विराटनगर । एभरेष्ट बैङ्क उदयपुरका अपरेशन मेनेजर विराटनगर–८ का ३४ वर्षीय निरज प्रधान पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

उच्च अदालत विराटनगरका संयुक्त वाणिज्य इजलासका न्यायाधीश कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले प्रधानलाई पुर्पक्षको लागि थुनामा राख्न सोमबार आदेश दिएको हो । एभरेष्ट बैङ्क इटहरी शाखाबाट १ करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ बैङ्कका कर्मचारीको मिलेमतोमा घोटाला गरेको घटनामा बैङ्कका ७ जना कर्मचारी र २ जना सहयोगी पक्राउ परेका थिए । उच्च अदालतमा अभियोग दर्ता भएपछि सोमबार आएको थुनछेक आदेशले पैसा झिक्ने दुई जना कर्मचारीलाई जनही ७ लाख र पक्राउ परेका ६ जना कर्मचारीलाई साधारण तारेखमा छाड्न उच्च अदालत विराटनगरले आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।

साधारण तारेखमा रिहा हुनेहरूमा बैङ्कको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रबिसे–८ का ४२ वर्षीय विश्वराज शाक्य, बैङ्कको इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैङ्कका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रञ्जित पण्डित, बैङ्कको इटहरी शाखाकी टेलर ३० वर्षीया पवित्रा कटुवाल रहेका छन् । यस्तै धनुषाको मिथिला नगरपालिका–११ का ३४ वर्षीय शङ्कर भुजेल, भक्तपुर सूर्यविनायक नगरपालिका–२ का २७ वर्षीय अजय खिउजूलाई अदालतले जनही ७ लाख रुपैयाँ धरौटी राख्न आदेश दिएको छ । सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले मुख्य योजनाकार प्रधानसहित उच्च अदालतमा शुक्रबार १३ जनाविरुद्ध बैङ्किङ कसूरमा मुद्दा दायर गरेको थियो । पक्राउ परेका ९ र फरार ४ जना गरी १३ जनाविरुद्ध अभियोग दर्ता गरेको थियो । चार जनाको हकमा अदालतमा उपस्थित भएको बखत अदालतले आदेश गर्नेछ ।

अभियोग पत्रअनुसार ३३ जना बचतकर्ताहरूले जम्मा गरेको रकम अपचलन भएको खुलेको छ । अनुसन्धानका क्रममा प्रहरीले यसअघि २०७९ चैत १२ गते एभरेष्ट बैङ्क गाईघाट शाखाका अपरेशन इञ्चार्ज प्रधानलाई पक्राउ गरेको थियो । प्रधानमाथि केरकार गर्दा बैङ्कभित्रको सङ्गठित जालो पत्ता लागेको  थियो । पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट ५९ पटक कनेक्ट आईपीएस र नक्कली चेकबुक प्रयोग गरेर १ करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ चोरी भएको अनुसन्धानबाट खुलेको छ । इटहरी शाखामा कार्यरत प्रधान गत मार्च १२ तारिख गाईघाट सरुवा भएका थिए । उनको योजनामा गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ निकालिएको छ । त्यस्तै नक्कली चेकमार्फत् ३५ लाख ४८ हजार १ सय ५० रुपैयाँ निकालिएको प्रहरीले बताएको छ ।

कर्मचारीले ३३ जना ग्राहकको खाताबाट अधिकतम् ७ लाखसम्म निकालेको देखिएको प्रहरीले बताएको छ । आफ्नो खाताबाट रकम हराएपछि ग्राहकले बैङ्कमा जानकारी गराएका थिए । त्यसपछि बैङ्कमा हल्लीखल्ली मच्चिएको थियो । बैङ्कले प्रहरीलाई अनुसन्धानका लागि निवेदन दिएको थियो ।