्यूको अहिले विशेष जोड चाहिं त्यस्ता गतिविधि गरौं जसले हाम्रो पर्यटनमार्फत् सांस्कृतिक धरोहरहरुको  पनि जगेर्ना गर्न सक्छौं । हाम्रो प्रकृति जसलाई हामीले देखाउन सकेनौं, सुनाउन सकेनौं, त्यसलाई पनि देखाऔं, सुनाऔं भन्ने हो । त्यसैअन्तर्गत ‘देश चिनौं, देश घुमौं’ भन्ने कार्यक्रम सुरु भएको छ । 

मन्त्रीज्यूले रैथाने कुरालाई जोड दिनुभएको छ । रैथाने खाना, रैथाने भेषभूषा, रैथाने रहनसहनलाई उजागर गर्ने जुन चाहिं हाम्रै अनुपम छन् अरुसँग मेल खाँदैनन् भन्ने कुरामा पनि उहाँको विशेष जोड छ । पर्यटन बोर्ड पनि यो वर्ष मिसनमा केन्द्रित भएर आउने भन्दै छौं । 

धरान त पहिलेदेखि नै पर्यटनको हब हो । हामीले कति यसलाई विकास गर्न सक्यौं, सकेनौं त्यसमा फरक पर्छ । पहिला कञ्चनजंघा यही बाटो भएर जाने गरिन्थ्यो । अहिले हवाइ बाटो भएर जाने गर्छन् । कति इलाम भएर जान्छन् । धरानबाट मकालु क्षेत्र जाने, हिमाली क्षेत्र जाने हुन्थ्यो ।

Krishna Shaha NTB

धरानलाई हामीले सोचेजस्तो विकास गर्न नसक्नुका धेरै कारण छन् । सबैको ध्यान प्याराग्लाइडिङ, क्यानोनिङ, र्याफ्टिङतिर छ । कालीगण्डकीमा मात्रै र्याफ्टिङ हुनेगथ्र्यो । भोटेकोशीमा हुनेगथ्र्यो । हामीले तमोर र्याफ्टिङलाई विशेष जोड दिनुपर्छ । यसले ताप्लेजुङदेखि चतराधामसम्मलाई प्रवद्र्धन गर्छ । चतरादेखि भोजपुर हुँदै  मोटर बोट चलेको छ । यसलाई सुनकोशीसम्म चलाउने कुरा अघि बढेको छ । यसमा मन्त्रीज्यूको विशेष परिकल्पना छ । जलयातायातलाई नयाँ आकर्षणको केन्द्रविन्दु बनाउने कुरा छ । 

हाम्रा सांस्कृतिक रहनसहनलाई प्रवद्र्धन गर्ने, हाम्रा नाचगान, गीतसंगीत हामीभन्दा पछिका पुस्ताले हेर्न नपाउने अवस्था छ यसलाई प्रवद्र्धन गर्न कार्यक्रम तर्जुमा गरिएको छ । हाम्रा धार्मिक कुरालाई प्रवद्र्धन गर्ने, पूर्वाधार निर्माण गर्ने, सांस्कृतिक मान्यतालाई अभिलेखीकरण गर्ने योजना छन् । वास्तुकला, मूर्तिकलामा हामी अग्रणी स्थानमा रहेका थियौं, त्यसलाई हामीले निरन्तरता दिन सकेनौं । अहिले कला, वास्तुकला हेर्न चाइनातिर मान्छे गइरहेका छन् । वास्तुकलामा हामी धेरैमाथि थियौं ।

यी सबै चिजलाई समष्टिगत रुपमा हामी अगाडि बढाउन खोजिरहेका छौं । अन्तर्राष्ट्रिस्तरको र्याफ्टिङ प्रतियोगिता, अन्तर्राष्ट्रियस्तरको प्याराग्लाइडिङ प्रतियोगिता गर्ने, अन्तर्राष्ट्रियस्तरको खेलकुद गराउने, अन्तर्राष्ट्रियस्तरको पुरातन बाजागाजाको प्रदर्शनी गराउने त्यसको प्रतियोगिता गराउने, खाना महोत्सव गर्ने रैथाने खानालाई उजागर गर्ने, सिकाउने पनि, सांस्कृतिक हस्तान्तरणमा विद्यार्थीहरुको सहभागिता गराउने, धेरै कार्यक्रम यो वर्ष निर्धारित छन् । 

धरानलाई नै फोकस गर्दा मेडिकल टुरिजम छँदैछ । यसलाई आकर्षित गर्ने कुरामा जानुपर्छ । अहिले बिर्तामोडले त्यो काम गर्दैछ । बिर्तामोड नगरपालिका, नेपाल पर्यटन बोर्ड, व्यवसायीहरु मिलेर एउटा ठूलो मेला लगाउनु भयो । स्वास्थ्य संस्था, संगठनहरुको सहभागितामा उहाँहरुको सेवा एक्सप्लोर गर्ने, बिक्री गर्ने मेला आयोजना भयो । हेल्थ टुरिजमको क्षेत्रमा नेपालको पहिलो मेला हो । उहाँहरुले प्रवद्र्धनात्मक गतिविधिका लागि भाषा सिकाउँदै हुनुहुन्छ । बंगाली र आसामिज भाषा सिकाएपछि त्यो व्यक्ति एजेण्टका रुपमा, फेसिलेटरका रुपमा रहोस् भन्ने हिसाबले काम हुन थालेको छ । 

यो ठाउँमा पहिला पनि काम भएका छन् । हेलीसर्भिस दिने काम पछिल्लो समय बन्द भयो । त्यसलाई उठाउन सक्छौं होला । प्रयासहरु भएका छन् । यति होल्डिङ्सले एयरपोर्ट बनाउने भनेर जग्गा खरिद गरेको थ्यो । स्थानीयले पनि कन्ट्रिब्युट गरेका थिए । त्यो योजना त्यत्तिकै भयो । कुनैबेला यो कुराको परिकल्पना भयो तर त्यसलाई निरन्तरता दिने विषयमा हाम्रो राजनीतिक पहुँच कम भयो कि त्यो बेलामा भन्ने लाग्छ । यसलाई हबकै रुपमा विकास गरिनुपर्छ । धार्मिक रुपमा कुरा गर्ने हो भने प्राचीन हरिद्वार चतराधाम हाम्रै नजिक छ । बुढासुब्बा, दन्तकालीलगायत देवीदेउताका धाम यहीँ छन् । हाम्रो गतिविधि नै भएन । पर्यटन विकास हुनु एउटा कुरा हो । प्राचीन चिज हामीसँग छ । त्यसलाई चलायमान बनाइरहने, एक्सप्लोर गरिरहने गतिविधि चाहिं हामीसँग छैन । गतिविधि नै गर्नुपर्छ । स्थानीय सरकारले क्यालेण्डर बनाएर सबैलाई सहकार्य गराएर अगाडि बढाउनुपर्छ । स्थानीय सरकारलाई सबै पक्षले सहयोग गर्नुपर्छ । श्रमपर्यटनको नयाँ कुरा ल्याउनु भएको छ । सिभिक सेन्समा काम गर्नु भएको छ । वृक्षरोपण र सौन्दर्यीकरण गर्ने काम गर्नुभाछ । त्यसलाई संस्थागत गर्ने काम स्थानीय सरकारले गर्नुपर्छ ।